२०८२ साउन ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स

गाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स


चरिकोट—वैतेश्वर गाउँपालिका र पर्यटन व्यवसायी भक्तबहादुर तामाङको आर्थिक सहयोगमा वडालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर–१ को गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

वैतेश्वर गाउँपालिका र पर्यटन व्यवसायी भक्तबहादुर तामाङको आर्थिक सहयोगमा प्राप्त रकमबाट खरिद गरिएको एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष छवि लामाले वडाअध्यक्ष भीमबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष लामाले वडा तथा स्वास्थ्य चौकीको लागि एम्बुलेन्स अभाव देखेर एम्बुलेन्स ल्याउनको लागि महत्वपूर्ण भूमिका खेल्ने भक्त बहादुर तामाङलाई धन्यवाद दिँदै व्यवस्थित तरिकाले एम्बुलेन्स सञ्चालन गर्न वडालाई निर्देशन दिए ।

यसअघि वडा नम्बर–१ मा एम्बुलेन्स नहुँदा स्थानीयले महँगो शुल्क तिरेर अन्य सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा पर्यटन व्यवसायी तामाङले विदेशी साथीभाइहरुसँग चन्दा संकलन गरेको १५ लाख रुपैयाँमा गाउँपालिकाले १० लाख रुपैयाँ थप गरेर नेपाल सरकारको राजस्व छुटमा सुविधा सम्पन्न ख वर्गको एम्बुलेन्स ल्याइएको वडा अध्यक्ष तामाङले बताए । एम्बुलेन्स वडा तथा गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन गरिनेछ ।

गैरीमुदी स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज अमित यादवले वडामा एम्बुलेन्स नहुँदा यस अघि यहाँका बिरामीलाई अन्यत्र रेफर गर्न सवारी सधान खोज्नुपर्ने बाध्यता रहेको बताएका थिए । विशेषगरी, गर्भवती महिला तथा बिरामीले एम्बुलेन्स अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको इन्चार्ज यादवले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ