२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ को नीति कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता

प्रदेश १ को नीति कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता


विराटनगर – प्रदेश १ सरकारले कोभिड-१९ महामारी नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारतर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा अघिल्लो वर्षझैं यसपटक पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालको गुरुयोजना तयार पारिने उल्लेख छ ।

अक्सिजन प्लान्ट, सघन उपचार कक्ष, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैय्या स्तरोन्नति गरिने नीति कार्यक्रममा उल्लेख छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेश प्रमुख अधिकारीद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेशद्वारा सञ्चालित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालका रूपमा रूपान्तरण गरिने प्रदेश सरकारको योजना छ ।

सबै माध्यमिक विद्यालयमा तालिमप्राप्त शिक्षक-शिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहसँग समन्वय गर्ने पनि घोषणा गरिएको छ ।

कोभिड महामारी र विविध प्रतिकुल परिस्थितिका बाबजुत प्रदेश गौरवको एक महत्वपुर्ण आयोजनाको रुपमा सुरु गरिएको घिनाघाट विराटचोक हरैचा सडक निर्माण तथा कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । प्रदेशका मुख्य परियोजनाहरूः ६२ बहुवर्षीय सडक योजना, ८७–मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल आदि केही सम्पन्न भइसकेका छन् भने अन्यको प्रगति उल्लेखनीय रूपमा अघि बढी चाडै सम्पन्न हुने क्रममा रहेको नीति तथा कार्यक्रममा उल्लेख  छ । सिचाइ क्षेत्रमा ४३ हजार हेक्टर जमिन सिंचित गर्ने अभियान बमोजिम करिब ५३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

कोभिडले स्वरूप परिवर्तन गरिरहेको र नयाँ जोखिम उत्पन्न भएको परिस्थितिमा विपद प्रतिकार्यको लागि प्रदेशको सबै अङ्ग र कार्यमा आवश्यक तत्परता समावेश हुने गरी योजनाको निर्माण गरिनेछ । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्वता’ भन्ने मुल भन्ने मुल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारसहितको व्यवस्था गरिने भएको छ ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीको स्तरोन्नति गरि प्रभावकारी सेवा संचालन गरिने, प्रदेशका प्रमुख स्थानमा रहेका अस्पताललाई विस्तार गरी रेफरल अस्पतालको रुपमा विकास गरिने, जिल्ला अस्पताल र रेफरल अस्पतालमार्फत टेली–मेडिसिन सेवा आरम्भ गरिने, समग्र स्वास्थ्य सेवा प्रणालीको पुनःसंरचना गरिने  र अनुगमन तथा मुल्यांकनको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुभव आदान प्रदान गर्न निजी स्वास्थ्य सेवा प्रदायकसँग साझेदारी गरिनेछ । राष्ट्रिय कार्यक्रमअन्तर्गत निर्माणाधीन अस्पताल, स्वास्थ्य केन्द्र लगायतको निर्माण र सञ्चालनमा शीघ्रता तथा स्तरीयताको लागि आवश्यक समन्वय र सहकार्य गरिनेछ।

पूर्वाञ्चल आयुर्वेद चिकित्सालयलाई प्रादेशिक अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गरिनेछ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयलाई क्रमिक रूपमा आर्युवेद अस्पतालमा स्त्तरोन्नति गरिने पनि उक्त कार्यक्रममा उल्लेख गरिएको छ  ।

आयुर्वेद स्वास्थ्य केन्द्र औषधालय तथा अस्पतालसँग समन्वय गरी स्थानीय जडीबुटीको उत्पादन तथा प्रशोधनको सम्भावनालाई प्रोत्साहित गरिनेछ । स्थापनाको क्रममा रहेको योगमाया आयुर्वेदिक अस्पतालसँगआयुर्वेदिक उपचारको साथै जडीबुटी उत्पादन र प्रशोधनको कार्यमा प्रदेश सरकारले आवश्यक सहकार्य गर्नेछ । होमियोप्याथिक तथा अन्य प्राकृतिक उपचार पद्धतिको विकास गरिने पनि उल्लेख गरिएको छ ।

प्रदेशका प्रमुख स्थानमा रहेका र सेवा सघनता भएका अस्पतालमा आई.सि.यू, सी.सी.यू, एच.डी.यू र भेन्टिलेटरसहित अक्सिजनको उत्पादन र भण्डारणको लागि भरपर्दो प्रवन्ध मिलाइनेछ । निजी स्वास्थ्य क्लिनिक, स्वास्थ्य–प्रयोगशाला, नर्सिङ–होम, अस्पताल तथा स्वास्थ्य केन्द्रमा हुनु पर्ने न्यूनतम सुविधा, संरचना र बिरामी तथा कुरुवाका लागि आवश्यक संरचनाको मापदण्ड बनाइ लागू गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, प्रदेशका अस्पतालमा सेवा क्षेत्रको सघनता हेरी पोस्टमार्टम गर्ने र मृत शरीरलाई सुरक्षित राख्ने आधुनिक शवगृहको व्यवस्था गरिने भएको छ । त्यसैगरी, पहाडी जिल्ला तथा दुर्गम ठाउँहरुमा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा पोष्टमार्टम गर्ने प्रवन्ध गरी शव गृह निर्माण कार्यलाई प्राथमिकतामा राखि अगाडी बढाइनेछ ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायतका अन्य नसर्ने रोगहरूको पहिचान गर्न प्रादेशिक अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यका दृष्टिकोणले संवेदनशील क्षेत्र, बाल-बालिका, महिला, अपाङ्ग तथा मनो-सामाजिक विमर्श लगायतका विषयमा स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्रसँग सहकार्य गरिनेछ ।

प्रदेश सरकारद्वारा निर्मित एवं संचालित कोशी कोभिड अस्पताललाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालमा रुपान्तरण गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने सिलसिलामा निर्माण गरिएका संरचनाको संरक्षण र नियमित सम्भारको प्रवन्ध गरिने उल्लेख गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ