२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलविश्व नम्बर वान मेयो क्लिनिकको एओर्टिक सर्जरी टिम हाँक्दैछन् नेपाली डाक्टर मलखलाल

विश्व नम्बर वान मेयो क्लिनिकको एओर्टिक सर्जरी टिम हाँक्दैछन् नेपाली डाक्टर मलखलाल


अमेरिकाको रोचेस्टर मिनिसोटामा प्रसिद्ध मेयो क्लिनिकको मुख्यालय छ । ३ हजार बढी चिकित्सक र ९० हजार बढी कर्मचारी कार्यरत मेयोको मुख्यालयमात्रै ४० हजार बढीले काम गर्छन् । अमेरिकी हेल्थकेयर जायन्ट मेयोमा कार्डियोभास्कुलर सर्जरी विभागअन्तर्गत एओर्टिक कार्यक्रमको नेतृत्व १२ अक्टोबरबाट एकजना नेपालीले गर्दैछन् । अमेरिकाजस्तो पहिलो विश्वको देशमा एओर्टिक सर्जरीजस्तो संवेदनशील कार्यक्रमको निर्देशक हुने सौभाग्यशाली नेपाली हुन्—कार्डियोभास्कुल तथा एओर्टिक सर्जन प्रा.डा. मलखलाल श्रेष्ठ ।

२६ वर्षदेखि जर्मनीमा बसोबास गरिरहेका कार्डियो भास्कुलर सर्जन डा. श्रेष्ठ प्रोफेसर र एओर्टिक सर्जरी कार्यक्रमको निर्देशक भएर मेयो जान लागेका हुन् । ‘उनीहरुले नेपाललाई पनि स्वास्थ्य उपचारमा मद्धत गर्छु भनेका छन्,’ हालैको एक साँझ उनले हेल्थआवाजसँग भने, ‘अहिलेलाई न्युनतम ३ वर्षको लागि अमेरिका जान्छु ।’ संसारको ठूलो अस्पतालमा भित्रिदैं गर्दा उनीमाथि ५ वर्षभित्र एओर्टिक सर्जरीमा मेयोलाई विश्वभर प्रसिद्धी दिलाउने जिम्मेवारी छ । त्यसका लागि आवश्यक सबै कुरा सम्झौतामा नै उल्लेख छन् ।

मेयोलाई एओर्टिक सर्जरीमा नयाँ प्रतिष्ठा दिलाउने सीप, ज्ञान र विशेषज्ञतासँगै क्षमता पनि डा. मलखसँग छ । किनभने, त्यो क्षमता देखेर नै मेयोको व्यवस्थापनले सन् २०१९ देखि नै उनलाई पछ्याएको हो । २६ वर्षदेखि मेडिकल क्षेत्रमा कार्यरत उनले जर्मनीको विश्व प्रसिद्ध ह्यानोभर मेडिकल स्कुलको कार्डियोथोरासिक, प्रत्यारोपण र भास्कुल सर्जरी विभागको उपनिर्देशक र एक दशक बढी समयदेखि ‘एओर्टिक सर्जरी’ विभागको प्रमुख भएर काम गरेका छन् । एओर्टिक सर्जरी मुटुबाट निस्किएको नलीको सबैभन्दा गाह्रो शल्यक्रिया मानिन्छ ।

त्यसबाहेक डा. मलखसँग संसारका धेरै विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरमा काम गरेको अनुभव पनि छ । उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका पनि भिजिटिङ भिजिटिङ प्रोफेसर हुन् । हजारौंको मुटुको शल्यक्रिया गरिसकेका यी चिकित्सक जर्मनीमा कार्डियो सर्जरीमात्रै २० वर्ष लामो अनुभव छ ।

‘उहाँ मेयोको एओर्टिक सर्जरी कार्यक्रमको नेतृत्व गर्न आउँदै हुनुहुन्छ । उहाँ एओर्टिक कार्यक्रमको निर्देशक पोष्टमा जर्मनीबाट आउन लाग्नुभएको हो,’ मेयोका अंकोलोजी फ्याकल्टी डा. सिद्धार्थ यादवले हेल्थआवाजसँगको इमेल कुराकानीमा भने, ‘अमेरिकामा विशेषतः अमेरिकामै रेजिडेन्सी नगरीकन काम गर्न पाउँदैन् । तर, केही विशेष चिकित्सकका लागि त्यो नियम लागु हुँदैन । उहाँ तिनै विशेष चिकित्सकमा पर्नुहुन्छ, यो हामी सबै नेपालीका लागि गौरवको विषय हो ।’

अमेरिकी हेल्थकेयरमा सबैभन्दा ठूलो मध्येमा पर्ने अस्पतालको एओर्टिक कार्यक्रम हाँक्न लागेका डा. मलखको जन्म ललितपुरको शान्ता भवनमा सन् १९६६ मा भएको हो । बुवा स्व. प्रा.डा.मणिकलाल श्रेष्ठ र आमा स्व. सुशीला सिंह श्रेष्ठका दुई सन्तानमध्ये उनी जेठा हुन् । उनकी आमा सुशीला नेपालको पहिलो महिला वलिक तथा सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीस हुन् ।

नेपालको शिक्षा र अन्य क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरुको परिवारमा जन्मेकाले डा. मलखको शिक्षादीक्षामा पनि उत्कृष्ट वातावरणमा भएको हो । उनको प्रारम्भिक शिक्षादीक्षा आनन्दकुटी स्कुलबाट अगाडि बढेको हो । केही वर्ष आनन्दकुटीको होस्टेलमा बसेर पढेपछि उनी बुढानिलकण्ठ स्कुल गए । ‘म बुढानिलकण्ठ स्कुलको तेस्रो ब्याचको विद्यार्थी हुँ,’ उनले सुनाए, ‘बुढानिलकण्ठको वातावरण एकदमै राम्रो थियो ।’ त्यो बेला बुढानिलकण्ठमा हरेक ब्याचमा ७५ जना हुन्थे । जसलाई विभिन्न जिल्लाबाट ब्रिटिसहरुले नै छनोट गर्थे ।

८—९ वर्षको उमेरमा बुढानिलकण्ठ गएका उनी त्यसबेला काठमाडौं चिसो हुने र बुढानिलकण्ठ झनै चिसो रहेको बताउँछन् । स्कुल जीवनमा मलखलाई सबै विषय उतिकै मन पर्थे । पढाइमा अब्बल उनी कक्षा ४ देखि नै प्रायः कक्षामा प्रथम हुन्थे । अतिरिक्त क्रियाकलापमा ब्याटमिन्टन, दौड र फुटबलमा उनको बढी रुचि थियो । डा. मलख १० कक्षामा हुँदा पूर्वराजा स्व. दीपेन्द्र वीरविक्रम शाह बुढानिलकण्ठमा पढ्न आएका थिए । त्यसपछि बुढानिलकण्ठको बाहिरी सुरक्षामा अलि कडाइ गरिएको अनुभव उनको छ । ‘तर, स्कुलभित्र धनी, गरिब सबै एकै ठाउँमा हुन्थे । सबै नेपाली मात्रै हो भन्ने सिकाइन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘मैले अस्कलमा पढेपछि मात्रै तराई, पहाड, हिमालका व्यक्ति भनेर चिनेको हुँ ।’

वि.सं. २०३८ सालमा उनले बुढानिलकण्ठबाटै एसएलसी दिए । एसएलसीमा बोर्डको डा. मलख १० औं स्थानमा आए । आमाबुवा व्यस्त भएकाले उनको अधिकांश बाल्यकाल होस्टेलमा बितेको हो । एसएलसी पास गरेपछि उनी छात्रवृत्तिमा विज्ञान पढ्नका लागि अमृत साइन्स क्याम्पस (अस्कल) गए । अस्कलमा उनले बायोलोजी विषयमा टप नै गरे । वि.सं. ०४२ सालमा उनले अस्कलबाट आईएस्सी सके । उनका बुबाआमा नै कानुन पढेका थिए । तरपनि, उनलाई यही नै पढ्नुपर्छ भन्ने कुनै करकाप थिएन् ।

डा. मलखलाई सुरुवाती दिनहरुमा कानुन पढ्ने रहर थियो । तर, कालान्तरमा उनले डाक्टर बन्ने बाटो रोजे । अस्कलबाट आईएस्सी सकिएपछि उनले आरजीकर मेडिकल कलेज कलकत्तामा एमबीबीएस अध्ययनका लागि जगदम्बा छात्रवृत्ति पाए । त्यसपछि उनी सन् १९८६ मा एमबीबीएस पढ्नका लागि कलकत्ता कलकत्ता गए । ‘त्यो बेला एमबीबीएस पढाइ घोक्नुपर्ने, अत्याधिक मेहनत गर्नुपथ्र्यो,’ उनी आफ्नो एमबीबीएस अनुभव सुनाउँछन्, ‘मेसिन छुन नपाउने अवस्था थियो, परैबाट हेर्नुपथ्र्यो । तर, अहिले भने धेरै विकसित भएको छ ।’ त्यहाँबाट उनले एमबीबीएस उत्तीर्ण गरे । सन् १९९२ मा उनी इन्टर्नसमेत सकेर स्वदेश फर्किए ।

नेपाल फर्केपछि डा. मलखले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६ महिना अस्थायी जागिरेका रुपमा काम गरे । त्यही क्रममा उनले लोकसेवा दिए । सन् १९९२ को डिसेम्बरमा त्यसको रिजल्ट आयो । उनले सातौं तहको मेडिकल अधिकृतमा लोकसेवा टप गरे । त्यसपछि वीर अस्पतालमा बिरामी सेवामा खटिए । सुरुमा मेडिसिनमा काम गरेका उनले पछि सर्जरी विभागमा काम गरे । त्यो बेला वीर अस्पतालको मेडिसिन विभागको प्रमुख डा. धुव्रलाल सिंह थिए भने सर्जरी विभागका हेड डा. दिनेशनाथ गंगोल थिए । ‘सर्जरीको हेड धेरै कडा हुनुहुन्थ्यो,’ उनले वीर अनुभव सुनाए, ‘सबै भाग्थे । तर, म भने बिहानदेखि साँझ १० बजेसम्म नै काम गर्थे ।’ त्यो बेला नेपालमा एकाध नगन्य निजी नर्सिङ होमहरु मात्रै अस्तित्वमा थिए । उनले झण्डै ३ वर्ष वीर अस्पतालमा बिताए ।

उनको मनमा विशेषज्ञता हासिल गर्ने हुटहुटी चलिरहेको थियो । त्यही बेला उनी विश्वव्यापी खुला प्रतिस्पर्धामा जर्मन सरकारको डीएएडी कार्यक्रमका लागि छनोट भए । त्यो कार्यक्रम दुई वर्षको हुन्थ्यो । उक्त कार्यक्रमका लागि छनोट भएपछि सन् १९९५ मा उनी जर्मनी गए । ‘छात्रवृतिमै मैले ६ वर्ष हार्ट सर्जरी सिके,’ उनले भने, ‘पछि युनिभर्सिटीबाट पनि छात्रवृति पाए ।’ उनले ६ वर्ष पढ्नका लागि छात्रवृति मिल्यो । डा. मलखले ह्यानोभर युनिभर्सिटी मेडिकल स्कुलमा सन् १९९६ देखि सन् २००२ सम्म कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरीमा रेजिडेन्सी गरे ।

डा. मलख सन् २००२ मा ह्यानोभरबाटै कार्डियाक सर्जरी बोर्ड सर्टिफाइड भए । सन् २००३ को नोभेम्बरमा उनी ह्यानोभर मेडिकल स्कुलको स्टाफ सर्जन भए । यो पदमा उनी सन् २००६ सम्म रहे । सन् २००६ मा उनी स्वदेशमै केही गर्ने चाहना बोकेर नेपाल फर्किए । त्यो बेला नेपालमा अन्तरिम सरकार थियो । १० वर्ष लामो युद्धबाट माओवादी शान्ति प्रक्रियामा आएपछि संक्रमणकालीन अवस्थामा थियो । ‘त्यसबेला नेपालमै केही गर्छु भनेर आएको थिए,’ उनले भने । अमिक शेरचन स्वास्थ्यमन्त्री थिए भने डा. दीर्घसिंह बम स्वास्थ्य सचिव । दुवैजनासँग डा. मलखले आफूले जर्मनीमा हासिल गरेको विशेषज्ञता नेपालीहरुका लागि खर्चिन चाहेको र ठाउँ उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

तर, त्यसमा उपलब्धि नभएपछि एक महिना नेपाल बसाइँ बिट मार्दै उनी जर्मनी फर्किए । सन् २००६ मै उनी ह्यानोभरजस्तो प्रतिष्ठित विश्वविद्यालयको मेडिकल स्कुलको क्रोननरी एण्ड भल्ब सर्जरी विभागको निर्देशकमा नियुक्त भए । ३ वर्ष उनले हार्ट सर्जरीको बाइपास सर्जरीमा पीएचडी गरे । सन् २००९ मा उनले पोष्टअप थेसिस गरेर सके । लगतै, उनी ह्यानोभरको एसोसिएट प्रोफेसरमा नियुक्त भए । उनी त्यसपछि कार्डियाक सर्जरीको चिफ सर्जन भए । सन् २०१२ देखि सन् २०१५ सम्म उनले चिफ सर्जनका रुपमा काम गरे । सन् २०१२ मै उनी कोरोनरी वाइपास सर्जरीबाट मुटुको एओर्टिक सर्जरीमा गए ।

सन् २०१६ बाट डा. मलख कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट विभागको उपनिर्देशक र एओर्टिक सर्जरीको निर्देशक भए । अघिल्लो महिनासम्म पनि डा. मलख ह्यानोभर युनिभर्सिटी मेडिकल स्कुलको एओर्टिक विभागका निर्देशक थिए । ‘एओर्टिक सर्जरीको निर्देशकका रुपमा १० वर्ष जति काम गरे,’ उनले भने, ‘मेयो जानका लागि राजीनामा दिनुपूर्व पनि त्यसैको निर्देशक थिए ।’ सन् २०१९ देखि नै मेयो क्लिनिकले उनका लागि आफ्नो मुख्यालयमा रेडकार्पेट बिझ्याएको हो । तर, विविध कारणले उनले त्यसलाई पर सार्दै गए । ‘मैले गर्ने सर्जरी गर्ने संसारभर बढीमा एक दर्जन सर्जन मात्रै छन् । उनीहरुले त्यसलाई मध्यनजर गरेर निर्देशक खोजेका हुन् । अन्तर्राष्ट्रिय जर्नलमा पब्लिकेशनमा मैले लेख्ने पनि गर्थे,’ उनले भने, ‘पटक–पटक बोलाएपछि म जान तयार भएको हो । परिवार नै लिएर आउ भन्ने प्रस्तावसमेत भएपछि हामी जान तयार भएका हौं ।’ उनका छोरीहरुलाई मेडिसिनमा पोष्टअप गराइदिने आश्वासन पनि मेयोले दिएको छ । विश्वकै प्रख्यात अस्पतालको एओर्टिकजस्तो कार्यक्रमको अनुभव हासिल गर्न सकिने भएपछि अन्ततः उनी सन् २०२२ को जनवरीमा यो जिम्मेवारीका लागि तयार भए ।

डा. मलखलाई जनवरीमै मेयोले एओर्टिक कार्यक्रमको नेतृत्वका गर्न आउन भनेको थियो । । तर, २६ वर्षदेखि जर्मनीको ह्यानोभरमा सक्रिय डा. मलख त्यहाँ स्थायी जागिरे थिए । त्यही कारण जागिर छाड्नुपूर्व ६ महिनाअघि ह्यानोभरलाई जानकारी दिनुपर्ने प्रबन्ध छ । जसका कारण उनको मेयो यात्रा जनवरीबाट अक्टोबर महिनामा पुग्यो ।

सन् २०२२ को न्युजविकको विश्वका २५० वेष्ट अस्पतालहरुको सूचीमा पहिलो स्थानमा रहेको मेयो गैरनाफामूलक स्वास्थ्य संस्था हो । ‘यसको उद्देश्य सुलभ मूल्यमा संसारभरका बिरामी उपचार गर्नेछ,’ डा. मलख भन्छन्, ‘टर्नओभर बढी भएकोले सबै अस्पतालको सुविधामै लगाइन्छ ।’ अक्टोबर १५ बाट डा. मलख ४ हजार ५ सय बढी फिजिसियनले काम गर्ने अमेरिकाको यही अस्पतालमा एओर्टिक कार्यक्रमका निर्देशक एवं प्रोफेसरका रुपमा सक्रिय हुनेछन् । ‘उनीहरुले नेपाललाई पनि स्वास्थ्य उपचारमा मद्दत गर्छु भनेका छन्,’ उनले भने, ‘अहिलेलाई न्यूनतम ३ वर्षको लागि अमेरिका जान्छु । संसारको ठूलो अस्पताल भएको हुँदा एओर्टिक सर्जरीमा पनि विश्वभर ५ वर्षको अवधिमा नाम चलाउने जिम्मा मेरो भनेका छन् ।’ मेयोमा रहँदा उनी क्लिनिकलसँगै प्राज्ञिक, अनुसन्धान र व्यवस्थापनका काममा तल्लीन रहनेछन् ।

५ वर्ष अमेरिकी प्रसिद्ध अस्पतालको अनुभवपछि डा. मलखको नेपाल आउने योजना छ । ‘अबको ५ वर्ष जति बस्छु, त्यसपछि नेपालमै आउने हो,’ उनले भने । आफू डाक्टरका रुपमा मेयोले दिने यो पोष्टभन्दा माथि जाने ठाउँ नभएको भएर मेयो रोजेको उनले सुनाए । यी विश्वप्रसिद्ध सर्जनले नेपालको चिकित्सा जगतलाई कसरी हेरिरहेका छन् त ? भन्छन्, ‘नेपालमा वि.सं. २०४६ पछि स्वास्थ्य सेवामा धेरै विकास भएको छ । पहिला जस्तो अवस्था छैन । स्कुल, बाटो, अस्पताल सबै विकास भएको छ । विकसित मुलुकसम्म अहिल्यै नै हामीले दाँज्न हुँदैन् ।’

जर्मनीका सम्झना

जर्मनीमा सबैभन्दा पहिला जुनियर डाक्टर भएर आईसीयुमा काम गर्न जाँदा एकजना बुढीआमा जीवनका अन्तिम क्षण कुरिरहेकी थिइन् । उनको परिवार कोही साथमा थिएनन् । तर, ती आमाको अन्तिम क्षणमा नर्सले आफै हात दिएर सुम्सुमाएर बसिरहिनँ । त्यो स्तरको प्रोफेसनालिज्म नर्समा देखे । पछि डा. मलखको मेडिकल जीवनकै सबैभन्दा प्रेरणादायी घटना त्यही बन्न पुग्यो ।

पछिल्ला २६ वर्षमा त्यही प्रेरणाबाट प्रोत्साहित हुँदैं आफूले पनि बिरामीसँग त्यस्तै व्यवहार गर्ने प्रयास गरेको उनी सुनाउँछन् । डा. mलख २६ वर्ष जर्मनीमा रहँदा हजारौं मुटुका शल्यक्रिया गरे, हजारौं हजारको मुटु रोगको उपचार गरे । नेपालमा एमबीबीएस सकेर विशेषज्ञताको भोक पालेर जर्मनी गएका उनलाई अहिलेको मेयो क्लिनिकको एओर्टिक कार्यक्रमको निर्देशक बनाउने क्षमता जर्मनीले नै दिएको हो ।

‘जर्मनीले मलाई सीप दियो । बस्नका लागि राम्रो ठाउँ दियो,’ उनले भने । डा. मलख जर्मनीको हेनावर्गमा बस्थे । त्यहाँ उनको दैनिकी निकै व्यस्त रहन्थ्यो । उनको आवासबाट कर्मथलो ७ किलोमिटरमा दूरीमा पथ्र्यो ।

गर्मीमा साइकल, जाडोमा गाडीमा अफिस जान्थे । युरोपियन काम स्ट्याण्डर्ड हप्तामा घण्टा ४८ घण्टा छ, तर उनी साताको १०० घण्टा काम गर्थे । बिहान सवा सात बजे अस्पताल पुगिसक्नुपथ्र्यो । साढे ७ बजे सबै जना भेला हुन्थे । हार्ट सर्जन, थोरासिक सर्जन, कार्डियोभास्कुलर सर्जन, रेडियोलोजिस्टसहितको टिमको भेलामा हिजो भएका काम र आज हुने कामको छलफल हुन्थ्यो । ८ देखि आईसीयुमा रनिङ लिनुपथ्र्यो ।

‘त्यसपछि शल्यक्रिया सुरु हुन्छ । शल्यक्रियाको काम औसत ९ घण्टासम्म चल्छ । ‘मैले सबैभन्दा लामो लगातार २० घण्टाको शल्यक्रिया पनि गरेको छु,’ उनले ह्यानोभरको अनुभव बाँडे, ‘दिनकै अप्रेशन हुन्छन् । तर, मैले ठूलो केस मात्र हेर्थे ।’

जर्मनीमा एओर्टिक विभागको निर्देशक र कार्डियोथोरासिक, ट्रान्सप्लान्टेसन एण्ड भास्कुल सर्जरीको उपनिर्देशकका रुपमा डाक्टर, नर्स गरेर ७ सय जना कर्मचारीको नेतृत्व डा. मलखले गर्नुपथ्र्यो । जुनियरलाई शल्यक्रिया सिकाउने दैन्दिनै हुन्थ्यो । मेडिकल स्टुडेन्टलाई लेक्चर दिने काम महिनाको एक दिन गर्नुपथ्र्यो । सबै काम सकेर उनी सधैं साँझ ७ बजेमात्रै घर फर्कन्थे । वर्षमा ७ हप्ता बिदा हुन्थ्यो, त्यसबाहेक अध्ययन—अध्यापन विदा हुन्थ्यो । यो अवधिमा उनी कयौं अन्य देशहरुमा पुगेर पनि सर्जरी गरिरहेका हुन्थे ।

भन्छन्, ‘म आफ्नो सीप सिकाउन विदाको अवधिमा विभिन्न देशहरुमा पुग्छु । त्यसका लागि म एक पैसा पनि लिदिनँ तर त्यसको बदलामा एक साता घुमाउइदिनुपर्ने मेरो शर्त हुन्छ ।’ त्यही कारण यी सर्जन अहिलेसम्म ४८ देश पुगेर शल्यक्रिया तथा अध्यापन गराइसकेका छन् । संसारमै डा. मलखजस्ता एक दर्जनजतिमात्रै टप लेभलका सर्जन छन् । त्यही कारण उनी देश—विदेशका उच्च तहका बैठकहरुमा पनि संलग्न भइरहेका हुन्छन् । उनी युरोपियन कार्डियोथेरासिक र अमेरिकन एसोसिएसन अफ थेरासिक सर्जरीको सदस्य पनि हुन् । ‘हर्ट सर्जरीको मापदण्ड बनाउनेमा नै छु,’ उनले भने ।

जर्मनीको हेल्थकेयरको ब्युटी बिरामीलाई चिकित्सकले अधिकतम समय दिनु हो । त्यहाँ शल्यक्रिया पनि बिरामीको अनुमतिमामात्रै गरिन्छ । त्यसबाहेक आफूले चेकअप गरेको बिरामीलाई फ्लोअप गर्नुपर्ने ड्युटी पनि डाक्टरकै हुन्छ । ‘मेरो अण्डरका दुई जना नर्सले मैले सर्जरी गरेको बिरामीको फ्लोअप गर्छन् । वर्षको एकपटक सबैलाई बोलाउने गर्छु,’ उनले भने, ‘मैले यस पटक पनि मेरा सबैलाई बिरामीलाई बोलाएर म मेयो जान लागेको कुरा सुनाए ।’ बिरामीसँगको त्यो वातावरण एकदमै भावुक बनेको उनी बताउँछन् ।

मुटुभरि नेपाल

डा. मलख २६ वर्ष जर्मनीमा बसे । उनका लागि कमी केही थिएन । तर, उनको मुटुमा जहिल्यै नेपाल रहन्थ्यो । अमेरिकाको मेयो मुख्यालयमा पनि उनी नेपाललाई नै मुटुमा राखेर काम गर्नेछन् । त्यही कारण कामबाट फुर्सद पाउने बितिकै नेपालको सबै समाचार हेर्छन् । साधारण पहिरनमा रमाउने उनी नेपाली र नेवारी पोशाक मन पराउँछन् । नेपाली टोपी लगाउँछन् । नेपाली संगीत उनको कानमा गुन्जिरहेको हुन्छ ।

डा. मलखको दैनिक खानपिन मेनु भने अप्ठ्यारो छ । दुई वर्षअघि आमा र एक वर्षअघि बुवाको स्वर्गारोहण भएकाले मासु, अण्डा, दुध र दही खाएका छैनन् । उनी साढे ९ बजेतिर २ वटा ब्रेड लिन्छन्, १ बजेतिर एक प्याकेट काँचो टमाटर, २ सय ग्राम अंगुर र नासपाती खान्छन् । बेलुका साग बढी खान्छन् । उनको खानामा तामा, तोफु र चीज पनि हुन्छ । दिनमा डेढ लिटर कालो चियामा मह राखेर खान्छन् । ‘गोड्भेला बढी खानुको कारण फिट र स्वस्थ हुनको लागि हो,’ उनी भन्छन् ।

सुख्खा रोटी र भात महिनाको एकपटक मात्रै खान्छन् । पहिले भने माछा बढी खान्थे । अहिले त्यो छुटेको छ । भगवानमा विश्वास नगर्ने यी सर्जन नेपाली संस्कृति र चाडपर्वलाई निकै माया गर्छन् ।

उनको राजनीति, खेलकुद र डाक्टरी सबैमा रुचि छ । जीवन बचाउन सकिन्छ भन्ने थाहा पाएर मुटु सर्जन बनेका उनी जीवन बचाउने लालसाले नै यसमा होमिएका हुन् । त्यही कारण कसैको जीवन बचाउन पाउँदा उनलाई खुसी मिल्छ । उनका भाइ डा. सितुलाल श्रेष्ठ र भाइ बुहारी पनि डेन्टलका डाक्टर हुन् ।

डा. मलखको प्रेम र मागी दुवै कुराको संयोजन भएको विवाह भएको हो । उनकी श्रीमती सुनिता श्रेष्ठले एमबीए गरेकी छन् । उनका दुई छोरीहरु पनि डाक्टरी नै पढिरहेका छन् । २१ वर्षीया जेठी छोरी पामिला एमबीबीएस फोर्थ एयरकी विद्यार्थी हुन् भने १९ वर्षीया मिजला एमबीबीएस दोस्रो वर्षमा पढ्दैछिन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एओर्टिक कार्यक्रम, #कार्डियोभास्कुल तथा एओर्टिक सर्जन, #जर्मनी, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #प्रत्यारोपण र भास्कुल सर्जरी विभाग, #प्रा.डा. मलखकुमार श्रेष्ठ, #मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, #मेयो क्लिनिक, #ह्यानोभर मेडिकल स्कुलको कार्डियोथोरासिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ