२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चर्को शुल्क खर्चेर निजीमा उपचार गर्न सर्बसाधारण बाध्य

चर्को शुल्क खर्चेर निजीमा उपचार गर्न सर्बसाधारण बाध्य


विराटनगर–आँखामा समस्या आएपछि मोरङको कानेपोखरी गाउँपालिका, ६ मुलगाउँकी माया गहतराज उपचारको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पुगिन । लाईनमा उभिएर टिकट लिएपछि काउन्टरका कर्मचारीले आँखाको उपचार गर्ने विशेषयज्ञ चिकित्सक नभएको जानकारी गराए ।

माया बाध्य भएर विराटनगरको निजी अस्पतलामा महँगो शुल्क खर्चेर उपचार गरेर गन्तब्यतर्फ लागिन् । ‘सस्तोमा उपचार हुन्छ भनेर सरकारी हस्पिटल आए,’ उनले भनिन्, ‘सरकारी हस्पिटलको अवस्था बेहाल रहेछ । लामो समयदेखि आँखाको उपचार गर्ने चिकित्सकको अभाव रहेछ । त्यही भएर निजी हस्पिटलमा उपचार गरे ।’

सस्तो शुल्कमा उपचार हुने भएकोले कोशी अस्पताल धाएर सम्बन्धित रोगको विशेषज्ञ चिकित्सक नभएर फर्किने माया मात्र एक्ली होइन् । दैनिक २०÷३० जनासम्म विरामीहरु फर्किने गरेका छन् । हस्पिटलमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको अभावमा सर्वधारणले महङगो शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य छन् ।

मेडिकल कलेजको रुपमा विस्तार गर्ने तयारीमा रहेको यस अस्पतालबाट सर्वसाधारणले चिकित्सक अभावमा प्रभावकारी सेवा प्राप्त गर्न सकेका छैनन् ।

कन्सल्ट्यान्ट चिकित्सकहरुको खडेरी
अस्पतालमा एघारौ, नवौ र आठौ तहका मेडिकल अफिसियर गरि ३६ जना डाक्टरहरुको दरबन्दी खाली छ । अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट डाक्टरहरुको भने खडेरी परेको छ । प्रमुख कन्सल्ट्यान्स फस्ट क्लास चिकित्सकका लागि एघारौ तहका १९ जनाको दरबन्दी भएपनि अहिले जम्मा ६ जना मात्र कार्यरत छन् । आँखाको विशेषज्ञ चिकित्सकसहितको १३ जनाको दरबन्दी बर्षौंदेखि खाली छ । कोशी अञ्चल अस्पताललाई प्रदेश १ को अस्पतालको रुपमा विकास गर्ने पहलसंगै वीर अस्पतालसंग सम्झौता गरेर यसै आर्थिक वर्षदेखि एमडि कोर्षको अध्ययन सुरु गर्ने अन्तिम तयारी थालिएको छ । तर, अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्स डाक्टरहरुको अभाव छ ।

अस्पतालमा एनेस्थेसिया, अर्थोपेडिक, डेण्टल सर्जन, फिजिसियन, जनरल सर्जन, अप्थोलोजिष्ट, प्याथोलोजिष्ट, वरिष्ठ अस्पताल नर्सिङ प्रशासन (मेट्रोन), ग्यास्ट्रोलोजिष्ट, नेफ्रोलोजिष्ट, प्रमुख कन्सल्टेन्स, मेडिकल ल्याव प्याथोलोजिष्ट र क्यान्सर रोग परिक्षक(एफएनएसि) पदका विशेषज्ञको दरबन्दी खाली छ । ती दरबन्दी बर्षौंदेखि खाली रहेको अस्पतालले जनाएको छ । अस्पतालमा जम्मा छ जना कन्सल्ट्यान्ट चिकित्सक मात्र छन् । ति मध्ये केही अन्य क्षेत्रमा काजमा खटिएका छन् ।

वरिष्ठ कन्सल्ट्यान्स तर्फ नवौ र दशौं तहको ४२ दरबन्दीमध्ये १९ जनाको दरबन्दी खाली छ । रेडियोलोजिष्ट, न्यूरोलोजिष्ट, युरोलोजिष्ट, न्युरो सर्जन, कार्डियोलोजिष्ट, कार्डियो सर्जन, नेफ्रोलोजिष्ट, डर्माटोलोजिष्ट, ग्यास्ट्रोलोजिष्ट, डेन्टल सर्जनको ३ दरवन्दीसहित १९ जना चिकित्सकको अभाव रहेको छ । मेडिकल अफिसर तर्फ चार जना र स्टाफ नर्स तर्फ ४ जनाको दरबन्दी अहिले पनि खाली रहेको अस्पतालका सूचना अधिकृत बिष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।

एघारौ, आठौ र नवौ तहका विशेषज्ञ डाक्टरको दरबन्दी अनुसारको काम नहुँदा उपचारमा समस्या आएको अस्पतलाका सुपरीडेन्डेन्ड डा. रोशन पोखरेलले बताए । अस्पतालमा अहिले रहेको विशेषयज्ञ चिकित्सकहरुबाटै सेवा प्रदान गर्दै आएको उनले बताए । ‘खाली रहेको दरबन्दीको लागि मन्त्रालयमा माग गरेका छौं,’ अहिलेसम्म पूर्ती भएको छैन ।’ रिक्त रहेको दरबन्दीको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत जानकारी गराएको उनले बताए । अस्पतालले विभिन्न समयमा राजनीतिक नेतृत्व तथा सरकारका मन्त्रीहरुलाई विशेषज्ञ सेवा प्रवाहकालागि जनशक्ती उपलव्ध गराइदिन आग्रह गर्दै आएको भएपनि पूर्ती गरेको छैन ।

दैनिक १५ सयको उपचार
प्रमुख कन्सल्ट्यान्टहरुको अभावमा कोशी अञ्चल अस्पताल अहिले रेफरल अस्पतालको रुपमा चलिरहेको छ । अस्पतालमा दैनिक सरदर १२ सय ५० बिरामीहरु स्वास्थ्य जाँचकालागि आउने गरेका छन् भने ३ सय ५० शैंयाका विभिन्न वार्ड सधैँ भरिभराउ हुने गरेको छ । अस्पतालमा प्रदेश सरकारले दक्ष चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी पठाउनको लागि अहिलेसम्म कुनै चासो नदेखाएको बताइएको छ ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ