२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा सर्पदंशका घटना बढ्दैं, वर्षा सिजन सुरु भएयता १८ जनाको मृत्यु

लुम्बिनीमा सर्पदंशका घटना बढ्दैं, वर्षा सिजन सुरु भएयता १८ जनाको मृत्यु


नेपालगन्ज—वर्षात सुरु भएसँगै तराईका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दैं गएका छन् । लुम्बिनी प्रदेशमात्रै वर्षा सिजन सुरु भएदेखि हालसम्म सर्पको टोकाइबाट १८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये १२ जना महिला र ६ जना पुरुष छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एसएसपी कृष्णबहादुर पल्लीमगरका अनुसार सर्पको टोकाइबाट दाङमा ७ जना, कपिलवस्तुमा ६ जना, प्युठानमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी बाँके, बर्दिया र नवलपरासीमा एक—एक जनाको मृत्यु भएको छ ।

यी मृत्युका विवरण त उपचारका लागि अस्पतालमा पुगेका बेला प्रहरीले संकलन गरेका घटना हुन् । गाउँ घरमै, अस्पताल लैजादैं गरेका बेलामा बाटैमा मृत्यु भएका कतिपय घटनाहरु त रेकर्ड नै न आएको पनि हुन सक्ने आँकलन अधिकारीहरुको छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरुमा विशेषगरी करेत, गोमन र रसेल्स भाइपर सर्पको टोकाइबाट धेरै मानिसहरुको ज्यान जाने गरेको छ ।

गोमन सर्पले बिहान उज्यालो हुने बेला, दिउँसोको मध्य घाममा र साँझ घाम अस्ताउने बेलामा बढी टोक्ने गर्छ भने करेत सर्पले राती सुतेका बेला विस्तारैमै गएर टोक्ने गरेको बिरामी र बिरामीका आफन्तहरुले बताएका छन् । त्यसैगरी, रसेल्स भाइपर सर्पले खेतवारीमा काम गर्ने, घाँस दाउरा गर्ने क्रममा टोक्ने गरेको भेरी अस्पतालका सर्पदंश विशेषज्ञ डा. कृष्ण आचार्यले बताए ।

सर्पदंशबाट बच्न खाली खुट्टा नहिड्न, रातीमा हिड्डुल गर्दा जुत्ता लगाएर टर्च बालेर हिड्न, सर्प घरभित्र छिर्न सक्ने प्वाँलहरु टाल्न, घर आगनमा दाउँरा, इट्टा, ढुंगा नथुपार्न र घर आँगन क्षेत्रमा घाँसपात झाडी नियमित रुपमा सफाई गर्न र राती सुत्दा झुल लगाएर खाटमा सुत्न विज्ञहरुले सुझाव दिदैं आएका छन् ।

पछिल्ला दिनहरुमा नेपालगन्जको भेरी अस्पताल, बर्दियाको गुलरिया जिल्ला अस्पताल, बाँकेको शमशेरगन्ज, दाङको लमही, कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्र र लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पले टोकेका धेरे बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् ।

सर्पले टोक्नासाथ बिरामीलाई उपचारका सर्पदंश उपचार केन्द्र वा नजिकको सरकारी अस्पतालमा पु¥याउन सके सर्पदंशले टोकेका बिरामीको ज्यान बचाउन सकिने सम्भावना धेरै हुने सर्पदंश रोग विशेषज्ञ डा. आचार्य बताउँछन् ।

सर्पले टोकेका बिरामीको उनीहरुमा देखिएका लक्षणका आधारमा उपचार गरिन्छ । अधिकांश घटनाहरुमा गोमन सर्पले टोकेको एक घन्टाभित्रै, करेत र रसेल्स भाइपरले टोकेको २/३ घन्टादेखि १०/१२ मा लक्षण देखिन्छन् । सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामीहरुमा लक्षण नदेखिए पनि १० देखि १२ घण्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । लक्षण देखिएमा उपचार सुरु गर्ने र नदेखिए डिस्चार्ज गर्ने गरिएको डा. आर्चायले जानकारी दिए । बिरामीको जटिलता हेरेर बिरामीलाई दुई हप्तासम्म आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ ।

मनसुन सक्रिय हुँदै जाँदा सर्पदंशका बिरामीको संख्या अझ बढ्न सक्ने देखिएको छ । तराईका जिल्लामा सर्पदंशको टोकाइबाट मृत्यु हुनेको संख्या कुनै महामारी जत्तिकै हुने गरेको छ ।

जनचेतना मात्र फैलाउन सक्ने हो भने केही हदसम्म सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या कम गर्न सकिने कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रका प्रबन्धक नवीन भण्डारीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ