२०८२ फागुन २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत

डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत


सामान्यतयाः नेपाली समाजमा गुलियो बढी खानाले दाँत किराले खान्छ भन्ने मान्यता रहेको पाइन्छ । तर, यो सरासर गलत हो । हाम्रो दाँत गुलियोको कारणले मात्र नभई सरसफाइमा आएको कमीका कारणले पनि किराले खाने गर्छ । दाँतको सरसफाइमा कमी भएको खण्डमा यो समस्या साना बालवालिकामा मात्र नभई जुनसुकै उमेर समूहका व्यक्तिहरुमा पनि देखा पर्न सक्छ । त्यसैगरी, यो कुरा मधुमेह बिरामीका हकमा पनि उत्तिकै लागु हुने देखिन्छ ।

मधुमेह भन्नाले व्यक्तिको शरीरमा ग्लूकोजको मात्रा बढी भएको अवस्था भन्ने बुझिन्छ । मधुमेह रोग भएका विरामीहरुमा पनि दाँत किराले खाने सम्भावना उत्तिकै मात्रामा रहन्छ । अझ भन्ने हो भने मधुमेहका बिरामीहरुमा झन् दाँतका समस्या धेरै मात्रामा देखा पर्ने हुन्छ । तर, यस्ता बिरामीहरुको उपचार गर्ने क्रममा अन्य विधिहरु अपनाउन सकिने भएतापनि त्यसमध्ये दाँत निकाल्नुपर्ने अवस्थालाई भने जटिल अवस्थाको रुपमा लिइन्छ ।

मधुमेहका बिरामीको शरीरमा ग्लूकोजको मात्रा बढी मात्रामा पाइने गर्छ । जसकारण उनीहरुको शरीरमा भएको घाउ निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दाँत निकाल्दा हुने घाउ पनि लामो समयसम्म निको नहुने भएकोले यी बिरामीहरुको दाँत किराले खाएमा अधिकांश चिकित्सकहरुले उनीहरुलाई सर्वप्रथम दाँत निकाल्न बाहेकका अन्य विधि तथा उपचारहरु अपनाउन सल्लाह दिने गर्छन् ।

तर, कतिपयमा दाँत ननिकाली नहुने अवस्था पनि आइपर्ने हुन सक्छ । त्यस समयमा भने चिकित्सकसँग अनिवार्य रुपमा सल्लाह लिनु पर्दछ । चिकित्सकले पनि आवश्यकताअनुसार बिरामीको शरीरको ग्लूकोजको मात्रालाई व्यवस्थित गरेर मात्रै दाँत निकाल्ने गर्छन् ।

रोकथाम तथा उपचार

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनुलाई सबभन्दा ठूलो उपचार मानिन्छ । तर, तमाम कोशिशको बाबजुद पनि कतिपय व्यक्तिमा यस्ता समस्या आइ पर्न सक्छन् । अझ मधुमेहले व्यक्तिको गिजा कमजोर गराउने भएकोले उनीहरुमा झन् दाँत सम्बन्धिका समस्याहरु बढी देखा पर्ने हुन्छ ।

त्यसमध्ये दाँत हल्लिनु पनि एक हो । जसकारण उनीहरुमा दाँत निकाल्नैपर्ने अवस्था पनि आइपर्ने हुनसक्छ । तर, हामीले यस्ता समस्या देखा पर्नु अगावै निम्न उपायहरु अपनाउन सकेमा दाँत सम्बन्धिको समस्या कम मात्रामा देखा पर्ने हुन्छ ।

  • दाँतको सरसफाइमा विशेष ध्यान दिने
  • हामीले केही नखादा पनि दाँतको सतहमा ब्याक्टरियल लेयर बनिसकेको हुन्छ । त्यसैले कम्तिमा पनि दिनको २ पटक ब्रस गर्ने बानी बसाल्ने
  • प्रत्येक १२/१२ घण्टाको अन्तरालमा अनिवार्य रुपमा ब्रस गर्ने
  • ब्रस गर्दा ब्रसलाई दाँतको प्रत्येक भागमा अनिवार्य रुपमा पु¥याई मज्जाले सफा गर्ने
  • प्रत्येक महिना दिनमा ब्रस परिवर्तन गर्ने
  • केही खाने बित्तिकै मुख कुल्ला गर्ने बानी बसाल्ने
  • दाँत सम्बन्धी कुनै पनि समस्या देखा परेमा तुरुन्त डाक्टरसँग परामर्श लिने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ