२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकर्णालीका बालबालिकाको पौष्टिक पिठोमा ‘भिटामिन ए’ नै छैन, वितरणमा रोक

कर्णालीका बालबालिकाको पौष्टिक पिठोमा ‘भिटामिन ए’ नै छैन, वितरणमा रोक


काठमाडौँ –सरकारले कर्णालीका पाँच र सगरमाथाको सोलुखुम्बुसहित ६ जिल्लाका वालबालिकाका लागि वितरण गर्ने पोषिलो (पौष्टिक) पिठो गुणस्तरहिन पाइएको छ । ती जिल्लामा वषौंदेखि वितरण गर्दै आएको पौष्टिक पिठोमा भिटामीन ‘ए’ नभएको पाइएपछि कार्यक्रम अन्यौलमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षको बजेटबाट पिठो खरिद गरेको थियो । पहिलो चरणको परीक्षणमै भिटामीन ‘ए’ नपाएपछि वितरणमा रोक लगाएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले जानाकारी दिए । महाशाखाका अनुसार कर्णालीले खरिद गरेको पिठोमा मात्रै समस्या भएको हो ।

विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामीन ए नपाइएको केही महिना कार्यक्रम स्थगित हुन सक्ने अधिकारीहरुले बताए । ६ जिल्लाका लागि सरकारले ८ करोड रुपैयाँको पिठो खरिद गर्दै आएको छ । पोषण प्रमुख पराजुलीले समस्या आउँन नदिन तत्काल नयाँ खरिद प्रक्रिया अगाडी बढाउँन लागेको बताए ।

पौष्टिक पिठोको अभाव हुने
कुनै बेला तिब्बतमा अन्न निर्यात गर्ने कर्णाली क्षेत्र दशकौँदेखि राज्यले अनुदानमा दिने चामलबाट चाडबाड मनाउने अवस्थामा पुगेको छ । कर्णाली क्षेत्रमा कुपोषण व्याप्त छ । कुपोषणका कारण बाल मृत्युदर उच्च छ । यसैले बाल मृत्युदर घटाउन सरकारले त्यस क्षेत्रमा दुई दशकदेखि दुई बर्षसम्मका बालबालिका र गर्भवती महिलाका लागि पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सुरु गर्दै आएको छ ।

पौष्टिक पिठोको प्रयोग
पौष्टिक पिठो साधारण पिठोमा बिभिन्न भिटामिन मिसाएर बनाइएको हुन्छ । पौष्टिक पिठोले कुपोषणको कमी, एनिमिया, भिटामीन एबाट हुने समस्या, रतन्धो, वंशाणुगत जस्ता समस्या कम हुदै जान्छ । खाद्यान्नको कमिबाट हुने रोग समाधान गर्न राज्यले बर्षौ अगाडी देखि पोषिलो पिठो वितरण गर्दै आएको पराजुलीले बताए । कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा तथा सोलुखुम्बुमा पिठो वितरण गर्दै आएको छ ।

कर्णालीमा २० वर्षदेखि वितरण
अहिले देखिएको कुपोषणको कारण परम्परागत खाद्यान्नको प्रयोग नहुनु पनि हो । फापर, कोदो, जौ, मार्सी धान, रातो दाललगायतका खाद्यन्न उत्पादन हुने कर्णाली र सोलु क्षेत्रको स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न नसक्दा राज्यले हरेक वर्ष पौष्टिक पिठो खरिद गर्दै आउनु परेको छ । ‘सरकारले सोलुखुम्बुमा दश र कर्णालीमा वीसवर्षदेखि पौष्टिक पिठो वितरण गर्दै आएको छ । तर, गुणस्तरहिन पिठो खरिदले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेका छौं’ पराजुलीले भने । अहिले सम्म पुरानो स्टकले धानेकाले अभाव हुन नदिन शाखाले प्रयत्न गरेको उनले बताए ।

पिठो नेपालमा तयार, गुणस्तर मापन विदेशमा
पोषण शाखाका अनुसार नेपाल सरकार आफैले यो पिठो खरिद गर्दै आएको छ । तर, यसको वितरण र गुणस्तर मापनको काम भने विश्वखाद्य कार्यक्रमले गरेको छ । भिटामीन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामीन बी कम्प्लेक्स, क्याल्सियम मिसाएको पिठो नेपालमा बन्छ । यसरी तयार भएको पिठो प्रयोगमा ल्याउनु भन्दाअगाडि विश्वखाद्य कार्यक्रमले विदेशमा परीक्षण गर्छ ।

६ जिल्लाको बजेट ७७ जिल्लालाई
सरकारले पिठो खरिद ६ जिल्लाका लागि गर्छ । तर अर्थ मन्त्रालयले नबुझ्दा गत वर्षको बजेट (आठ करोड) ७७ जिल्लामा वितरण भएको थियो । अन्त्यमा सो बजेट महाशाखाले फिर्ता गरायो,तर काममा आउन सकेन । यस वर्ष भने केन्द्रमै बजेट राखिएको छ ।

कसरी खाने पिठो ?
पोषण प्रमुख पराजुलीका अनुसार गर्भवती महिला, २ वर्ष सम्मको बच्चा र सुत्केरी आमालाई यो पिठो खुवाइन्छ । यस्तो पिठो प्रयोग गर्ने ६ जिल्लाका २१ हजार जना रहेको सरकारी रेकर्ड छ । दुई वर्षको बच्चालाई पौष्टिक पिठो दिनको १०० ग्राम अर्थात महिनामा तीन किलो खुवाउनुपर्ने उनले बताए । प्रयोग गर्दा पानी, दुध वा खाना जेसंग खाएपनि हुन्छ । यो पिठो दुई वर्ष सम्म निरन्तर खाने हो ।
पोषिलो पिठो पाउँनका लागि गर्भवती महिला स्वास्थ्य संस्थामा जाँच गराउँन जानु पर्छ । स्वास्थ्य जाँच गराउँदा त्यस अवधिमा पिठोका लागि फम भर्ने हो ।

अब के हुन्छ ?
कर्णालीमा अहिले सम्म गतवर्ष बाँकी रहेको पिठो वितरण भइरहेको छ । ‘हामीले तत्काल खरिद प्रक्रिया अगाडी बढाउने योजनामा लागेका छौं’ पोषण प्रमुख पराजुलीले भने । आगामी चार महिनामा खरिद गरेर सम्बन्धित स्थानमा पुर्याउन सक्छौ की भनेर लागेका छौं’ उनले भने । सोलुमा पनि पुरानो स्टकले काम गरिरहेको छ । मुख्यतया हामीले खरिद गरि भिटामीन ए नभएको पिठो आगामी वर्षका लागि थियो । पिठोको एक वर्षको म्याद रहेको हुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ