२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएक्ला टिएमजे अर्थात अनुहारको जोर्नी रोग विशेषज्ञ डा. मनोज

एक्ला टिएमजे अर्थात अनुहारको जोर्नी रोग विशेषज्ञ डा. मनोज


मुख खोल्दा वा बन्द गर्दा अनुहार दुःखिरहन्छ । किटकिट ध्वनि आउँछ । मुख खोल्न गाह्रो भइरहेको छ । अनुहार सुन्निएको छ वा यस्तै अरु केही लक्षणहरु छन् भने कुन डाक्टर कहाँ जाने ? अनुहार दुख्दा कान, नसा, आँखा, दाँतलगायतका अंगहरुतिर ध्यान जान्छ । तर, यो समस्या अनुहारको जोर्नीका कारण पनि भएको हुन सक्छ । हामी धेरैको ध्यान त्यहाँ गइरहेको हुँदैन्, नत डाक्टरहरुले नै त्यसरी सोचिरहेका हुन्छन् ।

त्यही कारण टेम्पोरोमेन्डिबुलर डिसअर्डर (टिएमडी) को समस्या पनि हुन सक्छन् । टिएमजे पनि भनिने यो अनुहारको जोर्नीसँग सम्बन्धि स्वास्थ्य समस्या हो । सामान्यतयाः २० देखि ४० वर्षका महिलाहरुमा यो समस्या बढी देखिने गर्छ । तर, आम मानिसहरु पनि हुन्छ । नेपालमा यो उति परिचित स्वास्थ्य समस्या पनि होइन्, टिएमजे स्पेशलिष्ट अझ एकजनामात्रै छन् ।

चीनबाट यही विषयमा पिएचडी गरेर फर्किएका एक्ला डाक्टर हुन्— डा. मनोज साह । विगत दुई वर्षदेखि हिमाल हस्पिटलबाट बिरामीहरुलाई सेवा दिइरहेका उनी यस विषयमा बिरामी र चिकित्सक दुवैमा कन्फ्युजन रहेकाले बिरामीहरुले दुःख पाइरहेको बताउँछन् । यसका लागि सचेतनासँगै टिएमडी समस्याका बारेमा जानकारी दिनुपर्ने उनको मत छ । भन्छन्, ‘यो विषय सबैले थाहा पाएमा बिरामीले ब्यहोर्नुपर्ने सास्ती अन्त्य हुनेछ ।’

तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज

वि.सं. २०४१ सालमा सिरहाको लहानको पडरिया टोलमा जन्मेका हुन्, उनी । बुवा रामविलास साह र घुरनीदेवी साहका तीन सन्तानमध्ये उनी कान्छा हुन् । बुवा सरकारी जागिरे थिए भने आमा हाउसवाइफ । सामान्य किसान परिवारमा जन्मिएकाले उनको बाल्यकाल पनि किसानका छोराछोरीझै बितेको हो ।

‘बुवा निजामती कर्मचारी भएपनि घरको मुख्य आम्दानीको स्रोत त कृषि नै थियो,’ उनी भन्छन्, ‘खेतीकिसानी नै भएकाले बाल्यकाल पनि सामान्य किसानका छोराछोरीझै बित्यो ।’ उनको शिक्षादीक्षा स्थानीय सरकारी पशुपति माध्यमिक विद्यालयबाट सुरु भयो । स्कुलमा उनको अधिकांश समय पढाइ र खेलकूदमा बित्थ्यो । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ सरकारी स्कुलमा पढेपनि मनोज सानैदेखि पढाइमा अब्बल थिए ।

स्कुल जीवनदेखि नै उनलाई विज्ञानप्रति बढी लगाव थियो । त्यसबाहेक गणित र अंग्रेजी पनि उनका मनपर्ने विषय थिए । वि.सं. २०५७ सालमा उनले पशुपति माध्यमिक विद्यालयबाटै प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

त्यसपछि उनी उच्च शिक्षाका लागि जनकपुर गए । जनकपुरस्थित धनुषा साइन्स क्याम्पसमा उनको प्लस टु अध्ययन अगाडि बढ्यो । वि.सं. २०६० सालमा उनले विज्ञानमा प्लस टु उत्तीर्ण गरे । केही समय मेडिकल इन्ट्रान्सको तयारी गरे । मेडिकल इन्ट्रान्समा उनको बिडिएसमा नाम निस्कियो । त्यसपछि उनी डाक्टरी पढ्नका लागि सन् २००४ मा उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स गए ।

आंशिक छात्रवृत्तिमा नाम निकालेका उनको डाक्टरी यात्रा त्यहीबाट सुरु भएको हो । डा. मनोजले छात्रवृत्ति डेन्टलमै पाएकाले त्यही पढ्ने निधो गरेका हुन् । सन् २०१० मा उनले युसीएमएसबाट बिडिएस अध्ययन पूरा गरे ।

बिडिएस गरेर डाक्टर भएपछि डा. मनोजले पूर्वदेखि पश्चिमसम्मका अस्पतालमा काम गरेर अनुभव हासिल गर्ने अवसर पाए । उनको कन्चनपुर, धरान र वीरगन्जबाट बिरामीलाई सेवा दिए । झण्डै दुई वर्ष विभिन्न अस्पतालमा सेवा दिएपछि उनी विशेषज्ञता हासिल गर्ने अवसर खोजी गर्न थाले । त्यही क्रममा सन् २०१३ मा उनी थप अध्ययनका लागि चीन गए । चीनको थुम्ची युनिभर्सिटीबाट उनले ‘ओरल एण्ड म्याक्सिलो फेसियल सर्जरी’मा माष्टर्स गरेर सन् २०१५ मा स्वदेश फर्किए । एक डेढ वर्ष नेपालका विभिन्न अस्पताल र क्लिनिकबाट सेवा दिएपछि उनले अध्ययनको दायरा अझै बढाउने योजना बनाए ।

भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’ डा. मनोजले अनुहारको जोर्नी (टिएमडी)मा पिएचडी गर्ने छात्रवृत्ति पाए । सन् २०१७ मा उनी त्यही छात्रवृत्तिअनुसार अध्ययनका लागि चीन गए । अनुहारको जोर्नी सम्बन्धि विषयमा पीएचडी सकेपछि उनी सन् २०२१ मा नेपाल फर्किए । चीनबाट फर्केपछि डा. मनोज हिमाल डेन्टल हस्पिटलमा कार्यरत छन् । त्यसबाहेक अन्य केही क्लिनिकहरुबाट समेत उनले सेवा दिन्छन् ।

नेपालमा अहिले अनुहारको जोर्नीमा विशेषज्ञता हासिल गर्ने एकमात्र चिकित्सक हुन्,— डा. मनोज । उनले पीएचडी रोज्नुको कारण पनि त्यही थियो । भन्छन्, ‘नेपालमा अनुहारको जोर्नीसँग सम्बन्धि स्वास्थ्य समस्याका बारेमा विशेषज्ञता हासिल गरेको जनशक्ति नभएका कारणले यसका बिरामीलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने हुटहुटी छ ।’ अहिले पनि टिएमजे समस्या भएका बिरामीहरु कोही न्यूरोमा, कोही ईएनटीमा गइरहेको उनले पाएका छन् ।

‘बिरामीहरु एकदमै धेरै छन् । बिरामीहरुले टिएमजे समस्याले पनि हुन सक्न भन्ने भेउ नै पाएका छैनन्,’ डा. मनोज थप्छन्, ‘त्यही कारण बिरामीहरुले धेरै दुःख पाइरहेका छन् । मेरो इच्छा बिरामीहरु धेरैतिर भौतारिदैं दुःख नपाउन भन्नेमा छ । त्यसैमा केन्द्रीत रहेर काम गरिरहेको छु ।’ डा. मनोजको अनुभवले भन्छ—नेपालमा अनुहारको जोर्नीको समस्याले धेरै मानिसहरु पीडित छन् । त्यसको प्रमाण हो, उनले दुई वर्षकै अवधिमा यो समस्यासँग जुधिरहेका डेढ सयभन्दा बढी बिरामीको उपचार गरिसकेका छन् ।

‘कोही चार—पाँच वर्षदेखि कोही त १२—१३ वर्षदेखि पनि अनुहारको जोर्नीको समस्याबाट पीडित रहेको पाएको छु,’ उनी भन्छन्, ‘उहाँहरु कोही ईएनटी, कोही न्यूरो, कोही अर्थोपेडिक्स, कोही डेन्टल त कोही साइक्रयाट्रिकमा धाइरहेका हुनुहुन्थ्यो ।’ धेरै बिरामीलाई त अनुहारको जोर्नी सम्बन्धि समस्याका बारेमा ज्ञान र सचेतना नै नभएको उनले पाएका छन् । बिरामीमात्रै होइन्, चिकित्सकहरुमा पनि अनुहारको जोर्नीको समस्या हुन सक्छ भन्ने हेक्का कम रहेको उनले बताए ।

‘रेफर कहाँ गर्ने भनेर डाक्टरहरुमा पनि कन्फ्युजन छ,’ उनले सुनाए, ‘बिरामीमा त हुने नै भइहाल्यो ।’ उनले यो स्वास्थ्य समस्याको डाइग्नोसिसमा सबैभन्दा ठूलो समस्या देखेका छन् । अनुहार दुख्दा कान, नसा, आँखा, दाँतलगायतका अंगहरुतिर ध्यान जान्छ, मानिसहरु अनुहारको हड्डीको पनि समस्या हुन सक्छ भन्ने सोच्दैनन् । धेरै ठाउँ पुग्दा आर्थिकसँगै वर्षौसम्म दुःखिरह्यो भने मानिसक तनाव बिरामीहरु झेलिरहनु परेको उनले बताए । त्यही कारण उनको सुझाव छ—अनुहार दुःखेको छ, किटकिट आवाज आएको छ, सुन्निएको छ, मुख खोल्न र बन्द गर्न गाह्रो भएको छ भने एक पटक टिएमडीको समस्या हो कि हेरिहाल्नुहोस् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ