२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेजले गेटमै रोक्यो

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेजले गेटमै रोक्यो


विराटनगर–विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बाहिर गएर विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिन थालेको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेजले पठनपाठनमा रोक लगाउने गरेको छ ।

कलेजले भने अनुसारको अतिरिक्त शुल्क नुबझाउदा बिहीबार कलेज जान खोज्दा प्रशासनले सुरक्षा गार्ड र बाहिरी मानिसहरु परिचालन गरेर विद्यार्थीलाई कलेज प्रवेश रोक लगाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा ११ पुसदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै बुधबारदेखि पठनपाठनमा रोक लगाएको थियो । कलेजले ११ पुसमा कक्षा सुरु गरेको तर १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने विद्यार्थीलाई जानकारी गराएको थियो । तर, अभिभावकको आग्रहमा तीन दिन पढ्न दिएपनि बुधबारबाट अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकेको हो ।

कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

नोबेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको मेडिकल कलेज हो । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा. शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । मुलुकको ऐन, नियम विपरित आफूहरुबाट शर्माले पैसा असुल्न खोजेको तर उनीविरुद्ध राज्यले कुनै एक्सन नलिएको भन्दै अभिभावकहरु आक्रोशित बनेका छन् ।

स्नात्तक तह (एमबीबीएस) पहिलो वर्षमा भर्ना हुन आएका विद्यार्थीहरुबाट कानुन विपरित अतिरिक्त शुल्क असुल्न खोजिरहेको नोबेलले शुल्क नबुझाउने विद्यार्थीलाई कक्षा प्रवेशमै रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा साताअघि भएको छलफलमा नोबेलले कुनै पनि अतिरिक्त शुल्क नदिने प्रतिबद्धता जनाएको थियो ।

प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ । ‘प्रशासनसँग छलफलमा कलेज प्रशासनले अतिरिक्त कुनै पनि शुल्क नलिने भनेको थियो,’ एमबीबीएस अध्ययनका लागि नोबेलमा भर्ना भएका एक विद्यार्थीले हेल्थआवाजसँग भने ‘तर, शुल्क नबुझाएको भन्दै हामीलाई कक्षामा प्रवेश नै दिइएन । यो कलेजको असुली धन्दा जस्तो भयो ।’

‘अरुलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै रोकिएको छ,’ ती विद्यार्थीले थपे ‘अस्पतालमा खटिएका सुरक्षागार्डसहितका व्यक्तिहरुले रोकेका हुन् ।’

विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजारलगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ ।

कलेजले लाखौं अतिरिक्त शुल्क नै तोकेर थप आर्थिक भार बोकाउने भएपछि विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन मोरङमा अघिल्लो आइतबार ज्ञापन पत्र बुझाएका थिए । गत साताको सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेल प्रशासनलाई छलफलमा बोलाएर अतिरिक्त शुल्क नलिन निर्देशन दिएका थिए । कलेज व्यवस्थापनका प्रतिनिधिहरुले अतिरिक्त शुल्क नलिने बताएका थिए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि राजधानीबाहिर तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्ष वापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले नोबेललाई बुझाइसकेका छन् । नोबेलले भने यसबाहेकका अन्य शुल्क नबुझाए कक्षा अघि नबढाउने भन्दै विद्यार्थीलाई निरन्तर दबाब दिइरहेको छ ।

बिहीबारसमेत कक्षामा विद्यार्थीलाई प्रवेश नदिएपछि अभिभावक र कलेज प्रशासनबीच छलफल भएको थियो । यद्यपि छलफलमा कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेले अतिरिक्त शुल्क बुझाउनैपर्ने अडान राखेको अभिभावकले बताएका छन् । ‘हामीले यो विषय किनारा नलागेसम्म कक्षा नचलाईदिन आग्रह ग¥यौं,’ छलफलमा सहभागी एक अभिभावकले भने ‘तर, उहाँहरु मान्नुभएन । उहाँहरु राज्यको नियम कानुनभन्दा माथि हो कि के हो ?’ शर्मा स्वामित्वको काठमाडौं मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क असुल्न विद्यार्थीलाई दबाब दिइरहेको भन्दैं विवादमा तानिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ