काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधिसभाका उम्मेदवार बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरिएको ‘झापा—५ बाचा पत्र’मा बालेनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शय्यामा स्तरोन्नती गरिने जनाएका छन् ।
रास्वापाले भावि प्रधानमन्त्रीका रुपमा अगाडि सारेका उनले ‘झापा—५ बाचापत्र’मा स्वास्थ्यका ८ बुँदा समेटेका छन् । जसमा उनले गरिब तथा विपन्न परिवारको स्वास्थ्यको अधिकार व्यवहारमै सुनिश्चित गर्ने, विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्ने उल्लेख गरेका छन् ।
यस्तै, बालेनले झापा ५ लागि अगाडि सारिएको आफ्नो बाचापत्रमा ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने, स्वस्थ खानेपानी सुनिश्चित गर्ने, फरक क्षमता भएका र जेष्ठ नागरिकलाई लक्षित गरी घरघरमा स्वास्थ्य सेवा कार्यक्रम र निःशुल्क स्वास्थ्य सेवाका लागि नीतिगत व्यवस्था गर्ने उल्लेख छ ।
बालेनले २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चितताका लागि नीतिगत सुधार गर्ने र अपांगता पुनस्थापना केन्द्र निर्माण गरी संचालनमा ल्याउने बताएका छन् ।
