काठमाडौं—नेपालमै पहिलो पटक शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधीबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब फेरिएको जानकारी दिए ।

अस्पतालका चिकित्सकहरुले १६ फागुनमा ती महिलाको टिएभीआई प्रविधीमार्फत मुटुको भल्ब प्रत्यारोपण गरेका थिए । ‘हामीले नेपालमै पहिलो पटक यो विधीबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भने, ‘उहाँ (बिरामी) निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ ।’ उनले यो जानकारी दिन पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए ।
टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ । डा. अधिकारीकाअनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ ।
‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कम्प्लीकेसनहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उनले भने, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’
सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।