२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसरकार र अस्पताल लेनदेन लफडाले ३३ मिर्गौलाका बिरामीको अकालमा मृत्यु

सरकार र अस्पताल लेनदेन लफडाले ३३ मिर्गौलाका बिरामीको अकालमा मृत्यु


नेपालगन्ज—नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित डायलाइसिस सेवामा लापरवाही हुँदा ४ महिनामा ३३ जना मिर्गौला रोगका बिरामीहरुको मृत्यु भएको छ । नियमित रुपमा डायलाइसिस सेवा नपाउँदा साउनदेखि मंसिरको १२ गतेसम्म कोहलपुरमा डायलाइसिस गराउँदै आएका ३३ जना बिरामीको मृत्यु भएको हो ।

साउनमा १०, भदौमा १०, असोजमा ७ र कार्तिकदेखि मंसिर १२ गतेसम्म ६ जना गरी ३३ जनाको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भवनमा डायलाइसिस सेवा भएपनि डायलाइसिस सेवा भने बिरंग हेल्थ केयर भन्ने प्राइभेट कम्पनीले संचालन गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयबाट डायलाइसिस सेवा संचालन गर्ने ठेक्का पाएको बिरंग हेल्थ केयर र नेपालगन्ज मेडिकल कलेज ब्यवस्थापन पक्षबीचको विवादका कारण डायलाइसिस सेवा प्रभावित भई बिरामीहरुको मृत्यु हुने क्रम बढ्दै गएको डायलाइसिस सेवा नपाउँदा श्रीमान रवि थारुलाई गुमाएकी कोहलपुर बर्दहवाकी पुजा थारुले बताइन् ।

चिकित्सकहरुको सल्लाहअनुसार रविले कोहलपुरमा हप्तामा २ पटकसम्म डाइलाइसीस गराउँदै आएका थिए । वि.सं. २०७९ भदौंदेखि डायलाइसिस गर्ने मेसिन बिग्रिएका कारण समयमा डायलाइसिस गराउन नपाउँदा २४ वर्षीय रवि थारुको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एक सातादेखि डायलाइसिस सेवा बन्द छ । डायलाइसिस गर्ने ४ वटै मेसिन बिग्रिएपछि नियमित रुपमा डायलाइसिस गराइ रहेका ४४ जना बिरामीहरु समस्यामा परेका छन् । नियमित रुपमा डायलाइसिस सेवा नपाउँदा बिरामी र बिरामीका आफन्तहरु समस्यामा परे पनि मेडिकल कलेज ब्यवस्थापन स्वास्थ्य मन्त्रालय भने रमिते बनेका छन् ।

मिर्गौलाका बिरामीहरुलाई नेपाल सरकारबाट निःशुल्क उपचार सेवा दिने ब्यवस्था गरेको भए पनि बिरामीहरुले भने सहज रुपमा उपचार सेवा पाउन सकेका छैनन् ।

डायलाइसिस सेवा भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा संचालन हुँदै आएको बिमा सेवा बन्द भएपछि समस्यामा परेको कोहलपुरमा श्रीमतीको नियमित रुपमा डायलाइसिस गराउँदैं आएका टीकापुरका बुधराम थारुले बताए ।

समयमै डायलाइसिस गराउन नपाउँदा दाङ तुल्सीपुरका श्रीराम चौधरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । हात खुट्टाहरु सुनिदैं गएका छन्, हिडडुल गर्न समेत गाह्रो भइरहेको छ । हप्तामा २ पटक डायलाइसिस गराउनुपर्ने श्रीरामले २२ दिनदेखि डायलाइसिस गराउन पाएका छैनन् ।

सरकारले डायलाइसिस सेवा निःशुल्क हुने व्यवस्था गरेको छ । तर, डायलाइसिस सेवा राम्रोसँग संचालन हुन सक्दा बिरामीको मृत्यु हुने क्रम भने बढ्दै गएको छ ।

डायलाइसिस सेवा संचालन गरे बापत नेपाल सरकारले मेडिकल कलेजलाई उपलब्ध गराउने रकमको भुक्तानी लामो समयदेखि रोकिएका कारण रकमको अभावका कारण डायलासिस सेवा बन्द हुने अवस्था उत्पन्न भएको अस्पतालले जनाएको छ । नेपाल सरकारले एक पटक डायलाइसिस गरे बापत प्रति बिरामी २ हजार ५ सय, हेपाटाइटिस सी पोजेटिभ बिरामीलाई डाइलाइसिस गरे बापत प्रति बिरामी ४ हजार मेडिकल कलेजलाई भुक्तानी दिने गरी सम्झौता गरेको छ ।

तर, तीन वर्षदेखि मेडिकल कलेजले डायलाइसिस गरे बापतको रकम भुक्तानी पाएको छैन । सरकारबाट करिब ३ करोड रकम भुक्तानी नहुँदा डायलाइसिस सेवा बन्द हुने अबस्था उत्पन्न भएको मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए ।

बिग्रिएका डायलासिस मेसिनलाई मर्मत सम्भार गरेर संचालनका लागि प्रयास भई रहेको सहायक निर्देशक डा. कनोडियाले बताए । स्वास्थ्य मन्त्रालयबाट मेडिकल कलेजले डायलाइसिस गराए बापतको रकम नपाउँदा मेडिकल कलेजले डायलाइसिस सेवा संचालन गर्दै आएको बिरंग हेल्थ केयर प्रालिलाई रकम दिन सकेको छैन ।

मेडिकल कलेजबाट पाउनुपर्ने करिब ८६ लाख रकम नपाउँदा आर्थिक अभावका कारण बिग्रिएका मेसिनको मर्मत सम्भार गर्नसम्म नसक्ने अवस्था उत्पन्न भएर डायलाइसिस सेवा बन्द भएको संचालकको दावी छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ