२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टसरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य: सबै प्रदेशमा विशिष्टीकृत सेवासहितको अत्याधुनिक अस्पताल

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य: सबै प्रदेशमा विशिष्टीकृत सेवासहितको अत्याधुनिक अस्पताल


काठमाडाैं-सरकारले सातवटै प्रदेशमा विशिष्टीकृत सेवासहितको अत्याधुनिक अस्पताल बनाउने भएको छ । सरकारको नीति तथा कार्यक्रममा सातवटै प्रदेशमा एक अस्पतालबाट विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गर्ने उल्लेख गरिएको छ ।

उक्त अस्पताल निर्माण गरेपछि विशिष्टीकृत स्वास्थ्य सेवाका लागि काठमाडौँ आउनुपर्ने बाध्यताको अन्त्य गरिने सरकारको योजना छ । यस्तै तीन वर्षभित्र सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चालनमा ल्याइनेसमेत कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा वीरअस्पताललाई अन्तर्राष्ट्रिय गुणस्तरका सबै विशिष्टीकृत सेवासहितको उत्कृष्टताका केन्द्रको रूपमा विकास गरिने उल्लेख गरिएको छ । सरकारले आगामी आवमा भक्तपुरको दुवाकोटमा वीरअस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु गरिने जनाएको छ ।

यसैगरी आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने उल्लेख गरिएको छ । स्वास्थ्य बीमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइनेछ । यस्तै आगामी आवभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ । सबै स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

प्राथमिक अस्पतालमा टेलिमेडिसिन तथा दूरचिकित्सा शिक्षा पद्धतिमार्फत् २४ घण्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ । यसैगरी केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रका रूपमा स्तरोन्नति गरिनेछ । नीति तथा कार्यक्रममा महिलामा बढ्दो सर्भाइकल क्यान्सर र स्तन क्यान्सरजस्ता रोगको शीघ्र पहिचानको लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सरविरुद्ध खोप कार्यक्रम कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ ।

यस्तै पश्चिम तराईमा स्वास्थ्य समस्याको रूपमा रहेको सिक्कलसेल (एनिमिया)रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गर्दै लामखुट्टेको टोकाइबाट फैलिने रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चालिने उल्लेख गरिएको छ । यसैगरी समाजमा रहेका दाइजो, तिलक, बालविवाह, छुवाछूत र छाउपडीजस्ता कूरीति र कुप्रथा अन्त्य गर्न सचेतनामूलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

असहाय, बेवारिसे, सङ्क्रमित र आश्रयहीन बालबालिकालाई संरक्षण र हेरचाह गर्नेछ, सक्षम नागरिक बनाई रोजगारीका अवसर उपलब्ध गराइने उल्लेख गरिएको छ । सबै प्रकारका हिंसाको अन्त्य गरी बालबालिकाको जीवनलाई सुरक्षित बनाइने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र

यसैगरी ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने उल्लेख गरिएको छ ।

उद्धार र संरक्षण गरी कुनै पनि बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्ति सडकमा रहनु नपर्ने व्यवस्था मिलाइनेछ । अपाङ्गता भएका व्यक्तिका लागि क्षमता विकास र रोजगारीका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

शारीरिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र मनोरञ्जनका लागि उपयुक्त खेल परिसर र सुविधाको प्रबन्ध गरिनेछ, मनोबल बढाइने, दक्ष र सक्षम बनाउन शिक्षा र तालीमको व्यवस्थासमेत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ