२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा पित्तथैलीको शल्यक्रियाको पालो १० महिनापछि

भेरी अस्पतालमा पित्तथैलीको शल्यक्रियाको पालो १० महिनापछि

जनशक्ति भएपनि भौतिक पूर्वाधार र साधन-स्रोत अभावमा बिरामीलाई महिनौं कुर्नुपर्ने बाध्यता


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा दैनिक करिब ७ सयसम्म बिरामी उपचारका आउँछन् । अस्पतालमा बिरामीको शल्यक्रिया (अप्रेशन) गरेर उपचार गर्नका लागि कन्सल्टेन्ट सर्जन २३ जना छन् ।

अस्पतालले जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक कान घाटी रोगको अप्रेशन सहितको उपचार सेवा दिदैं आएको छ ।

अप्रेशन गर्ने कन्सल्टेन्ट सर्जनको संख्या पर्याप्त भएपनि अप्रेशन थियटर र पोष्टअप वेडलगायत अन्य पूर्वाधार नहुँदा पित्तथैलीको अप्रेशनका लागि बिरामीहरु १० महिना पालो पर्खन विवश छन् । अस्पतालमा हरेक आइतबार मात्रै पित्तथैलीका बिरामीको अप्रेशन हुन्छ ।

सिकिस्त बिरामीले पनि पित्तथैलीको अप्रेशनका लागि हार गुहार गर्दा पनि एक महिना पालो पर्खनु परेको बिरामीका आफन्त सल्मान राईले बताए । भेरी अस्पतालको अप्रेशन थियटरमा ५ वटा टेबल छन् । ती ५ वटा टेबलमध्ये करिब २ देखि ३ वटा टेवल शल्यक्रियासहितको प्रसुती सेवामा प्रयोग हुन्छ ।

बाँकी २ देखि ३ वटा टेबलमा जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक कान घाटी रोगका बिरामीको अप्रेशन हुन्छ । अप्रेशन थियटरमा बेडको अभाव भएका कारण पित्तथैलीको अप्रेशन गर्नुपर्ने कारण बिरामीले १० महिनासम्म पालो पर्खनुपर्ने अवस्था रहेको अस्पतालका जनरल सर्जन डा. हरिहर देवकोटाले बताए ।

भेरी अस्पतालमा चिकित्सकहरुको संख्या थपिदैं गएपनि त्यस अनुपातमा अप्रेशन थियटर, पोष्टअप वेडलगायतका साधन स्रोत र पूर्वाधार नहुँदा बिरामीहरु अप्रेशन सेवा पाउनका लागि महिनौंसम्म पालो पर्खन बाध्य छन् ।

बिरामीहरुलाई ‘१० महिनापछि तपाईंको अप्रेशनको पालो आउँछ’ भनेर भन्नु पर्दा डाक्टरहरुलाई पनि अप्ठ्यारो लाग्छ । तर, भौतिक पूर्वाधार र साधन स्रोत नहुँदा यस्तो अवस्था उत्पन्न भएको भनाइ चिकित्सकहरुको छ ।

भेरी अस्पताल परिसर नै करिब ३४ करोडको लागतमा २ सय ४० वेडको सुविधासम्पन्न भवन निर्माण भई रहेको छ । नयाँ भवनमा ३ वेड क्षमताको अप्रेशन थियटर निर्माण भएपछि बिरामीलाई पालो पर्खनुपर्ने समय केही हदसम्म घट्ने अस्पतालका प्रमुख डा. बद्री चापागाईले बताए ।

भेरी अस्पताललाई ५ सय बेडको अस्पताल बनाउने घोषणा गरिएको तीन वर्ष बिति सके पनि हाल १ सय ६२ वेड मात्रै संचालनमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ