२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा ‘मायोपिया’को जोखिम बढ्दै

डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा ‘मायोपिया’को जोखिम बढ्दै


विराटनगर—डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा ‘मायोपिया’को जोखिम बढ्दैं गएको विज्ञहरुले बताएका छन् । शुक्रबार नेपाल नेत्रज्योति संघअन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न ‘मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागी विज्ञहरुले उक्त धारणा राखेका हुन् ।

उनीहरुले डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वमा नै ‘मायोपिया’को जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा उक्त कार्याशाला गोष्ठीमा आयोजना गरिएको थियो । विज्ञहरुले सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ । पहिलेदेखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने विज्ञहरु बताउँछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर, मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारी मायोपियाबाट बालबालिकाहरुलाई मोबाइलको प्रयोगबाट जोगाउने, दैनिक कम्तिमा २ घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरुपमा आँखा जाँच गराउनु पर्ने बताउँछन् ।

कार्यशाला गोष्ठीमा एल.भी. प्रसाद आई इन्स्टिच्युट, हैदरावाद भारतका डा. पवन भेर्किचर्ला र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा. पवन श्रेष्ठ तथा डा. अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ