२०८२ चैत्र २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन

१ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन

१५० बढीलाई रोजगारी, आयात प्रतिस्थापन गर्ने दाबी


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब बढीको लगानीमा ‘एलेक्सा लाइफ साइन्सेज’ नामक सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ । शुक्रबार अन्तर्राष्ट्रिय मापदण्डको उक्त उद्योगको बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले एक विशेष समारोहबीच औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले स्थापित ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगले केही समयअघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ । उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले पाँच वर्षको निरन्तर अध्ययन र योजनापछि यो उद्योग सञ्चालनमा ल्याएका हुन् । जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन सुरु गरिएको सञ्चालकहरूले दाबी गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए । ‘स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो । गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिन सके देशलाई ठूलो योगदान पुग्नेछ,’ उनले भने ।

उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मको सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधिहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।

‘हाम्रो मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु हो,’ ठाकुरले भने, ‘तर, सलाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहनु परेको छ ।’ उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्ने तर्फ ध्यानाकर्षण गराए ।

‘एलेक्सा लाइफ साइन्सेज’ले हाल १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको यस उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानी र उत्पादन गर्ने यो नेपालकै अग्रणी कम्पनी हुने दाबी गरिएको छ ।

नेपालमा औषधि बजारको ठूलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका बेला ‘एलेक्सा लाइफ साइन्सेज’को सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन् । यसले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ