२०८२ फागुन २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?

मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?


धनगढी-क्षयरोग विशेषगरी फोक्सोमा लाग्ने रोग हो। तर, क्षयरोगले प्रायः शरीरका धेरैजसो अङ्गहरूलाई असर गर्न सक्छ। धेरैजसो बिरामीहरूमा क्षयरोगले फोक्सोमा संक्रमण गरे पनि हड्डी र लिम्फ नोडहरूमा पनि क्षयरोग देखिन सक्छ। केही अवस्थामा मुटुमा पनि क्षयरोगका लक्षणहरू देखिन्छन्।

श्वासप्रश्वास प्रणाली तथा फोक्सोमा देखिने क्षयरोगलाई पल्मोनरी क्षयरोग (Pulmonary Tuberculosis) भनिन्छ भने फोक्सोबाहेक अन्य अङ्गहरूमा लाग्ने क्षयरोगलाई एक्स्ट्रा पल्मोनरी क्षयरोग (Extrapulmonary Tuberculosis) भनिन्छ।

मुटुमा पनि क्षयरोगका बिरामीहरू भेटिन्छन्। मुटुका विभिन्न तहहरू हुन्छन्—एन्डोकार्डियम (Endocardium), मायोकार्डियम (Myocardium) र पेरिकार्डियम (Pericardium)। मुटुमा क्षयरोगले प्रायः पेरिकार्डियममा संक्रमण गर्छ। यसमा संक्रमण भएपछि मुटुको वरिपरि पानी जम्न सक्छ। यदि यो अवस्था समयमा पत्ता लागेन भने पानीको मात्रा बढ्दै जान्छ र मुटु थिचिन सक्छ, जसले गर्दा मुटुले ठीकसँग काम गर्न छोड्ने अवस्था आउन सक्छ।

यदि फोक्सोमा क्षयरोगको संक्रमण भएको छ भने फोक्सोको परीक्षणबाट नै पत्ता लगाएर उपचार गर्न सकिन्छ। तर, अन्य अङ्गहरूमा क्षयरोगका स्पष्ट लक्षण नदेखिएर मुटुको वरिपरि पानी जमेको लक्षण मात्र देखिएमा बिरामी अस्पताल आउँछन्। त्यस्तो अवस्थामा क्याथ ल्याब (Cath Lab) को सहयोगमा पानी निकालेर त्यसको परीक्षण गरिन्छ। परीक्षणबाट क्षयरोग पुष्टि भएपछि उपचार सुरु गरिन्छ र उचित उपचारपछि यो रोग पूर्ण रूपमा निको हुन सक्छ।

क्षयरोग एउटा किटाणु (ब्याक्टेरिया)ले गराउने रोग हो। यसको प्रमुख असर फोक्सोमा पर्ने भएपनि यसले शरीरका अन्य अङ्गहरूलाई पनि प्रभावित गर्न सक्छ।

फोक्सोमा देखिने क्षयरोगको उपचारका लागि सामान्यतया ६ महिनासम्म औषधि सेवन गर्नुपर्छ। फोक्सो बाहिर देखिने क्षयरोगका लागि पनि धेरैजसो गाइडलाइनहरूले ६ महिना औषधि सेवन पर्याप्त हुने बताउँछ। तर, बिरामीको अवस्थाअनुसार कहिलेकाहीँ ९ देखि १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन सक्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ