२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सर्पदशंका विरामीले अस्पताल भरिभराउ, एक हप्तामा ४ जनाको मृत्यु

सर्पदशंका विरामीले अस्पताल भरिभराउ, एक हप्तामा ४ जनाको मृत्यु


विराटनगर—मोरङ सुन्दरहरैचा नगरपालिकास्थित १६ महिनाको दीपचन राय गत शुक्रबार दिउँसो खेल्दाखेल्दै जोडले चिच्याएको आवाज आयो । उनका बावु भोला तत्काल छोरा भएको ठाउँमा पुगेका थिए । त्यहाँ छोराको खुट्टाको गोलीगाँठबाट रगत बगिरहेको थियो । दायाँ, बायाँ हेर्न भ्याए, जहाँ भुँइमा छोराको नजिक सर्पको बच्चा उनले देखे । भोलाले छोरालाई सर्पले डसेको अनुमान लगाए र खुट्टामा केही माथि कपडा बाँधिदिए । छोराको छेउमा रहेको भोलाले सर्प पनि मार्न भ्याए र तत्काल विराटनगरस्थित कोशी अस्पताल छोरालाई पु¥याए ।

उनले छोरासँगै मारेको सर्प पनि लिएर आएका थिए । आकस्मिक वार्ड इन्चार्ज रघुनन्दन अधिकारीले सर्प हेरेपछि गोमन रहेको भन्दै बालकलाई ‘एन्टी स्नेक भेनम’ चढाउन सहकर्मीलाई सुझाए । छोरालाई लिएर आउने भोला प्रतिनिधि पात्र हुन् । उनी जस्तै अहिले वर्षासँगै आएको विभिन्न खोलाको बाढी बस्तीमा पसेर बिषालु सर्पको बिगबिगी बढेर डस्न थालेपछि कोशी अस्पतालमा सर्पले डसेका विरामी लिएर आउने संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढी र डुवानका कारण दुई हप्तादेखि सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको संख्या दैनिक रूपमा बढदै गएको इन्चार्ज अधिकारीले बताए । उनका अनुसार दैनिक २० देखि २५ जना सर्पले टोकेका विरामीहरू आउने गरेको जानकारी दिए । ‘वर्षा परेसँगै सर्प टोकेका विरामी अस्पताल आउनेको संख्यामा चाप छ,’ उनले भने । सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको अस्पतालले जनाएको छ । सर्पले डसेका विरामी लिएर सिमावर्ती क्षेत्र भारतदेखिका विरामी पनि कोशी अस्पतालमा आउने गरेका छन् । यस्तै मोरङ, सुनसरी, सिराहा र सप्तरीका विरामी पनि कोशी अस्पतालमा उपचारको लागि आउने गरेका छन् ।

एकसातामा सर्पले डसेका २ सयभन्दा बढी विरामी अस्पताल भर्ना भइसकेका छन् । तीमध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्पबाट बच्न चिकित्सकको सुझाव

वर्षाको मौसममा सर्तकता अपनाउनुपर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नुपर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।

‘सर्पले डस्ने बित्तिकै झारफूक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य गर्नु हुदैन,’ कोशी अस्पतालका डा. सङ्ज्ञा ज्ञावलीले भने, ‘सर्पले डसेको विरामीलाई लिएर जति चाँडो अस्पताल आउनु पर्दछ । सर्पले डसेपछि जति चाँडो अस्पताल आए विरामीको उपचार राम्रो हुन्छ ।’ सर्पले डसेको विरामीलाई चाडै अस्पताल ल्याउन सके बचाउन सकिने उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ