२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकोभिड-१९ का बिरामीको उपचार वापत सरकारबाट निजी अस्पतालले लिए २९ करोड ८० लाख

कोभिड-१९ का बिरामीको उपचार वापत सरकारबाट निजी अस्पतालले लिए २९ करोड ८० लाख


काठमाडौं–कोभिड–१९ संक्रमणको पहिलो वेबमा कोभिडका बिरामीको उपचार गरेवापत सरकारले निजी स्वास्थ्य संस्थाहरुलाई २९ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारको शोध भर्नावापत १९ वटा निजी मेडिकल कलेज एवं अस्पताललाई २९ करोड ८० लाख ४६ हजार ५ सय रुपैयाँ शोध भर्ना वापत दिएको हो ।

हेल्थआवाजले सूचनाको हक प्रयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त विवरण प्राप्त गरेको हो । मन्त्रालयकानुसार कोभिड–१९ का बिरामीको उपचार गरेको संख्या (केस) एवं बिरामीको प्रकृतिको आधारमा उक्त रकम निजी अस्पतालहरुलाई भुक्तानी दिइएको हो । मन्त्रालयले कोभिडका सामान्य बिरामीको उपचार वापत दैनिक ३५ सय, मध्यम खालका बिरामीको ७ हजार र गम्भीर खालका बिरामीको १५ हजार रुपैयाँ तोकेको थियो ।

हेल्थ आवाजले भुक्तानी लिएका मध्ये कुन अस्पताल कोभिड–१९ भएको कस्ता प्रकृतिका कति बिरामीको उपचार गर्ने भन्ने विवरण पनि मन्त्रालयसँग मागेको थियो । तर, मन्त्रालयले उक्त पूर्ण विवरण भने हेल्थआवाजलाई उपलब्ध गराउन सकेन । मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजलाई गरिएको भुक्तानीको समग्र विवरण मात्र हेल्थआवाजलाई उपलब्ध गराएको छ ।

जसमा १ निजी मेडिकल कलेजले ८ करोडभन्दा बढी भुक्तानी लिएको छ । अन्य ६ निजी अस्पताल एवं मेडिकल कलेजहरुले २ करोडभन्दा बढी रकम कोभिड-१९ का बिरामीको उपचार गरेवापत शोध भर्ना लिएका छन् भने ४ वटा निजी अस्पताल एवं मेडिकल कलेजले १ करोडभन्दा बढी शोध भर्ना लिएका छन् ।

पहिलो लहरमा कोभिड-१९ का बिरामीको उपचार गरेवापत सबैभन्दा बढी चितवन मेडिकल कलेजले भुक्तानी लिएको छ । उसले चार चरणमा गरी ८ करोड ८० लाख ७४ हजार रुपैयाँ शोध भर्ना लिएको हो ।

यस्तै, विराटनगर अस्पताल, मोरङले ३ करोड ४८ लाख १५ हजार, मेघा अस्पताल ललितपुरले २ करोड ७ लाख २९ हजार, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर २ करोड १६ लाख ५९ हजार, धुलिखेल अस्पतालले २ करोड १२ लाख ४ हजार, सर्वाङग स्वास्थ्य सेवा केन्द्र ललितपुरले २ करोड १० लाख १२ हजार रुपैयाँ शोध भर्नाको भुक्तानी लिएका छन् ।

यस्तै, नेपालगन्ज मेडिकल कलेज १ करोड ८६ लाख ८६ हजार, जनमैत्री अस्पताल १ करोड ५४ लाख १६ हजार ५ सय, नेपाल मेडिकल कलेज १ करोड २९ लाख ८ हजार, नेशनल मेडिकल कलेज १ करोड ४४ लाख ८५ हजार रुपैयाँ कोभिड बिरामीको उपचार गरेबापत मन्त्रालयबाट शोध भर्ना लिएका छन् ।

चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजले ७३ लाख ९४ हजार, लुम्बिनी मेडिकल कलेजले ५० लाख ९० हजार, किष्ट मेडिकल कलेजले २४ लाख ९८ हजार ५ सय, नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेसन काठमाडौंले २८ लाख १० हजार ५ सय, स्पाइनल इन्जुरी संघ नेपाल काभ्रेले २६ लाख ५२ हजार, शीर मेमोरियल अस्पतालले ८ लाख १ हजार, खांग्री इन्टरनेशनल हस्पिटलले १५ लाख, नोबेल मेडिकल कलेजले ६२ लाख ६२ हजार र देवदह मेडिकल एण्ड रिसर्च इन्स्टिच्युटले ३० हजार रुपैयाँ मन्त्रालयबाट शोध भर्ना लिएका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ