२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुरक्षित गर्भपतन गर्ने किशोरीको संख्यामा वद्धि

सुरक्षित गर्भपतन गर्ने किशोरीको संख्यामा वद्धि


बुटवल—प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको तथ्याङ्गकले देखाएको छ । आर्थिक वर्ष २०७४/०७५ भन्दा गत आर्थिक वर्ष २०७५/७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो ।

प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको बुझाइ छ । गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५÷७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको संख्या वृद्धि भएको हुन सक्ने स्वास्थ्य जानकारहरुको बुझाइ छ ।

सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्याभन्दा ठूलो संख्यामा असुरक्षित र सामान्य मेडिकलहरुमा गर्भपतन गर्नेको संख्या रहेको छ । जुन मानवीय स्वास्थ्यका दृष्टिले उच्च जोखिममा पर्ने महिला तथा स्त्री रोग विशेषज्ञ डा. विवि राउत बताउँछन् । ‘स्वभावैले असुरक्षित गर्भपतन गर्नु हुँदैन् । जहाँ पायो त्यहाँ गर्भपतन गराउनु जोखिम हुन्छ । जनचेतना अभिवृद्धिबाट गर्भपतनलाई सुरक्षित बनाउनु पर्छ । गर्भनिरोधका साधनहरुको प्रयोगमा वृद्धि गुर्नपर्छ,’ डा. राउत भन्छन्, ‘त्यसो गरेमा बच्चा र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असरबाट बचाउन सकिन्छ ।’

प्रजनन् क्षमताको हिसावले गम्भीर मानिएको २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गर्ने गर्भपतनको अवस्थामा बृद्धि हुनु ठीक नहुने चिकित्सकहरुको भनाइ छ । यद्यपी सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि हुनुलाई भने सकारात्मक रुपमा हेनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रदेशमा सानो उमेर समूहका किशोरीहरुसँगै असुरक्षित गर्वपात गर्नेहरुको संख्या पनि ठूलै रहेको छ । असुरक्षित रुपमा हुने गर्भपतन कुनै रेकर्डमा नआउने हुँदा समेत संख्या ठूलो हुन सक्ने आँकलन गरिन्छ । अपरिपक्व उमेर तथा असुरक्षित गर्भपतनले प्रजनन स्वास्थ्यमा ठूला–ठूला समस्या देखापर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

‘गर्भपतनको अवस्था सकभर आउन दिनु हुँदैन् । अझ अपरिपक्व उमेरमै गर्भपतन गराउँदा पाठेघरमा गम्भीर समस्या उत्पन्न हुन्छ, त्यसले पनि सुरक्षित रुपमा आधिकारिक संस्थाबाट गर्वपतन गराउने गर्नुपर्छ,’ उनले भने ।

प्रदेशमा सुरक्षित गर्भपतन गर्नेहरुको संख्यामा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार २ सय ५९ जनाले सुरक्षित गर्भपतन गराएकामा गत आर्थिक वर्षमा भने त्यो संख्या घटेर १ हजार २ सय ९६ भएको छ । सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या घटे पनि गर्भपात गर्नेको संख्या नघट्दा असुरक्षित गर्भपतनतर्फ नै महिलाहरु जाने गरेका त छैनन् भन्ने आशंका निम्ताएको मनोविश्लेषक मनहरि पाण्डे बताउँछन् । पछिल्लो समयमा गर्वनिरोधका साधनहरुमा पनि मानिसहरुको पहुँच बढेकाले पनि गर्वपतनको संख्यामा कमी आएको हुन सक्ने उनको विश्लेषण छ ।

कानुनमा के छ ?

नेपालको संविधानको धारा ३८ को उपधारा २ मा प्रत्यक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्वन्धि हक हुनेछ भन्ने व्यवस्था छ ।

गर्भपतन सम्बन्धी कानुनले बच्चा जन्माउने वा नजन्माउने निर्णय लिने अधिकार महिलालाई सुम्पिएको छ । गर्भपतनले कानुनी मान्यता नपाउँदासम्म महिलाहरु अनिच्छित गर्भ रहँदा पनि बच्चा जन्माउन बाध्य थिए । कानूनी रुपमै सुरक्षित गर्भपतन सेवा सर्वसुलभ गराई, मातृ मुत्युदर र स्वास्थ्य सम्बन्धी जोखिम घटाउन मद्धत पुर्याएको जानकारहरु बताउँछन् ।

कानूनी व्यवस्था अनुसार सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीद्वारा गर्भवती महिलाको मञ्जुरीमा निम्न अवस्थामा गर्भपतन गर्न र गराउन पाइने भनिएको छ ।

कस्तो अवस्थामा कानुनी सजाय हुन्छ ?

गर्भवती महिलाको स्वीकृति बिना करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन दिई गर्भपतन गरेमा कानूनी कारवाहीको व्यवस्था छ । त्यस्तै भु्रणको लिङ्ग पहिचान गरी लिङ्गको आधारमा गर्भपतन गर्न कानुनले तोकेको अवस्था र अवधिबाहेक अन्य कुनै पनि अवस्थामा गर्भपतन गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो कार्य गरे ५ वर्षसम्म कैद बस्नुपर्नेछ भने ५० हजारसम्म जरिवाना तिनुपर्नेछ ।

मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

गर्भपतनको इतिहास

२०५९ असोज १० गते गर्भपतनलाई कानुनी मान्यता दिएसँगै सुरक्षित गर्भपतनको अवधारण लागू भएको मानिन्छ । २०६० असारमा सुरक्षित गर्भपतन सम्बन्धि राष्ट्रिय नीति पारित गरी गर्भपतनलाई थप व्यवस्थित गरिएको थियो । त्यस्तै २०६२ बाट नर्सिङ स्टाफद्धारा सुरक्षित गर्भपतन सेवाको सुरुवात गरेपछि गर्वपतन सेवा व्यापक भएको हो । २०६३ बाट १२ हप्तापछिको सुरक्षित गर्भपतन सेवाको सुरुवात भएको पाइन्छ । २०६५ बाट औषधिद्धारा गरिने गर्भपतन गर्न थालियो भने २०६६ बाट देशभर कै जिल्ला अस्पतालबाट गर्भपतन सेवा सुरुवात गरिएको थियो ।

गर्भपतनको जोखिम

नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको तथ्यांक छ । ३८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता दिएको छ भन्ने ज्ञान राख्दछन् बाँकी ६२ प्रतिशतलाई सुरक्षित गर्भपतनकाबारे ज्ञान नै नभएको बताइन्छ ।

अशिक्षित र कानुनी ज्ञान नभएका २० प्रतिशत र आर्थिक अवस्था कमजोर भएका ४२ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । एक सय गर्भवती महिलामध्ये ८ जनाले गर्भपतन गराउँछन् । कुल गर्भवतीमध्ये २५ प्रतिशत महिलाहरु चाहना विपरीत गर्भवती हुन्छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)