गर्भ रहेको ३८ हप्तापछि आफैं सुत्केरी व्यथा लागेर प्राकृतिक रुपमा शिशुको जन्म हुने प्रक्रिया सामान्य प्रसूति हो । सामान्यतयाः हामीले ४० हप्तामा सुत्केरी हुने डेट दिइएको हुन्छ । तर, कसै–कसैको डेट नाघ्न सक्छ । सुरुमा आफैं व्यथा लागोस् भनेर कुरिन्छ । तर, कहिलेकाही धेरै समय कुर्दा आमा र शिशु दुवैलाई समस्या आउने भएकाले औषधि दिएर कृत्रिम रुपमै सुत्केरी व्यथा गराउनुपर्ने हुन्छ ।
पछिल्लो समय सिजेरियनमार्फत् शिशु जन्माउने क्रम बढेको छ । तर, हामी प्राकृतिक रुपमै प्रसूतिलाई जोड दिन्छौं, जुन आमा र शिशु दुवैको स्वास्थ्यका लागि उपयुक्त तरिका हो । गर्भ रहनुभन्दा अघि र गर्भ रहेको अवस्थामा हेरचाह राम्रो भएको, स्वस्थ, तौल राम्रो भएको, गर्भका बेला कुनै जटिलता उत्पन्न नभएको र मानसिक रुपमा उत्प्रेरित भएको व्यक्ति छ भने प्राकृतिक प्रसूति नै उपयुक्त हुन्छ ।
गर्भवतीका लागि व्यायाम कति महत्वपूर्ण ?
व्यायाम सबैका लागि महत्वपूर्ण भएजस्तै गर्भवतीका लागि पनि महत्वपूर्ण हुन्छ । कसै–कसैमा गर्भ रहेको समयमा केही काम गर्नु हुँदैन, आराम गर्नुपर्छ भन्ने सोचाइ रहेको पाइन्छ । तर, यस्तो सोचाइ गलत हो । केही अपवादबाहेक गर्भ रहेको समयमा व्यायामको ठूलो भूमिका हुन्छ ।
तर व्यायामका लागि भने तालिमप्राप्त प्रशिक्षकसँग परामर्श लिनुपर्छ ।
कस्तो अवस्थामा शल्यक्रिया (सिजेरियन) प्रसूति आवश्यक ?
प्राकृतिक रुपमै शिशुलाई जन्म दिने चाहना हुँदाहुँदै पनि केही अवस्थामा सिजेरियन नै आवश्यक पर्न सक्छ । साल तल बसेको, बच्चाको धड्कन असामान्य भएको, शिशुले पेटभित्रै दिसा गरेको, बच्चाको टाउको तल आउनुपर्नेमा नआएकोजस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसबाहेक शिशु ठूलो तौल भएको र आमाको बच्चा पाउने ठाउँ सानो छ भने पनि पहिलेदेखि नै शल्यक्रियाको योजना बनाइन्छ ।
कतिपयले प्रसव पीडा सहन नसकेर पनि सिजेरियन नै गरिदिन आग्रह गर्छन् । अहिलेको नयाँ पुस्ता प्राकृतिक रुपमै बच्चा जन्माउन चाहन्छ, तर पीडा खप्न सक्दैनन् । कतिपय त गर्भ जाँचका बेला नै सिजेरियन गरिदिन भन्छन् । यस्तो अवस्थामा ‘अन डिमान्ड’ सिजेरियन पनि गरिरहेको अवस्था छ ।
डराउनु पर्दैन
धेरैलाई प्रसूतिका क्रममा हुने पीडाको डर भएपनि प्रविधिको यो जमानामा पीडासँग डराउनु पर्दैन । अस्पतालमा पेनलेस डेलिभरीको व्यवस्था छ, जसमा प्रसव पीडा नभोगिकनै प्राकृतिक रुपमा शिशु जन्माउन सकिन्छ । र, हामी धेरैलाई यसमा प्रोत्साहित गर्छौं पनि । प्रायः एपिड्युरलमार्फत् नै पेनलेस डेलिभरी गराइन्छ । यसको प्रयोग हुन थालेको वर्षौ भइसकेको छ ।
के हो एपिड्युरल ?
एपिड्युरल भनेको दुखाइ रोक्न इजेक्सन लगाउने प्रक्रिया हो, यसअन्तर्गत ढाडमा सानो इजेन्क्सन लगाइन्छ, जसले त्यहाँबाट जाने पीडाका नसाहरुलाई ब्लक गरिदिन्छ । लेबर पेन एकदमै दुखाइ हुने अवस्था हो जुन पीडालाई एपिड्युरलले रोक्छ । यसले गर्दा पीडारहित प्रसूति गराइन्छ । जसमा रमाइलो गरेर, गीत सुनेर, गफ गरेर प्राकृतिक रुपमै प्रसूति गराइन्छ ।
एपिड्युरल र स्पाइनल एनेस्थेसियामा के फरक छ ?
मेरुदण्डको संरचनामा विभिन्न लेयर हुन्छन्, जसमध्ये ‘सब–आर्कनोइड स्पेस’ पनि एक हो, त्यसमा एनेस्थेसिया दिँदा त्यसलाई स्पाइनल एनेस्थेसिया भनिन्छ, । अनि एपिड्युरल स्पेसमा एनेस्थेसिया दिँँदा ‘एपिड्युरल’ भनिन्छ । हालसम्म धेरैजसो प्रयोग भएको चाहिँ सिजेरियन डेलिभरी नै हो । एपिड्युरलचाहिँ अन्य शल्यक्रियामा पनि प्रयोग भइरहेको हुन्छ ।
पेनलेस डेलिभरीको साइडइफेक्ट हुन्छ ?
पेनलेस डेलिभरीको सामान्यतः दीर्घकालीन साइड इफेक्ट खासै देखिएको छैन । तर, छोटो अवधिका असर भने देखिन सक्छन् । जस्तो, एपिड्युरल लगाउँदा–लगाउँदै रक्तचाप अचानक घट्ने तथा टाउको दुख्नेजस्ता समस्या हुन सक्छ । तर यी सामान्य समस्या हुन्, जसलाई एनेस्थेसियोलोजिस्टहरुले तत्कालै व्यवस्थापन गर्छन् ।
यसबाहेक कहिलेकाहीँ खुट्टा लुलो हुने र टाउको दुख्ने समस्या पनि देखिन सक्छ । तर, सबैलाई यस्तो हुँदैन । यस्तो साइड इफेक्ट एकैछिनका लागि हो । तर, सी–सेक्सनको तुलनामा पेनलेस डेलिभरीको साइडइफेक्ट धेरै नै कम हुन्छ । तर, कहिलेकाही इपिड्युरलले कामै नगर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा पुनः एपिड्युरल पनि लगाइदिनुपर्ने अवस्था हुन्छ ।
हामी सकेसम्म नर्मल डेलिभरी अर्थात् प्राकृतिक डेलिभरीका लागि नै जोड दिन्छौं । जसका लागि पहिलादेखि नै काउन्सिलिङ गरेर, उत्प्रेरित गराएर, व्यायाम गराएर प्राकृतिक डेलिभरीका लागि हौसला दिइरहेका हुन्छौं । हामीले नर्भिकमा पनि पेनलेस डेलिभरीलाई नै जोड दिँदै आएका छौं ।
(डा. श्रेष्ठ नर्भिक अस्पतालकी सिनियर कन्सल्टेन्ट गाइनेकोलोजिस्ट तथा अब्स्टेट्रिसियन हुन् ।)