२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरमा १ अर्ब लगानीमा ३०० शैय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दैं

जनकपुरमा १ अर्ब लगानीमा ३०० शैय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दैं

३० जना विशेषज्ञ चिकित्सक र १५९ जना नर्सिङ स्टाफसहित ३४५ जनाले रोजगारी पाउने


धनुषा—जनकपुरमा १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ३ सय शैय्याको बहुविशिष्टीकृत रविन्द्र मेमोरियल अस्पताल बन्ने भएको छ । गनिनाथ गोविन्द हेल्थ फाउण्डेसन प्रा.लि.ले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जनकपुर उपमहानगरपालिका—२३ बेलामा ३ सय शैय्याको अस्पताल स्थापना गर्नका लागेको हो ।

अहिले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा रहेकाले केही समयमै अस्पताल संचालनमा आउने अस्पतालका निर्देशक त्रिचन्द्र शाहले जानकारी दिए । ‘हामीले अस्पताललाई बैशाखबाट पूर्ण रुपमा संचालन गर्ने टार्गेटका साथ काम गरिरहेका छौं,’ निर्देशक शाहले भने, ‘अहिले भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ ।’ शाह यसअघि जानकी मेडिकल कलेजमा सेयर होल्डर थिए । त्यहाँबाट निस्केपछि उनीसहित ९—१० जनाको टिम रविन्द्र मेमोरियल अस्पताल संचालनमा ल्याउन लागेको हो ।

चार वर्षदेखि निर्माणका क्रममा रहेको यो अस्पताल जनकपुर चक्रपथबाट १ किलोमिटर बाहिर जनकपुर—जलेश्वर सडक खण्डमा बन्न लागेको हो । २१ रोपनी बढी क्षेत्रफलमा बनिरहेको अस्पताल सात तलाको छ । अस्पतालको कुल १०१६२.२ वर्ग मिटर क्षेत्रफलमध्ये अस्पताल भवनमात्रै ९३९. ३० वर्ग मिटरमा बनेको छ । अस्पतालमा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए)मा करबाहेक अस्पताल अनुमानित लागत १ अर्ब रुपैयाँ उल्लेख छ ।

मधेश प्रदेशलाई केन्द्रीत गरेर उच्चस्तरको गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ अस्पताल संचालनमा ल्याउन लागिएको निर्देशक शाहले जानकारी दिए । अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवासहित कार्डियोलोजी, गाइनोकोलोजी, न्यूरोलोजी, युरोलोजी, अर्थोपेडिक्स, रेडियोलोजी, डर्माटोलोजी, पेडियाट्रिक्स, जनरल मेडिसिन, जनरल सर्जरी, दन्त रोग, ईएनटी, छाती रोग, यौग रोग, आँखा रोगसहित सबै मल्टीस्पेसियालिटी सेवा उपलब्ध हुनेछन् । त्यसबाहेक अस्पतालले आधारभूत र आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउनेछ ।

अस्पताल संचालनमा आउँदा ३ सय ७४ जनाले रोजगारी पाउनेछन् । जसमा ३ सय ४५ जना कर्मचारी क्लिनिकल सेवाका लागि रहनेछन् भने १६ जना अस्पतालको व्यवस्थापन र १३ जना सहयोगी कर्मचारी रहनेछन् । अस्पतालको व्यवस्थापनमा मेडिकल निर्देशक १ जना, मेट्रोन १ जना, अस्पताल व्यवस्थापन अधिकृत १ जना, आईटी अधिकृत/सहायक ३ जना, बायोमेडिकल इन्जिनियर/सहायक ३ जना, मेडिकल रेकर्डर अधिकृत/सहायक ३ जना, अस्पताल वित्तिय व्यवस्थापक २ जना, स्टोर किपर १ जना र रिसेप्सनिष्ट १ जना रहेछन् ।

क्लिनिकलतर्फ २७ विद्याका ३० जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, ३६ जना नर्सिङ अधिकृत, ३ जना नर्सिङ सुपरभाइजर, १२० जना स्टाफ नर्स, पारामेडिकल स्टाफ/हे.अ. ३६ जना, फर्मासिष्ट ७ जना, प्रयोगशाला जनशक्ति ६ जना, एनेस्थेटिक सहायक १२ जना, डेन्टल हाइजिनिष्ट/डेन्टल सहायक ४ जना, एमओ/अप्ट्रोमेटिस २ जना, अप्लाल्मिक सहायक २ जना, मेडिको लिगल र फरेन्सिक सेवा १ जना, फिजियोथेरापिष्ट १२ जना, डाइटिसियन २ जना रहनेछन् । यसैगरी, हाउस किपर, सिएसएसडी, लाउण्ड्री, सुरक्षा, पलम्बर र इलेक्ट्रीसियन गरी १३ जना कर्मचारी रहनेछन् ।

सात तला रहने अस्पतालको सातौं तलामा अफिस, छैटौ तलामा वार्ड र पाँचौ तलामा पिआईसीयु वार्ड रहेनछ । यस्तै, चौथो तलामा एनआईसीयु, तेस्रो तलामा एमआईसीयु, आइसोलेसन रुम र डाइलाइसिस, दोस्रो तलामा एसआईसीयु र शल्यक्रिया कक्षहरु हुनेछन् । यस्तै, पहिलो तलामा प्रयोगशाला, ओपीडी, फिजियोथेरापी रहनेछन् भने भुँइतलामा इमर्जेन्सी, माइनर शल्यक्रिया कक्ष, इमर्जेन्सी आईसीयु, फार्मेसी, एक्टीभ डेलिभरी कक्ष रहने प्रतिवेदनमा उल्लेख छ । यसैगरी, बेसमेन्टमा पार्किङ, एक्स—रे, एमआरआई, सिटी स्क्यान, केमिकल तथा ड्रग स्टोर रहनेछ ।

अस्पतालले धनुषासँगै महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, सिन्धुली, उदयपुर र रौतहट जिल्लाका नागरिकलाई पनि गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्य राखेको छ । अस्पतालबाट स्थानीयस्तरमा स्वास्थ्य सेवा, रोजगारीका अवसर, आर्थिक गतिविधी वृद्धि, स्थानीय विकास र स्थानीय तहलाई राजस्व संकलनको अवसरजस्ता फाइदा पुग्ने प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशलाई लक्षित गरी स्थापना गर्न लागिएको अस्पतालमा भारतको जयनगर, बरतोल, मधुवनी, सोठगाउँ, रिवहर, बासोपट्टीलगायतका ठाउँबाट पनि बिरामीहरु आउने भएकाले स्थानीय इकोनोमीलाई चलायमान बनाउने अस्पताल व्यवस्थापनको आँकलन छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ