२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज

सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज


विश्वका ५० हजार अस्पतालको रिभ्युमा २९ औँ नम्बरमा र युरोपको पहिलो नम्बरमा पर्छ— ओस्लो युनिभर्सिटी (वेस्टर्न वेस्ट अस्पताल) । ३० हजारभन्दा बढी कर्मचारी काम गर्ने पाँच हजार शैय्या क्षमताको यो अस्पताल युरोपकै प्रमुख अस्पताल हो । त्यही अस्पतालको मानसिक विभागको अनुसन्धान प्रमुखको रुपमा काम गर्छन्—प्रा.डा. सुरज थापा । डा. थापा काम गर्ने विभागमा मात्रै ३ हजारभन्दा बढी चिकित्सक, नर्स र कर्मचारीहरुले काम गर्छन् ।

डा. थापा विश्वविद्यालयको शिक्षण अस्पतालको मानसिक विभागको अनुसन्धान प्रमुख मात्र होइनन्, विश्वविद्यालयको मानसिक विभागको विभागीय प्रमुखसमेत हुन् । सो विभागमा उनीसहित १ सय ५० भन्दा बढी प्रध्यापक, सह—प्राध्यापक र शिक्षकहरु छन् । नर्वेजस्तो शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व पूर्ण रुपमा प्रत्याभूत भएको देशमा युरोपकै पहिलो नम्बरमा रहेको विश्वविद्यालय र अस्पतालको यो उचाइमा पुग्न डा. सुरजले ठूलै मेहनत गर्नु परेको हो ।

डा. सुरज आफूलाई चिकित्सकको रुपमा मात्र चिनाउन चाहँदैनन् । उनी एनआरएन नर्वेको पहिलो अध्यक्षसमेत हुन् । सामाजिक कामका लागि अगाडि तम्सिहाल्ने डा. सुरज पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य सुधारको क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । व्यक्तिगत जीवनमा नर्वेमा उनले जुन उचाइ प्राप्त गरेका छन्, त्यसलाई नेपालको मानसिक स्वास्थ्यको सबलीकरणमा पनि उत्तिकै योगदान दिदैँ आएका छन् ।

त्रिवि शिक्षण अस्पतालको मनसिक रोगको शैक्षिक पाठ्यक्रम समयानुकूल बदल्न सहयोग गर्ने, कान्ति बाल अस्पतालको भवन निर्माण सहयोग गर्ने, प्रत्येक वर्ष ओस्लो युनिभर्सिटी र आईओएमबीच साइक्रयाटिकका विद्यार्थी सिकाइ साटासाट गराउने गर्दै आएका छन् । ओस्लो युनिभर्सिटीमा नेपाली विद्यार्थीलाई पठनपाठनका लागि वातावरण बनाएर सहजीकरण गर्नेजस्ता काममा उनी सक्रिय छन् । उनकै सहयोगमा झण्डै ९० विद्यार्थी आईओएम र ओस्लो युनिभर्सिटीमा सिकाइ आदान—प्रदान कार्यक्रममा सामेल भइसकेका छन् ।

‘अहिलेसम्म झण्डै ९० जना नर्वेका विद्यार्थी नेपाल आएर सिक्ने र नेपालका विद्यार्थी नर्वे लगेर सिकाइ आदान—प्रदान गराउने काम भइसकेको छ,’ उनी भन्छन्, ‘त्यसबाहेक नेपालबाट गएर फेलोसिफ गर्ने र पिएचडी गराउने काम पनि भइरहेको छ ।’ पछिल्लो समय नेपालमा सामुदायिक मानसिक स्वास्थ्यका क्षेत्रमा पनि काम गर्न अघि बढेका छन् ।

त्यसको सुरुवात दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनलाई प्रस्तावना विन्दुको रुपमा आफूले लिएको बताउँछन् । ‘अब कम्तिमा पनि ६ महिनामा नेपालमा आएर यस सम्बन्धी काम गर्ने योजना बनाएको छु,’ डा. थापा भन्छन् ।

शिवपुरी माविदेखि ओस्लोसम्म

काठमाडौंको धापासीमा जन्मिएर बालुवाटारमा रहेको शिवपुरी माध्यामिक विद्यालयबाट वि.सं. २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका डा. सुरजले अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेका हुन् ।

सरकारी जागिरे बुबा र गृहणी आमाका पहिलो सन्तान रहेका डा. सुरजले चिकित्सा शिक्षा अध्ययन संस्थानबाट एमबीबीएस उत्तीर्ण गर्दा समेत नर्वेको कल्पना गरेका थिएनन् । इन्जिनियरिङ पढेका भाइले नर्वेमा पब्लिक हेल्थको स्नातकोत्तर पढ्न इच्छा राखेर आवेदन दिँदा भाइकै लहैलहैमा निवेदन दिएका थिए । संयोगबस भाइको नाम ननिस्किएर फुल स्कलरसीपमा उनको नाम निस्किएपछि नर्वेको यात्रा सुरु भयो ।

‘मलाई नर्वे जाने रहर थिएन, भाइले एप्लाई गर्ने इच्छा राखेपछि मलाई पनि भर्न भन्यो,’ सामाजिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा चितवन पुगेका डा. सुरजले हेल्थआवाजसँगको कुराकानीमा भने, ‘मेरो नाम निस्कियो । त्यही बेला पहिलोपटक नर्वे गए ।’

दुई वर्षे जनस्वास्थ्य विषय अध्ययन गरेपछि पनि उनको मन भने नर्वेमा अडिएन । नेपालले बोलाइरह्यो । अनि उनी फेरि नेपाल नै फर्किए । नेपालमा आएर पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीका विषयमा काम गर्न झापा, मोरङ्ग पुगे । ‘जनस्वास्थ्यको विद्यार्थी भएका नाताले उनीहरुको मानसिक समस्याहरु पनि देखेँ र कतिपयलाई काउन्सिलिङ पनि गरे,’ उनले सुनाए ।

एक वर्षपछि पुनः उनलाई नर्वेमै मानसिक समस्या सम्बन्धि नै पिएचडी गर्ने अवसर आयो । त्यसबेला मानसिक चिकित्सक हुन मानिसहरु त्यति मन पराउँदैन् थिए । तर, भुटानी सरणार्थीहरुसँग काम गर्दा उनीहरुमा देखिएको मानसिक समस्याका कारण फेरि उनले त्यो मौकालाई पनि सदुपयोग गरे । यस पटक भने उनलाई नेपाल फर्कनभन्दा पनि नर्वेमै करियर बनाउने सोच बढ्यो । नेपाल फर्कन देशमा चरम द्धन्द्ध चलिरहेको थियो । त्यतिवेलासम्म उनले नर्वेजियन भाषा पनि सिकिसकेका थिए । अझ उनलाई नर्वेले तान्नुको प्रमुख कारण त्यहाँको स्वास्थ्य र शिक्षाको निःशुल्क प्रणाली बन्यो ।

‘सबैलाई समान पहुँचसहितको निःशुल्क स्वास्थ्य र शिक्षाका कारण म नर्वेप्रति आकर्षित भएँ,’ उनी भन्छन्, ‘सबै मानिसलाई निःशुल्क स्वास्थ्य छ, जसले गर्दा काम गर्नलाई पनि आनन्द आउँछ ।’ विस्तारै साथीभाइ बन्दै गए । त्यहाँ काम गर्न चिकित्सकीय प्रमाणपत्र दिने परीक्षा दिए । नर्वेमा लाइसेन्स प्राप्त गर्ने पहिलो चिकित्सक पनि डा. सुरज बने ।

नर्वेको निःशुल्क स्वास्थ्य प्रणाली

नर्वेको स्वास्थ्य प्रणाली यस्तो छ, जहाँ एउटा चिकित्सकले एक दिनमा ४ देखि ५ जना बिरामी हेरे पुग्छ । नेपालमा दैनिक १०० जनासम्म बिरामी हेरेका उनका लागि सुरु—सुरुमा कम बिरामी हुँदा अचम्म नै लाग्थ्यो ।

‘नर्वे सरकारले स्वास्थ्य र शिक्षामा गरेको लगानी नेपालको कल्पनाभन्दा धेरै माथि छ,’ उनी भन्छन्, ‘त्यहाँ मेन्टल हेल्थलाई पनि उच्च प्राथमिकतामा राखिएको छ, फिजिकल र मेन्टल हेल्थसँगसँगै लगिएको छ ।’ नर्वेले शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गर्नुको कारण त्यहाँको आत्माहत्याको बढ्दो तथ्यांक पनि हो । त्यही भएर पछिल्लो समय नर्वेले समस्या र त्यसको समाधानमा आधारित भएर विद्यालयस्तरको शिक्षा प्रणाली विकास गरेको छ ।

विद्यार्थीहरुलाई सिकाइको विकास गराउने अवधारणाले अगाडि बढेको छ । मानसिक स्वास्थ्यको विषयलाई अन्य स्वास्थ्यका विषयसँगै प्यारालाल रुपमा अगाडि बढाइरहेको छ । डा. थापाको अनुभवमा उसले विद्यालयकै पाठ्यक्रमदेखि बच्चालाई काउन्सिलिङलगायतका कार्यहरुले सहयोग पु¥याउँछ । उनी नेपाल सरकारले पनि मेन्टल हेल्थलाई प्राथामिकता दिनुपर्ने मत राख्छन् ।

शारिरीक र मानसिक रुपमा मान्छे बिरामी भयो भने सरकारलाई समस्या हुन्छ । यो विषयमा नेपालले बाहीरी देशसँग सिक्नुपर्ने उनको सुझाव छ । नेपालले आफ्नो देशसँग मिल्दो र देशले धान्ने कुराको फ्लो गर्न सके मेन्टल हेल्थ प्रभावकारी बनाउन सकिन्छ । पछिल्लो समय पश्चिमा देशहरु नेपाललगायत पूर्वीय संस्कृतिको योग, ध्यान, जस्ता कुराहरु सिक्न खोजिरहेको तर नेपालले यसलाई फ्लो गर्न नसकिरहेका उनको बुझाइ छ । ‘हाम्रो संस्कार संस्कृति मानसिक समस्याको नियन्त्रणका लागि प्रभावकारी भनेर पश्चिमाहरु पछ्याउन थालेका छन्,’ उनी भन्छन्, ‘तर, हामी भने उनीहरुको क्षणिक उपचारको पछि कुदिरहेका छौं ।’

डा. थापालाई नर्वेको क्षमतावानलाई जिम्मेवारी दिन नहिच्किचाउने प्रणाली अति मन पर्छ । उनले आफ्नो क्षमताअनुसार जिम्मेवारी पाउनका लागि कही कतै सोर्स फोर्स लगाउनु परेन । ‘त्यहाँ हाम्रो जस्तो सोर्सफोर्स चल्दैन्,’ उनी भन्छन्, ‘योग्यता र क्षमता पुगेको छ र इच्छा राख्यो भने सहजै जिम्मेवारी पाउन सकिन्छ ।’

वर्षमा एक पटक नेपाल

नर्वेमा आफू स्थापित भएसँगै डा. थापा सन् २०११ देखि वर्षमा कम्तिमा एक पटक नेपाल आउने गरेका छन् । नेपाल छोडेर नर्वे जानु परेको पीडा भूल्नलाई पनि उनी नेपालसँगको साइनोलाई काममार्फत निरन्तरता दिदैँ आएका छन् । वर्षमा कम्तिमा एक पटक नेपाल आउने उनी आएको बेला मानसिक स्वास्थ्य सम्बन्धी छलफल गर्न सम्मेलन गर्ने, सिएमईहरु चलाउने र त्यही बेलादेखि त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताललगायत अन्य अस्पतालहरुलाई मानसिक स्वास्थ्य क्षेत्र सुधारका लागि फण्ड राइजिङ गर्ने काम गर्दै आएका छन् ।

अहिलेसम्म त्रिवि केन्द्रीय क्याम्पसबाट मात्र मानसिक विषयमा पिएचडी भइरहेकोमा आईओएमबाट पनि पिएचडी सुरु गर्नका लागि अध्ययन गर्दैछन् । यदि आईओएमबाट पनि सुरु भयो भने आफ्नो एउटा सपना पूरा हुने उनी बताउँछन् । ‘मैले एमबीबीएस पढेको क्याम्पस भएकाले पनि महाराजगञ्ज मेडिकल क्याम्पसप्रति मेरो लगाव धेरै छ,’ उनी भन्छन्, ‘यदि यहाँबाट पनि मानसिक रोगमा पिएचडी सुरु भए मेरो एउटा सपना पूरा हुन्छ ।’

अबका दिनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य प्रतिष्ठानसँग पनि काम गर्ने तयारी रहेको उनी बताउँछन् । उनलाई नर्वेमा आफूले पाएको अवसरले एउटा गौरवको अनुभूतिता गराउँछ नै त्यो भन्दा पनि ठूलो गौरव नेपालमा यस्ता थुप्रै काममा सहयोग गर्न पाउँदा लाग्ने गरेको अनुभव गर्छन् । ‘नर्वे गएर पढ्ने र काम गर्ने अवसर पाउनु आफैमा एउटा गौरवको कुरा छदैँछ,’ उनी भन्छन् ‘त्यो भन्दा पनि नेपालमा जति सहयोग गर्न सकेको छु त्यो खुसीको तुलना नै हुँदैन् ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ