२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजलवायु परिवर्तनको असर निन्द्रामा, पुरुषभन्दा महिला बढी प्रभावित

जलवायु परिवर्तनको असर निन्द्रामा, पुरुषभन्दा महिला बढी प्रभावित


जलवायु परिवर्तनको असर मानिसको निन्द्रामा पनि देखिएको छ । डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनले हालै गरेको अनुसन्धानका अनुसार बढ्दो तापक्रमसँगै हाम्रो निन्द्राको अवधि घट्दै गइरहेको छ ।  गर्मीको मौसममा तापक्रम बढेपछि यस्तो भएको हो । अनुसन्धान अनुसार औसत व्यक्तिले हरेक वर्ष ४४ घण्टाको निन्द्रा गुमाउने गरेको छ ।

यो अनुसन्धान ६८ देशका ४७ हजार मानिसमा गरिएको हो । वैज्ञानिकहरूले रिष्ट ब्यान्डको सहायताले यी मानिसहरूको ७० लाख रातको निन्द्रा ट्र्याक गरेका छन्। वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापक्रम बढ्दै गएको छ। जसकारण हामीले हाम्रो निन्द्राका केही अनमोल क्षणहरु पनि गुमाउनेछौँ ।

निन्द्रा कम हुने समस्या पुरुषको तुलनामा महिलामा एक चौथाइ बढी हुने गरेको छ । साथै, ६५ वर्षमाथिका मानिसहरूमा दोब्बर र कम आय भएका देशहरूका मानिसहरूमा तीन गुणा बढी। यसअघिका अध्ययनहरूमा, वैज्ञानिकहरूले मानसिक स्वास्थ्य, हृदयघात, आत्महत्या र दुर्घटनाहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका थिए।

वैज्ञानिक केल्टन माइनर भन्छन्, ‘गर्मी मौसमको रातहरूले ठूलो जनसंख्याको निन्द्रामा बाधा पुर्‍याउँछ। उदाहरणका लागि, तापक्रम २५ डिग्री सेल्सियसभन्दा बढी हुँदा थप ४६,००० मानिसहरू निन्द्राको कमीबाट ग्रस्त हुन्छन्। भर्खरै भारत र पाकिस्तानमा खतरनाक गर्मी लहरले करोडौं मानिसको निन्द्रा अवधि घटाएको छ।

पुरुषको तुलनामा महिलाको शरीर राती सुत्नुभन्दा चाँडो चिसो हुन्छ । त्यसैले राति गर्मी बढेपछि महिला बढी प्रभावित हुने गरेको छ । यसबाहेक महिलाको छाला मुनि औसतमा बढी बोसो हुन्छ, जसका कारण उनीहरुको चिसो प्रक्रिया सुस्त हुन्छ ।

वृद्धवृद्धाहरु त्यसै पनि  राति कम सुत्ने गर्दछन् ।  र, गरिब देशहरुमा चिसोको राम्रो सुविधा नहुँदा त्यहाँका मानिसहरु गर्मीसँग लडिरहेका छन् ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ