२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलेक लाग्नुका कारण, रोकथाम र उपचार

लेक लाग्नुका कारण, रोकथाम र उपचार


विगत १२ र १३ वर्ष दुर्गम हिमाली जिल्लामा काम गरेको अनुभव र यसअघि विभिन्न हिमाल तथा यार्सा टिप्ने ठाउँमा परेका बिरामीको उपचार तथा उद्दारमा खटिएको अनुभव मसँग छ । विभिन्न चिकित्सकहरुको समन्वयमा काम गर्ने गरिरहेको छु ।

प्रत्येक वर्ष आधा दर्जनको मृत्यु र घाइते मुगु जिल्लाको टाँके, कोइकी, रिमार, च्यार्कु, छापाखोला लेकमा मात्रै हुने गरेको छ । अन्य जिल्लामा पनि धेरैको मृत्यु र दुर्घटना भएका समाचार आइरहन्छन् । यद्यपी, यसको तथ्यांक भने व्यवस्थित रुपमा राखिएको देखिदैन् । हिमाली जिल्ला मुगु, डोल्पा, मनाङलगायतका जिल्लाका लागि यार्सा एउटा प्रमुख आम्दानीको स्रोत पनि हो ।

हिमाली क्षेत्रमा पुग्दा तल्लो भागबाट जानेहरुमध्ये धेरैलाई नै लेक लाग्ने समस्या हुने गर्छ । हिमाली जिल्ला पुगेका पर्यटक तथा यार्सा संकलन गर्न जानेहरुको प्रतिकूल मौसमका कारण उद्धार गर्न कठिन हुने गर्दछ । मौसमी प्रतिकूलताबाहेक हिमाली क्षेत्रमा पुग्दा हावापानीका कारण लेक लाग्ने समस्या पनि धेरै नै देखिने गरेको हुन्छ ।

लेक लाग्नु भनेको शरीरमा अक्सिजनको मात्रा कमी हुनु हो । लेकमा पुग्नेमध्ये धेरैलाई लेक लाग्ने समस्या देखिने गरेको छ । स्वस्थ मानिसलाई लेक लाग्ने सम्भावना कम हुन्छ । जोमसोम २७ सय मिटर र मुक्तिनाथ ३७ सय मिटर मुगुको छायानाथ तीर्थस्थल ४ हजार ८२० र मुगु जिल्लाको मुगु र दोल्फु वाङग्रीमा रहेका क्षेत्र तीन हजारदेखि पाँच हजारका बीचमा विभिन्न वन क्षेत्र र डोल्पा लगायतका अन्य वन क्षेत्रमा जाने पर्यटक र यार्सा संकलकमध्ये धेरैलाई लेक लाग्ने गरेको छ ।

अझ हिमाली क्षेत्रको पदयात्राको क्रममा आउने समस्याको बारेमा जानकारी नलिइकन वा बिना तयारी जाँदा धेरै नेपाली युवाहरुको मृत्युसम्म भएको तथ्यांक पाइन्छ । हिमाली भेगको पदयात्रा गर्दा कतिपयलाई लेक लाग्नु भनेको के हो भन्ने सम्म थााहा हुँदैंन् । जसका कारण अझ धेरै समस्या आएको देखिन्छ ।

कारणहरु

नेपाली समाजमा लेक लाग्यो, मान्छेलाई गाह्रो भयो वा लेक लागेकै कारण मृत्यु भएको कुराहरु सुनिन्छ । लेक लाग्नुलाई अंग्रेजीमा ‘अल्टीच्युड सिकनेस’ भनिन्छ । यसलाई ‘एक्युट माउन्टेन सिकनेस’ पनि भनिन्छ । लेक लाग्नुको कारण अक्सिजनको मात्रा नपुगेरै हो । हामी जति जति उचाइमा गयौं, त्यति बोट विरुवा कम पाइन्छन् । बोट विरुवा जति कम हुँदै जान्छन्, त्यति अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले उचाइँमा जाँदा शरीरलाई अक्सिजनको मात्रा पुग्दैन् ।

श्वासप्रश्वास बढ्ने, टाउको दुख्ने, निन्द्रा लाग्ने, शरीर कमजोर हुने, होस गुमेजस्तो हुने, हिड्दा रक्सी खाएर मातेको मान्छेको जस्तो चाल हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निन्द्रामै श्वासप्रश्वासमा समस्या भएर ब्युझिनु पनि लेक लाग्नुको लक्षण हो । लेक लागेपछि ज्यानै जाने खतरा बढ्छ । शरीरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरीरको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्युसम्म हुने गर्छ ।

जुनसुकै उद्देश्यका लागि हिमाली क्षेत्रको यात्रा गर्दा आइपर्ने एउटा प्रमुख स्वास्थ्य समस्या लेक लाग्नु हो । समुन्द्री सतहबाट उचाइ बढ्दै गएपछि वायुमण्डलमा हावाको चाप र अक्सिजनको मात्रा कम हुँदै जान्छ र शरीरलाई त्यो वातावरणमा भिज्न समय लाग्छ । अग्लो ठाउँको वातावरणमा बानी पार्ने सिलसिलामा शरीरले छिटो–छिटो श्वास लिएर अक्सिजनको मात्रा बढाउने कोशिस गर्दछ । तैपनि, पुगेन भने लेक लाग्ने समस्या हुन्छ ।

हिमाली भेगका वासिन्दाहरू अक्सिजनको कमीसँग प्रायः अभ्यस्त हुने हुनाले उनीहरूलाई यो लेक लाग्ने सम्भावना कमै हुन्छ । तर, होचो ठाउँबाट २५ सय मिटरभन्दा माथिको उचाइमा पुग्ने पर्यटक, पदयात्री, तीर्थयात्री, पथप्रदर्शक, भरिया र हवाईजहाज वा गाडी चढेर एकैचोटी अग्लो ठाउँमा पुग्ने मानिसलाई लेक लाग्ने हुनसक्छ । त्यसमाथि लुगा, जुत्ता, बस्ने ठाउँ र खानपान राम्रो भएन भने पनि छिट्नै लेक लाग्ने हुन्छ ।

लक्षणहरु

लेक लाग्ने समस्याका लक्षणहरू उकालो चढेको ८ देखि ४८ घण्टाभित्र देखिन्छन् । टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु सुरुका लक्षण हुन् । हल्का टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, डाइरिया हुने लेक लागेका अन्य लक्षण हुन् ।

लेक लागेपछि हिँड्न गाह्रो हुन्छ । राति निद्रा लाग्दैन । सुतेपछि पनि घरीघरी श्वास रोकिएजस्तो हुन्छ । जोडसँग टाउको दुख्छ, खान मन लाग्दैन, जिउ गल्छ, कमजोरी हुन्छ, वाकवाक लागिरहन्छ र बान्ता आउन सक्छ । बेलैमा सतर्क भएर लेक लाग्ने समस्याबाट बच्ने उपाय र औषधोपचार गरेमा एक–दुई दिनमै ठीक हुन्छ । तर, त्यस्तो केही नगरी उचाइमै बसिरहेमा वा अझ माथि चढ्ने प्रयास गरेमा गिदी वा फोक्सो सुन्निएर ज्यान जान सक्छ ।

यसरी गिदी सुनिन थालेपछि बिरामीलाई जोडले टाउको दुख्छ । बान्ता आउँछ । रक्सी लागेझै ढलपल हुन्छ । केही नगरी पल्टिरहन मन लाग्छ । केही समयपछि बिरामी बेहोस भएर मर्न सक्छ । फोक्सो सुनिएमा खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, मन्द ज्वरो र खकारमा रगत–फिँज आउने लक्षणहरू देखिन्छन् । छातीको सङ्क्रमण भएका व्यक्तिको फोक्सो सुनिने सम्भावना झन बढी हुन्छ । लेक लागेपछि शरीरमा अक्सिजनको मात्रा अझ् घट्छ । छिट्टै गिदी सुनिई बिरामीको मृत्यु हुन सक्छ । समूहमा आउने कतिपय यात्रुहरू अगाडि जान नपाइएला भनेर लेक लागेका प्रारम्भिक लक्षणहरू लुकाउने गर्दछन् ।

धेरैजसो युवा यात्रीहरू लेक लाग्ने समस्या कमजोर र बुढाबुढीलाई मात्र हुन्छ भन्ने ठान्दछन्, जुन सत्य होइन । अग्लो ठाउँमा बानी पार्ने प्रक्रिया व्यक्तिपिच्छे फरक हुन सक्छ । वृद्धावस्थामा गिदीको अंश घट्ने तथा टाउको भित्र गिदी सुनिएर फुल्ने ठाउँ बढी हुने हुनाले उमेर ढल्केका व्यक्तिलाई यो समस्या कमै हुन सक्ने वैज्ञानिकहरुको धारणा छ ।

रोकथाम र उपचार

लेक लागेको थाहा भएपछि तुरुन्त तल झ्र्नु सबैभन्दा राम्रो र सजिलो उपचार हो । सुरुको अवस्थामा माथि नचढी आराम गरेर त्यहीँ बसेपनि लक्षणहरू हराउन सक्छन् । तर, त्यसो गर्दा पनि ठीक नभएमा होचो ठाउँमा ओर्लनै पर्दछ ।

लेक लागेको बेला पानी, झोल कुरा, लसुन र पिरो धेरै भएको खानेकुरा उपयोगी मानिन्छन् । अलि सिकिस्त बिरामीलाई ‘प्रेसर ब्याग’ भित्र राख्नु पर्दछ । अक्सिजन दिनुपर्छ । बिरामी अझ्mै सिकिस्त भएमा र गिदी तथा फोक्सो सुनिन सुरु भएको अवस्थामा ‘डायमोक्स’ (एसेटाजोलामाइड), ‘डेक्सामेथासोन’, ‘नाइफेडिपिन’जस्ता औषधीहरू प्रयोग गर्नुपर्दछ ।

यी औषधीको प्रयोग चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्दछ । डायमोक्स चक्की यात्राको एक दिनअघिदेखि र बीचमा सामान्य लक्षण देखा परेर निको भई फेरि उकालो चढ्न लागेको बेला चार–पाँच दिन लगातार खाएमा यसले लेक लाग्ने समस्याको रोकथाम गर्ने काम गर्छ ।

औषधी लिए पनि लेक लाग्ने समस्या फेरि बल्झिदैन् भन्न सकिँदैन् । त्यसैले सकेसम्म लेक लाग्नै नदिनु राम्रो । यसो हुन नदिन २५ सय मिटरभन्दा माथि गएपछि विस्तारै, दिनमा तीन सय मीटर नबढाई र चार हजार मिटर नाघेपछि डेढ सय मिटर मात्रै उक्लिने गर्नुपर्दछ ।

हिँड्दा पसिना बग्ने र शरीर सुक्खा हुने हुँदा प्रशस्त पानी पिउनु पर्दछ । राति सुत्ने ठाउँको उचाइ दिनभरी उक्लेको ठाउँ भन्दा होचो हुनु पर्दछ । रोगका प्रारम्भिक लक्षणहरू देखिने बित्तिकै सो ठाउँभन्दा माथि नउक्लिई, सकभर तल ओर्लिएर आराम गर्नु र उपलब्ध भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्दछ । पहिल्यैदेखि उच्च रक्तचाप, मधुमेह र मुटु वा फोक्सोसम्बन्धी कुनै रोग छ भने यात्रा सुरु गर्नुअघि स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

समस्या बढ्दै गए फोक्सो र गिदीमा असर गर्छ । प्रेसर, सुगरलगायत दीर्घ रोग भएका बिरामी र ६०/७० नाघेमा वृद्धहरु डाक्टरको परामर्श लिएर मात्रै लेक लाग्ने (High Altitude) हुने (हिमाली क्षेत्र) मा जानु उपयुक्त हुन्छ । हाई अल्टिच्युटमा जानुपर्ने भएमा एसेटाजोलामाइड (Acetazolamide) नामक औषधी लिनु राम्रो हुन्छ, जुन हाई अल्टिच्युटमा घुम्न जानुभन्दा १/२ दिन अगाडि खाएर गएमा लेक लाग्ने सम्भावना कम हुन्छ ।

हाई अल्टिच्युटमा पुगेका बिरामीलाई सबैभन्दा पहिले अक्सिजन लेभल के छ भन्ने जाँच गर्नु आवश्यक हुन्छ । अक्सिजन लेभल घट्नु नै मुख्य समस्या भएकाले चिकित्सककाअनुसार सबैभन्दा राम्रो त लेक लागेका ठाउँबाट कम उचाइमा झर्दा बिरामीलाई छिटो सहज हुन्छ । श्वास फेर्न कति गाह्रो भएको छ भन्ने ख्याल गरिन्छ । अक्सिजन लेभल कम भएको छ भने अक्सिजन दिने, नेबुलाइजेसन (बाफ लगाउने) काम प्राथमिक उपचारमै पर्छ । त्यसो गर्दा पनि समस्या समाधान भएन भने विभिन्न जाँच गरिन्छ । एक्सरे गर्दा छातीमा केही समस्याहरु देखिने पनि हुन्छ ।

हाई अल्टिच्युट पल्मोनरी इदेमा (Edema) को समस्या आउन सक्छ । त्यसका लागि छुट्टै औषधी दिनुपर्ने हुन्छ । ब्रेनमा पनि सेरेबरल इदेमा (Cerebral Edema) हुन्छ, ब्रेनको प्रेसर बढ्छ, श्वास फेर्न सकेको छैन, अचेत छ भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

फोक्सो र गिदीमा गम्भीर असर हुँदा बिरामीको मृत्यु पनि हुन सक्छ । यी माथिका जटिल अवस्था भएमा अक्सिजन दिँदै ठूला अस्पतालमा रिफर गर्ने गरिन्छ । हाई अल्टिच्युटमा पुग्दा न्यानो कपडाको प्रयोग गर्ने, प्रशस्त पानी पिउने गर्नुपर्छ भने तीव्र रुपमा दूरी पार गर्नु हुँदैन ।

कालो चस्मा, पानी खाने बोतल/तुमलेट, सुक्खा खाजा लैजानु उपयुक्त हुन्छ र जाड रक्सी, चुरोटलगायतका चिजहरु बिल्कुलै खानु हुँदैन् । बच्चाहरुलाई पनि त्यही किसिमको उपचार रोकथाम र परामर्श झन राम्रो हुनु आवश्यक छ ।

(हेल्थआवाजका जुम्ला संवाददाता मानदत्त रावलसँग गरिएको कुराकानीमा आधारित)


क्याटेगोरी : कर्णाली प्रदेश, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ