२०८३ वैशाख १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा

बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा


नेपालगन्ज—बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शय्याको ठाकुरबाबा आधारभूत नगर अस्पताल सञ्चालनमा आएको छ । शुक्रबारबाट ठाकुरबाबा नगरपालिका—३, नेउलापुर भवन निर्माणकार्य सम्पन्न पश्चात् नवनिर्मित भवनबाट आधारभूत नगर अस्पताल सञ्चालनमा आएको हो ।

नेपाल सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुरूप झन्डै ५ वर्षपछि नगरबासीलाई घर आगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने योजनाका साथ उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल २४ सै घण्टा आधारभूत तहको उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख तिलक राम शर्माले बताए ।

आधारभूत नगर अस्पताल निर्माणका लागि स्थानीय बासिन्दाहरूको सक्रियतामा झण्डै २ बिगाहा जग्गा व्यवस्थापन गरिएको थियो । जग्गाको व्यवस्थापन भएपछि मात्र नेपाल सरकारले नगर अस्पतालका लागि स्वीकृति प्रदान गरेको थियो ।

१२ करोड ८४ लाख लागतमा नगर अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए ।

बर्दिया जिल्लामै पहिलो पटक स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई औषधि वितरण गर्ने पालिकाका रूपमा ठाकुरबाबाले पहिचान बनाएको छ । हाल अस्पतालबाट तीन जना एमबीबीएस डाक्टरसहित ४७ जनाको जनशक्तिबाट सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेको ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगी (भावुक)ले बताए ।

निकट भविष्यमै दन्त सेवा र आँखा सेवासमेत थप गर्ने योजना छ । यी सेवाहरू थपिएपछि सरकारले तोकेको आधारभूत अस्पतालको पूर्ण मापदण्ड पूरा हुनेछ ।
ठाकुरबाबा नगरपालिकावासीसँगै छिमेकी पालिका बारबर्दिया, मधुवन नगरपालिका र छिमेकी प्रदेश सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको तेलपानी क्षेत्रबाट समेत गरी दैनिक १ सयदेखि १२५ जनासम्म बिरामीले अस्पतालमा उपचार सेवा लिइरहेका छन् ।

झन्डै ३ वर्षअघि भुरीगाउँमा रहेको नेउलापुर स्वास्थ्य चौकीको भवनबाट अस्थायी रुपमा सेवा सुरु भएको आधारभूत नगर अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, सर्पदंश उपचार सेवा, रेविज विरुद्धको खोपलगायत साप्ताहिक रुपमा विशेषज्ञ सेवासमेत प्रदान गर्दै आइरहेको छ । यो आर्थिक वर्षको चैत महिनासम्म ११ हजार ६ सय ७० जना बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।

भुरीगाउँ बजारदेखि झन्डै ३ किलोमिटर टाढा नेउलापुरमा रहेको नगर अस्पताल आवत—जावत गर्नका लागि निःशुल्क २ वटा अटो र एम्बुलेन्स सेवा व्यवस्था मिलाइएको छ ।

भवनसँगै पार्किङ, क्यान्टिनसमेत निर्माण भएको छ । अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटरसहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा, आँखा उपचार सेवासमेत सञ्चालनमा ल्याइने भएको छ । ठाकुरबाबा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष योगीले अस्पतालमा स्वास्थ्य बीमा गरेका बिरामीलाई समेत सेवा दिइरहेको बताए ।

हाल अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइरहेको छन् । निकट भविष्यमा एमडिजिपी चिकित्सकसहितको सुविधा दिने योजना रहेको छ । प्रत्येक हप्ताको शनिबार विशेषज्ञ सेवा दिने योजना रहेको अध्यक्ष योगीले बताए ।

आधारभूत नगर अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि सदरमुकाम वा नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । ४२ वटा कोठा र हलसहित ५० कोठा रहेको दुई तले नवनिर्मित भवनबाट सेवा शुभारम्भ भएपछि स्थानीय बासिन्दासंगै छिमेकी पालिकाका स्थानीयहरु पनि लाभाविन्त भएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ