२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल‘लेड म्यान अफ इण्डिया’को नेपाल नाता

‘लेड म्यान अफ इण्डिया’को नेपाल नाता

दक्षिण भारतका प्रख्यात प्रोफेसर नेपालका प्रयोगशालाहरूको गुणस्तरका लागि निःस्वार्थ खटिरहेका छन् ।


‘लेड म्यान अफ इण्डिया’का रुपमा प्रख्यात प्रा. डा. थुप्पिल बैक्टेस ५१ वर्षअघि पहिलो पटक नेपाल आउँदा २४ वर्षका थिए । अहिले डेट ठ्याक्कै ठोकुवा गर्न नसकेतापनि उनी सन् १९७१—०७२ तिर पहिलोपटक नेपाल आएका हुन् । भारत बैंग्लोरका उनी सिलुगुडी, जलपाइगुडी, काकडभिट्टा हुँदै बसमा चढेर काठमाडौं आएका थिए । वर्षाको सिजन, न खाने ठेगाना न बस्ने कुनै निश्चितता । तर, उनको आँखामा सगरमाथा ट्रेकिङ गर्नका लागि पहिलोपटक नेपाल आएको सम्झना ताजै छ ।

‘काठमाडौंमा यति धेरै पानी परिरहेको थियो, बसबाट उत्रिनसमेत मन लाग्दैन्थ्यो,’ डा. थुप्पिल ५१ वर्षअघिको पहिलो नेपाल भ्रमणको स्मृति पल्टाउन थाले, ‘त्यो नेपाल थियो । काठमाडौंमा तीन दिन बसे । दाल, भात खाएपछि निःशुल्क बस्न पाइन्थ्यो ।’ त्यो बेला उनले काठमाडौं दोलखा हुँदैं एभरेष्ट बेसक्याम्पसम्मको २० दिन लामो ट्रेकिङ गरे ।

डा. बैक्टेसको यो पहिलो नेपाल यात्रा थियो । त्यसपछि दक्षिण भारतका यी प्रतिष्ठित प्रोफेसर सयौं पटक नेपाल आइसकेका छन् । नाम्चेबजारमा उनलाई एक पटक हनहनी ज्वरो आयो । तीन जना महिलाहरु रहेको घरमा उनी थला परे । त्यो घरकी आमा आफ्नै सन्तान जसरी उच्च रेखदेख गरिन् । सात दिनपछि ठीक भए ।

डा. थुप्पिलले भने, ‘अब म जान्छु, मलाई ठीक भइसक्यो । बिल कति भयो ?’

ती आमाले भनिन्, ‘४० रुपैयाँ ।’ एक गिलास चियाको ५ रुपैयाँ पर्ने नाम्चेमा ७ दिनको ४० रुपैयाँ भनेपछि उनी अचम्म परे । सोधिहाले, ‘मैले त एकैदिनमा पाँच दशवटा त चियामात्रै पिए, यति थोरै पैसा कसरी ?’

ती आमाले भनिन्, ‘बिरामी छोरालाई फ्री भयो ।’ डा. थुप्पिल थप्छन्, ‘यस्ता मानिसहरु छन् नेपालमा । मुटु छुने मन भएका । त्यसपछि म सयौं पटक ट्रेकिङका लागि नेपाल आए ।’ दक्षिण भारतको प्रतिष्ठित सेन्ट जोन्स मेडिकल कलेजका ४६ वर्ष उनले अध्यापन गराए । २६ वर्षको उमेरमा पिएचडी सकेका डा. थुप्पिलको सुरुवाती यात्राका क्रममा नेपालमा राम्रो मेडिकल सुविधा थिएन, औलामा गन्न सकिने स्वास्थ्य संस्थाहरु थिए ।

तर, पछिल्ला वर्षहरुमा स्वास्थ्य संस्था र दक्ष जनशक्ति थपिएको छ । अहिले थुप्रै प्रयोगशालाहरु पनि संचालनमा छन् । त्यही कारण उनी नेपालका प्रयोगशालामा क्वालिटी एस्योरेन्समा आफ्नो अनुभव खर्चिरहेका छन् । बिरामीको परेका मान्छे प्रयोगशालामा गएपछि त्यहाँ दिने रिपोर्टले उसको सम्पूर्ण उपचार निर्धारण गर्छ । ‘डाक्टरले रिपोर्ट हेरेपछि मात्रै तपाईंलाई छुन्छ, अहिले संसार नै यस्तो भइसकेको छ,’ उनले भने, ‘पहिलेजस्तो चिकित्सा पेशा अब छैन ।’ भारतको क्वालिटी एस्योरेन्समा ‘प्रिन्सिपल एसेसोर’ भएर काम गरेका उनी त्यही ज्ञान नेपाली प्रयोगशालाका लागि खर्च गरिरहेका छन् ।

रिपोर्टको भ्यालु ठिक वा बेठिक कसरी पत्ता चल्छ भन्ने विषयमा ‘ग्लोबल सिष्टम’ विकास भइसकेको छ । ‘गुड ल्याबरोटरी प्रायाक्टिस स्ट्याण्डर्ड’को अभाव उनले नेपालमा महसुस गरेका थिए । गुणस्तर विभागका तत्कालीन महानिर्देशक डा. सीताराम जोशी थिए । जोशीसँग डा. थुप्पिलको मित्रता थियो । सन् २०१० मा जर्मनी पिटीपीबाट नेपाल सरकारलाई प्रयोगशाला गुणस्तर तालिमका लागि फण्ड प्राप्त भयो । त्यो तालिमका लागि डा. थुप्पिललाई भारतबाट नेपाल निम्त्याइयो । उनले क्वालिटी काउन्सिल अफ इण्डियाका पूर्व अध्यक्ष प्रोफेसर गिरीधर ज्ञानीसँग मिलेर प्याथोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोलोजिष्ट, ल्याब टेक्नीसियनहरुलाई नगरकोटमा पाँच दिन तालिम दिए ।

यही तालिमपछि डा. जोशीसँगै डा. थुप्पिलले ल्याबरोटोरीको गुणस्तरको सर्वोच्च निकाय आइल्याकअन्तर्गतको एप्याकको स्वायत्त नेपाली बडीका रुपमा ‘एईआरएसएससी’ स्थापनाको पहल थाले । उनी यसका लागि पटक—पटक बस र हवाईयात्रा गरेर नेपाल आए । सन् २०१२ मा प्रयोगशाला गुणस्तरको विश्वव्यापी बडी आइल्याकको एप्याकअन्तर्गत नेपाली स्वायत्त वडीका रुपमा ‘एईआरएसएससी’ मान्यता पायो । ‘एईआरएसएससी’ अहिले नेपाली प्रयोगशालाहरुलाई अडिट पश्चात गुणस्तर चिन्ह प्रदान गर्ने गर्छ, जसले प्रयोगशाला गुणस्तर सुनिश्चित गर्छ ।

यो कामका लागि डा. थुप्पिल कसरी मोटिभेट भए ? ‘आफैलाई मोटिभेट गरे,’ उनी भन्छन्, ‘इण्डियामा मैले एक्रिडिटेसनका निकै काम गरे, हजारौं प्रयोगशाला भ्रमण गरे । त्यो अनुभव नेपालमा खर्चिन मन लाग्यो ।’ क्वालिटी एस्योरेन्स गर्ने भारतीय एक्रिडिटेसन बडी ‘एनएबीएल’मा उनी १९९३ देखि अहिलेसम्म सक्रिय छन् । भन्छन्, ‘म रिटायर्ड भए तर मेरो काम गर्ने प्यासन रिटायर्ड भएको छैन । अहिले नेपालमा काम गर्ने मौका मिल्यो । सीतारामसँग मिलेर नेपालमै एक्रिडिटेसन बडी बनाउन लागे ।’

अहिले केही नेपाली प्रयोगशाला एक्रिडिटेसनको नेपाली बडी हुँदाहुँदैं भारतकै एनएबीएललगायतबाट एक्रिडिटेसन गराइरहेका छन् । डा. थुप्पिलकाअनुसार एनबीएलसँग पनि सुरुमा भारतकै प्रयोगशालाहरुले विश्वास गरेका थिएन तर विस्तारैं ब्राण्ड बन्यो । ‘नेपालको आफ्नो स्वायत्त एक्रिडिटेसन बडी ‘एईआरएसएससी’ हो, यो केही समयमै ब्राण्ड बन्छ,’ उनले भने । उनी नेपालले भारतबाट सपोर्ट लिनुपर्ने तर भारतमा निर्भर हुन नहुनेमा जोड दिन्छन् । नेपालकोभन्दा भारतलगायतका देशका एक्रिडिटेसन बडीबाट प्रयोगशाला एक्रिडिटेसन गराउँदा महंगो पनि पर्ने गर्छ ।

डा. थुप्पिलले नेपालमा मानिसहरुलाई कस्तो प्रयोगशालामा परीक्षण गर्ने भन्ने सचेतना बढाउन आवश्यक देखेका छन् । उनी भन्छन्, ‘एक्रिडिटेसन भएका प्रयोगशालाहरुमा गुणस्तर सुनिश्चित हुन्छ ।’ डा. बैंक्टेसले नेपालका प्रयोगशाला गुणस्तरीय बनाउनका लागि ८ ब्याचलाई तालिम दिइसकेका छन् । जुन तालिम दर्जनौ स्वदेशीसँगै विदेशी चिकित्सकहरुले पनि लिएका छन् । ‘मैले नेपालबाट एक रुपैयाँ पनि लिएको छैन । दालभात, चिया खुवाउनुहोस्, मैले सिकेको कुरा बाँड्छु,’ उनले भने, ‘हामीसँग धेरै छ, तपाईंहरुसँग थोरै छ । यहाँ काम गर्दा मनमा शान्ति मिल्छ ।’ उनी अझै पनि नेपालका प्रयोगशालाको क्वालिटीका लागि काम गर्न चाहन्छन् ।

प्रयोगशाला दुई—दुई वर्षमा एक्रिडिटेसन गर्नुपर्छ । त्यसको कारण उपकरण, प्रविधी, इन्फर्मेसन भइरहेको बदलाव हो । वौद्धिक सम्पत्तिमा पेटेन्ट, किताबमा कपी राइट, कफीमा ट्रेडमार्क, उत्पादनमा जीआई भएजस्तै ल्याबरोटरी पब्लिक सर्विस भएकाले यसमा आईएसओ एक्रिडिटेसन आवश्यक पर्ने उनले बताए ।

भारतमा एक्रिडिटेसन महत्वपूर्ण भूमिका निभाएका उनले नेपालसँगै फिलिपिन्स, युएई, बंगलादेशमा पनि यसमा काम गरिरहेका छन् । ‘धेरै काम गर्नुछ, कयौं देशहरुमा एक्रिडिटेसन बडी छैन,’ ७७ वर्षको उकालोमा हिडिरहेका यी वृद्ध प्रोफेसर उर्जाशील सुनिए, ‘सबै ठाउँ म एक्लैले गर्न सक्दिनँ, त्यही कारण सिकाउँदैं पनि हिडिरहेको छु । अब तिनीहरुले गर्छन् ।’ तर, त्यसका लागि युनिफर्मिटी हुनुपर्ने उनको धारणा छ ।

कयौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसरसमेत रहेका उनी पढाउँदैं र सिकाउँदैं हिडिरहेका छन् । उनले अहिलेसम्म १७० भन्दा बढी देश घुमिसकेका छन् । ‘बिरामी मेरो भाइ, बहिनी र छोरी हो भनेर संसारभर क्वालिटी एस्योरेन्समा काम गरिरहेको छु,’ उनले भने, ‘राइट रिजल्ट तपाईको राइट हो ।’ राइट रिपोर्टका लागि ल्याबरोटरीमा म्यानपावर, उपकरण, हाइजिन मेन्टन गर्नुपर्ने विचार उनले व्यक्त गरे । ‘बेलायत, भारतमा निर्भर हुन हुँदैन्, देश सेल्फ डिपेन्ड हुन आवश्यक छ । यसका लागि ‘एईआरएसएससी’ बलियो बनाउनैपर्छ,’ पटक—पटक आत्मनिर्भरतामा जोड दिएका उनले पुनः थपे, ‘म सबैलाई यही आग्रह गर्छु । बाहिरको एक्रिडिटेसन बडीलाई ल्याएर किन पैसा बाहिर पठाउनुहुन्छ । आफ्नो एक्रिडिटेसन बडीलाई सपोर्ट गर्नुहोस् ।’

लेड म्यान अफ इण्डिया

डा. बैक्टेस भारतका पूर्व राष्ट्रपति एपीजे अब्बदुल कालमका साथी हुन् । क्वालिटी एस्योरेन्स, हाइअल्टीच्युड, लेडमा उनले कालमसँगै रहेर काम गरेको बताए । ‘मेरो अर्को नाम नै लेड म्यान अफ इण्डिया हो,’ इण्डियन सोसाइटी फर लिड अवारनेस एण्ड रिसर्च (ईनएसएलएआर) राष्ट्रिय अध्यक्षसमेत रहेका डा. बैक्टेस भन्छन्, ‘भारतमा पेट्रोल रहेको लेड हटाउन मैले भूमिका खेलेको हुँ ।’ पेट्रोल, पेन्ट, पेन्सिलजस्ता कुराहरुमा सिसा हुने गरेको उल्लेख गर्दै मानिसको स्वास्थ्यमा यसले पोइजनको रुपमा काम गर्ने भएकाले आफूले यस विरुद्ध अभियान चलाएको उनले सुनाए ।

म्यागी चाउचाउको मसलामा लेड पाइएपछि उनले त्यसका विरुद्धमा आवाज उठाए र त्यसलाई पछि कम्पनी बन्द गर्न बाध्य भयो । ‘अहिले यसको अन्त्य भएको छ,’ उनले भने, ‘लेडले किड्नीलाई ड्यामेज गर्छ ।’ अहिले नेपालमा सम्यक डाइग्नोष्टिकले लेड परीक्षण गर्ने र पाँच मिनेटमै रिपोर्ट दिने मेसिन संचालनमा ल्याएको भन्दैं उनले खुसी व्यक्त गरे । ‘त्यसको नेतृत्व डा. गौतम (डा. केयुर गौतम)ले लिइरहेका छन्,’ उनले भने, ‘राम्रो प्रयोगशाला बनाएका छन् । खुसी लाग्छ ।’

नेपालमा लेडका विषयमा आम मानिसमा सचेतना आवश्यक रहेको उनी ठान्छन् । ‘पब्लिक अवारनेस कहाँबाट आउँछ ? यसले के के ड्यामेज गर्छ स्कुले बालबालिका, शिक्षकदेखि सबैलाई जानकारी दिन आवश्यक छ,’ उनले थपे, ‘यो सरकारको मात्र होइन्, हामी सबैको काम हो ।’ उनले त्यसका लागि सडक—सडकमा ब्यानर लगाएर सचेतना जगाउन आवश्यक रहेको बताए ।

नेपाल प्रेम

सरल र सामान्य जीवनशैली भएका डा. बैक्टेस शाकाहारी हुन् । नेपालमा दाल, भात, तरकारी, प्राकृतिक सुन्दरता र यहाँका मानिसहरुले उनलाई मोहनी लगाएका छन् । यहाँका हिमाली गोठहरुको चीज, दूध, दहीले उनलाई साह्रै लोभ्याएको छ ।

‘मैले त सम्पूर्ण नेपालको यात्रा गरिसके,’ उनले भने, ‘नेपाल तपाईंले देखेको छैन, जति मैले देखेको छु ।’ पहिलोपटककै भ्रमणबाट नेपालप्रति मोहित भएका यी प्रख्यात डाक्टरको एउटा वीस छ—‘मेरो पुर्नजन्म होस त नेपालमै होस् । यति राम्रो ठाउँ र यति राम्रा मानिसहरुको बीचमा ।’

नेपालमा उनका हाई अल्टिच्युडमा डा. बुद्ध बस्न्यात, एक्रिटिडेसन डा. सीताराम जोशी, ल्याबरोटरी डा. गौतम, लेडमा रामचरित्र साहलगायतका साथीहरु छन् । सर एडमण्ड हिलारीसँग पनि उनको खास दोस्ती थियो । ‘हिमालयमा उसले निकै काम गर्‍यो । स्वास्थ्य र शिक्षामा काम गर्‍यो,’ उनले भने, ‘उ मेरो खास दोस्त थियो । तेन्जिङसँग मैले ट्रेकिङ गरे ।’

विज्ञान र आध्यात्मका विषयमा आफूहरुले निकै कुराकानी गर्ने गरेको उनले स्मरण गरे । जीवनमा ६ वटा क्रियामध्ये जन्म मृत्युमा नियन्त्रण नहुने र त्यसबाहेक खेल्ने, सिक्ने, कमाउने र दिनेमा नियन्त्रण हुनुपर्ने उनको मत छ । त्यही कारण आफू अहिले सिकेको कुरा दिनका लागि नेपाल आइरहने उनले बताए ।

केही वर्षदेखि त लिडम्यान अफ इण्डिया नेपालका नातेदार पनि भएका छन् । उनका नातिले पूर्व गृहमन्त्री तथा कांग्रेस नेता स्व. खुमबहादुर खड्काकी छोरीसँग विवाह गरेका छन् । ‘नेपालमा हाम्रो सम्बन्ध पनि बढिरहेको छ,’ कुराको बिट मार्नुपूर्व मुस्कुराउँदैं यी प्रोफेसर बोले ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #आइल्याक, #एईआरएसएससी, #एक्रिडिटेसन, #एपीजे अब्बदुल कालम, #एप्याक, #गुणस्तर, #प्रा. डा. बैक्टेस थुप्पिल, #लेड म्यान अफ इण्डिया, #ल्याबरोटोरी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ