२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सेयरधनीको विवादले ५० शैय्याको संजीवनी हस्पिटल बन्द, ४० करोड बढी ऋण तिर्न बाँकी

सेयरधनीको विवादले ५० शैय्याको संजीवनी हस्पिटल बन्द, ४० करोड बढी ऋण तिर्न बाँकी

चिकित्सक र स्वास्थ्यकर्मीले मात्रै दुई करोड पारिश्रमिक पाउन बाँकी


विराटनगर—विराटनगरको हस्पिटल चोकमा रहेको ५० शैय्याको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बन्द भएको छ । आर्थिक रूपले पनि ‘टाट’ पल्टिने अवस्थामा पुगेको हस्पिटल बजारको ४० करोड रूपैयाँभन्दा बढी ऋण नतिरी बन्द भएको हो ।

४० करोडमध्ये दुई करोडभन्दा बढी रकम चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब हस्पिटलले तिर्न बाँकी रहेको छ । अहिले उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेको पारिश्रमिक दिलाइदिन माग राख्दै निवेदन दिएका छन् ।

के हो विवाद ?

चार जना चिकित्सकसहित १२ जनाको संजीवनी हस्पिटलमा लगानी छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भित्र्याएको चार महिना बित्न नपाउँदै हस्पिटल बन्द भएको हो । यादवले १ करोड रुपैयाँ लगानी गरेर वि.सं. २०७९ असारमा भित्रिएका थिए । उनी आएको पाँच महिनापछि कार्तिकमा हस्पिटल बन्द भएको हो ।

राजकुमार मण्डल, बिनायक कान्त पन्त, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देव, ओमप्रकाश प्रसाई, राजेश प्रसाई, सुरेन्द्र राय, रमेश साह र चन्द्रमणि गुरागाईसहित १० जना संचालकले ६ वर्ष अगाडि हस्पिटल लिएका थिए । त्यसबेला एम्स हस्पिटल नाम थियो ।
१० जनाको समूह आएपछि नाम परिर्वतन गरी संजीवनी हस्पिटल बनाइएको थियो । त्यसको बेलाको अध्यक्षमा राजकुमार मण्डल रहेका थिए ।

वि.सं. २०७८ सालमा दुई जना शेयर सदस्य थपिए । उनीहरू ७३ लाख रुपैयाँ लगानी गरेर अस्पतालमा भित्रिएका थिए । नयाँ संचालक थपिएसँगै कोभिड—१९ महामारी सुरु भयो । केही वर्ष राम्रो चलेको हस्पिटल कोभिड भित्रिएसँगै हस्पिटल घाटामा जान थालेको थियो ।

हस्पिटल घाटामा जान थालेपछि संचालकहरू स्वास्थ्य क्षेत्रमा बुझेका व्यवस्थापकको खोजीमा लागे । संचालकहरूमध्ये चार जना डाक्टर थिए । उनीहरूको आफ्नै क्लिनिक पनि रहेको छ । क्लिनिक छोडेर पूरै समय हस्पिटललाई दिन अन्य संचालकहरूले सुझाव दिएका थिए ।

आफ्नै क्लिनिक भएको कारणले उनीहरूले मानेनन् । चिकित्सकबाहेकका ९ जना संचालकले वि.सं. २०७९ असारमा सेयर रकम नलिइकन तीन जना चिकित्सक डा. अन्जु, डा. पवन र डा. वरुण देवलाई हस्पिटल जिम्मा लगाए । उनीहरूले नयाँ लगानीकर्ता खोजे । त्यही बीचमा दिवाकर यादव नयाँ लगानीकर्ताका रुपमा अस्पतालमा भित्रिए ।

त्यसपछि ९ जनाको टिम बाहिरियो । हस्पिटल छोडने बेलामा बजारको सम्पूर्ण दायित्व तिर्ने गरी डा. वरुण, डा. पवन, डा. अन्जु, दिवाकर र पुरानो ९ जनाको टिमबीच नेपाली कागजमा सहमति भयो । सहमतिमा पूरानो दायित्व तिर्ने सहमति थियो । जसमा पुरानो दायित्व ४० करोड रुपैयाँ बढी रहेको थियो । संस्थाको सम्पत्ति पनि उति नै थियो ।

हस्पिटल राम्रो चलोस् भनेर हस्पिटल छाडेको पुराना संचालकको ९ जनाको समूहले विभिन्न मितिमा बजारबाट खोजेर सापटी रकम करिब ३ करोड ८८ लाख रुपैयाँ हस्पिटललाई दिएको देखिन्छ । यो रकमपछि फिर्ता गर्ने गरी लिखत कागत बनाइएको छ । वि.सं. २०७९ साउन २४ गते ९ जनाको टिम बाहिरिएपछि हस्पिटल राम्रो चल्न थाल्यो ।

एक संचालककाअनुसार पूरानो ९ जनाको समूह बाहिरिएपछि मासिक करिब १ करोडसम्म अस्पतालले कारोबार गरेको थियो । दुई महिनापछि नयाँ संचालकका रुपमा अस्पतालमा भित्रिएका दिवाकार र तीन जना डाक्टरबीचको मतभेद् सुरु भयो । यही बीचमा दिवाकरमाथि फौजदारी कसुर गरेको आरोप लागेको छ । अहिले यो उजुरी मोरङ प्रहरीमा छ । दिवाकार फरार छन् ।

चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई करोड पारिश्रमिक पाउन बाँकी

अस्पतालले त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुको दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ । तर, उक्त पारिश्रमिक भुक्तानी नगर्दै आर्थिक संकटमा परेको संजीवनी हस्पिटल बन्द भएको छ । यहाँ कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृतसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब नदिइकन संचालकहरुले हस्पिटल बन्द गरेका छन् ।

हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुले चार महिनाको नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म संजीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्नेछ ।

हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरुको भनाइ छ । हस्पिटलले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशी शाखा र श्रम तथा रोजगार कार्यालय विराटनगरमा पनि निवेदन दिएका छन् । उनीहरूले यसअघि नै लामो समयदेखि संजीवनी हस्पिटलमा काम गरेवापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनवाई नभएको भन्दै संघमा निवेदन दिएका हुन् ।

‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा आज दिन्छौं । भोलि दिन्छौं भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिइएको छैन । हाम्रो माग सुनवाई नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रुपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ