काठमाडौं—नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा आबद्ध भएको छ । शुक्रबार काठमाडौंमा नेशनल प्याथ ल्याब र सुदूरपश्चिम रोयल्सबीच मेडिकल पार्टनर रहने सम्झौता भएको नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिए ।
सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका कार्यकारी अधिकृत (सिईओ) प्रकाश खड्का र नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक जोशीले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दैं सुदूरपश्चिम रोयल्सका सिईओ खड्काले नेपालकै प्रतिष्ठित ल्याबसँग साझेदारी गर्न पाउँदा खुसी भएको बताए । ‘नेशनल प्याथ ल्याबसँग सम्झौता गर्न पाउँदा खुसी छौं,’ उनले भने, ‘यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देश जानेछ ।’
नेशनल प्याथ ल्याब प्रबन्ध निर्देशक जोशीले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद् पक्ष भएको बताए । ‘नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले स्वास्थ्यको क्षेत्रमा राम्रो सफलता मिल्नेछ,’ जोशीले भने । उनले ल्याबको तर्फबाट सुदूरपश्चिम रोयल्सलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिए ।