२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश१७ वर्षदेखिका एम्बुलेन्स चालक देवीलाल, जसले गरे कोरोना संक्रमितको शव व्यवस्थापन

१७ वर्षदेखिका एम्बुलेन्स चालक देवीलाल, जसले गरे कोरोना संक्रमितको शव व्यवस्थापन


धनगढी–विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड—१९) संक्रमित उपचारमा संलग्न चिकित्सक नै त्रसित छन् । त्यसमा पनि कोरोनाका कारण मृत्यु भएकाहरुको शव छुन जो कोहीले चाहँदैनन् र आँट गर्दैनन् पनि ।

तर, गत जेठ ३ गते साँझ कोरोनाका कारण सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको गोदावरी नगरपालिका—१ का बस चालक तथा व्यवसायी ४६ वर्षीय पुरुषको मृत्यु भयो । ३ जेठको साँझ उनको मृत्यु भएपनि ४ जेठमा उनको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्नुपर्ने थियो । मृत्यु भएका पुरुषको शव परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुनसमेत धेरै हिचकिचाए । कसैले पुरुषको शव बोक्न मानेन् ।

धनगढीमा रहेका एम्बुलेन्सले शव उठाउन मानेनन् । तर, नेपाल रेडक्रस सोसाइटी कैलालीमा १७ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका देवीलाल ओझा तयार भए । उनले उचित स्वास्थ्य सर्तकतासहित व्यवस्थित ढंगले शवलाई मोहना घाटसम्म पु¥याए । सुदूरपश्चिममा अस्पतालबाट मोहना घाटसम्म पु¥याउने काम गरेसँगै सामाजिक सञ्जालमा उनको प्रशंसा हुनुका साथै हौसला बढाउने काम भइरहेको छ ।

३ जेठमा मृत्यु भएका ती पुरुष्को शव व्यवस्थापनका लागि मोहना घाटसम्म लैजान समस्या थियो । सेनाले विभिन्न ठाउँहरुमा आग्रह गर्दा पनि कोही तयार भएनन् । कुनै विकल्प नपाएपछि सेनाले नेपाल रेडक्रस सोसाइटी कैलालीसँग सहयोग माग्यो । रेडक्रससँग एम्बुलेन्स र शववाहन थियो । चालक पनि दुई जना थिए । एकजना चालक बाहिर भएका बेला त्यहाँ नजिकै रहेका अर्का चालक देवीलाल ओझा तयार भए ।

उनी सेती प्रादेशिक अस्पतालको शव गृहमा पुग्दा सेनासहित तीनै तहको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । उनी त्यहाँ पुग्दासम्म कसैले शव उठाउने प्रयास पनि गरेका थिएनन् । नेपाली सेनाको टोली पनि उनकै पर्खाइमा थियो । शव गृहमा पुग्दासम्म शव पहिल्यै ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरिसकिएको थियो । उनी पुगेपछि सेनासँगै शवलाई गाडीमा राख्न अग्रसर भए ।

डेढ दशकदेखि एम्बुलेन्स चलाउँदा उनले हजारौं बिरामी बोकिसकेका थिए । तर, कोरोनाको संक्रमणका कारण मृत्यु भएकाको शव बोकेका थिएनन् । सुरुमा उनी हिच्चकिचाए तर पनि पछि सोचे यति लामो समयसम्म बिरामीहरुको सेवा गरे । मृतकका परिवारलाई शव अन्त्येष्टीमा सहयोग गरे । कस्तो—कस्तो मनमा लागिरहेकै बेला अन्तिम निर्णयमा पुगे यत्रो वर्ष सेवा गरे । अहिलेको यस्तो आपतकालीन अवस्थामा नाइ कसरी भन्ने ?

सेनासँगै लागेर कोरोनाले मृत्यु भएका पुरुषको शवलाई शव वाहनमा राखियो । गाडी रफ्तारमा मोहना घाटमा पुग्यो । सेनाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन । तर, शवको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले देवीलाल ओझा विचलित भएनन् । शवलाई गाड्नुपर्ने थियो । त्यहाँ पनि सेनासँगै अग्रसर भए उनी । छेउमा झोक्राएर मृतकका आफन्त र छोराछोरीहरु थिए, आँशु झारिरहेका । उनले पनि टिपपिल भएर खस्न खोजेका आँशु दबाए । मृतकका आफन्तले शव व्यवस्थापनसम्म टुलुटुल हेरि मात्र रहे ।

शव व्यवस्थापन सकिएपछि उनी फर्किए । अहिले उनी नेपाल रेडक्रस सोसाइटी कैलालीको व्यवसायिक भवनमाथि रहेको गेष्ट हाउसमा  १० दिनदेखि क्वारेन्टाइनमा छन् । चार दिन अझै त्यही बिताउनेछन्, ओझा । त्यसपछि उनी घर जाने योजनामा रहेका छन् । यो अवधिमा उनले कसैलाई भेटेका पनि छैनन्, गेष्ट हाउसको एक कोठामा एकान्त बासमै बसेका छन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी पहिला झै विरामीहरुको उद्धारमा सक्रिय हुनेछन । भन्छन्, ‘कोरोना संक्रमितको उद्धार र व्यवस्थापनमा खटिन्छु ।’ शव व्यवस्थापनमा देवीलालले जुन साहस देखाए, त्यो साहसलाई सबैले सलाम गरेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ