२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १३१ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा कोशी अस्पतालको एचडियु वार्ड बन्द

३१ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा कोशी अस्पतालको एचडियु वार्ड बन्द

चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बिरामी बाध्य


विराटनगर–पूर्वी नेपालको सबैभन्दा ठूलो विराटनगरस्थित कोशी अस्पतालको एचडियु वार्ड बन्द भएको छ । अस्पतालमा कार्यरत करारका ३१ जना स्वास्थ्यकर्मीहरूको म्याद थप नगरेपछि अस्पतालको एचडियु वार्ड बन्द भएको हो ।

१९ जना मेडिकल अधिकृत र १२ जना स्टाफ नर्सहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारको म्याद थप नगर्ने निर्णय गरेसँगै साउनदेखि कोशी अस्पतालको एचडियु वार्ड बन्द भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३१ असारको सचिवस्तरीय निर्णयबाट कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुमा संचालनमा आएको ६ सय ४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको लागि चालु आर्थिक वर्षको १ साउनबाट पारिश्रमिक उपलब्ध नगराइने निर्णय गरेको थियो ।

मन्त्रालयले गरेको उक्त निर्णय कोशी अस्पतालले कार्यन्वयन गरेर लैजादा ३१ जना स्वास्थ्यकर्मी, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्वीपर, ४ जना कार्यालय सहयोगी र १ जना इलेक्ट्रिसियन गरी ४१ जनाको करारको म्याद थप भएको कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

मेडिकल अधिकृत र स्टाफ नर्सको करार म्याद थप नगरेपछि कोशी अस्पतालको आईसीयुसँगै रहेको १२ शैय्याको एचडियु वार्ड जनशक्ति अभावका कारण बन्द हुन पुगेको हो ।

कोशी अस्पतालको एचडीयु वार्ड बन्द भएपछि आर्थिक अवस्था विपन्न भएका बिरामी चर्को शुल्क बुझाएर निजी हस्पिटलमा उपचार गर्न बिरामी बाध्य भएका छन् । कोशी अस्पतालमा दैनिक १ हजार रुपैयाँ शुल्क तिरेपछि एचडियु वार्डमा सेवा लिन सक्छन् । त्यही एचडियूमा राखेर उपचार गरेको निजी हस्पिटलमा ३ देखि ६ हजार रुपैयाँसम्म दैनिक बुझाउनुपर्ने अवस्था छ ।

करार म्याद थप नभएपछि जनशक्ति अभावले बन्द भएको कोशी अस्पताल भित्रको एचडियु वार्ड । तस्बिर : अनिल श्रेष्ठ

‘सरकारको निर्णयले बिरामीले सास्ती पाएका छन् । अहिले अस्पतालको एचडियु वार्ड बन्द भएको छ । जसले गर्दा विपन्न बिरामीलाई आर्थिक भार बढाएर लगेको छ । आईसीयुमा राखेको बिरामीको स्वास्थ्य सुधार हुँदै गएपछि एचडियुमा राखेर उपचार गर्ने गरेका थियौं । अहिले एचडियु वार्ड बन्द भएकोले आईसीयूमै राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा यसको प्रत्यक्ष मार्का बिरामीलाई हुन जान्छ,’ कोशी अस्पतालको आईसीयु वार्डमा रहेर उपचार गर्ने एक चिकित्सकले भने, ‘एचडियु वार्डमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सोझै जनरल वार्डमा सार्न पनि मिल्दैन् । त्यहाँ बिरामीलाई आवश्यक पर्ने उपकरण हुँदैन । त्यसैले बिरामीको बसाइँ आईसीयुमा लम्बिने गरेको छ ।’

यसले बिरामीलाई आर्थिक भार बढन जानुका साथै आईसीयुमा राखेर उपचार गर्नुपर्ने नयाँ बिरामीले पालो पाउन नपाउँदा निजीमा चर्को शुल्क बुझाएर उपचार गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

करारका जनशक्तिका आधारमा कोशी अस्पतालले आईसीयु सेवा २४ शैय्यामा विस्तार गरेको थियो । १ साउनदेखि स्वास्थ्यकर्मीको करार म्याद थप नभएर उनीहरू आउन छोडेपछि अहिले घटेर १० शैय्यामा खुम्चाइएको छ । अस्पतालको आइसियुमा बिरामी दैनिकजसो भरिएपछि निजी हस्पिटलमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । ‘एचडियुमा राखेर उपचार गर्ने बिरामीलाई पनि अहिले आईसीयुमा राखिएको छ । यहाँको एचडियु वार्ड बन्द छ,’ आईसीयु वार्डको उपचारमा खटिएका चिकित्सकले भने ।

कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मी र कर्मचारीहरूको करार म्याद थप नभएपछि जनशक्तिको अभाव भएको बताए । ‘स्वास्थ्यकर्मीहरूको अभाव भएकोले केही हदसम्म सेवा प्रवाहमा समस्या आएको छ,’ मेसु डा. खरेलले भने, ‘यस विषयमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार पनि गरी जानकारी गराएका छौं । अहिले भइरहेको सेवा प्रवाहको समस्या २ देखि तीन साता भित्रमा सहजता हुनेछ ।’

लोकसेवाले पनि परीक्षा लिइसकेकोले त्यहाँबाट आउने जनशक्ति र कोशी अस्पतालमा रिक्त रहेको जनशक्ति पदपूर्ति हुने मन्त्रालयबाट जानकारी आएकोले केही दिनभित्रमा सेवा प्रवाहमा सहजता आउने मेसु खरेलले बताए ।

कोशी अस्पतालको ओपीडीमा दैनिक ८ सयदेखि १ हजार जनासम्म बिरामी आउने गर्दछन् । जसमध्ये आईसीयुमा भर्ना गरेर उपचार गर्नुपर्ने एक दर्जन बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ