२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूपश्चिममा ९ प्रतिशतले मात्रै गराए स्वास्थ्य बिमा

सुदूपश्चिममा ९ प्रतिशतले मात्रै गराए स्वास्थ्य बिमा


कैलाली—स्वास्थ्य बीमा २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलाली र बाग्लुङ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य बीमाको कार्यक्रम नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा ९ प्रतिशत नागरिक मात्रै सहभागी भएका छन् ।

स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याई स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्युनीकरण गर्दै स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित होस् भन्ने उद्धेश्यले नेपाल सरकारले ल्याएको बृहत सामाजिक साझेदारी कार्यक्रम हो ।

योगदान रकममार्फत जोखिम व्यवस्थापन व्यक्ति, समुदाय र सरकार प्रत्यक्ष संलग्न भई गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको वकालत हो ।

सुदूरपश्चिम प्रदेशमा २ लाख ३२ हजार ५ जनाले स्वास्थ्य बिमा गराए

२०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमाको कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशमा २ लाख ३२ हजार ५ जनाले स्वास्थ्य बिमा गराएका छन ।

जुन नेपालको अनगणना २०६८ अनुसार ९ प्रतिशत मात्रै हो । स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत कैलालीमा सबैभन्दा बढी १ लाख ३० हजार ४ सय २७ जनाले स्वास्थ्य बिमा गराएका छन भने सबैभन्दा कम दार्चुलामा ४ हजार ८ सय ६५ जनाले स्वास्थ्य बिमा गराएका छन ।

त्यस्तै बझाङमा २८ हजार ७९ , बाजुरामा २६ हजार ३ सय १३ , अछाममा २४ हजार ४ सय ७३, बैतडीमा १० हजार ९ सय ४३ र कन्चनपुरमा ६ हजार ९ सय ५ जनाले स्वास्थ्य बिमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक जनकबहादुर साउँदले बताए । उनले छिट्टै सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बाँकी रहेका जिल्ला डोटी र डडेल्धुरामा पनि कार्यक्रम संचालन गरिने बताए ।

‘कार्यक्रम संचालनका लागि डडेल्धुरा र डोटीमा दर्ता सहयोगी छनोट गर्ने काम अहिले चलिहरेको छ । प्रत्येक वडामा एक जना दर्ता संयोजक राखिने छ,’ कार्यक्रम संयोजक साउँदले भने, ‘अहिले स्थानिय निकायसँग पनि कार्यक्रम संचालनका लागि समन्वयको काम भइरहेको छ ।’

स्वास्थ्य बीमा शुल्क र पाउने सुविधा बढ्यो

यसअघि ५ जनाको परिवार संख्याका लागि २ हजार ५ सय दिइदैं आएकोमा स्वास्थ्य बिमा शुल्क बढेर ३ हजार ५ सय पुगेको छ । शुल्क बढेसँगै बिमाकर्ताले पाउने बिमा सुविधा पनि बढेको छ । २ हजार ५ सयमा ५० हजार बराबरको स्वास्थ्य उपचार सुबिधा पाइदैं आएकोमा अब भने १ लाखसम्म स्वास्थ्य उपचार सुविधा पाइने संयोजक साउँदले बताए ।

त्यस्तै ५ जनाभन्दा बढी परिवार संख्या भएमा थप प्रतिव्यक्ति ४ सय २५ लिईदै आएकोमा अब भने ७ सय पुगेको छ । थप गरिएको सदस्यले प्रतिव्यक्ति २० हजार बराबरेको स्वास्थ उपचार सेवा पाइने संयोजक साउँदले बताए ।  संयोजक साउँदले ७० वर्ष पुगेका जेष्ठ नागरिकले भने निःशुल्क स्वास्थ्य बिमा गराउन पाउने बताए । उनले एचआईभी संक्रमित , कुष्ठरोग र क वर्गको अपाङ्गता भएका परिवारको भने निःशुल्क स्वास्थ्य बीमा गरिने बताए ।

साथै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको लागि ५० प्रतिशत सरकारले तिर्ने गरी स्वास्थ्य बिमा गराइदैं आएको छ । आगामी दिनमा प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश बिमा बोर्डबीच यस प्रदेशमा कार्यरत सबै स्वयंसेविकाको निशुल्क बिमा गराउने गरी तयारी भैरहेको संयोजक साउँदले बताए ।

कैलाली र बाग्लुङबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म ४८ जिल्लामा सुरु भइसकेको छ । तर, स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता भने आशातीत देखिएको छैन । स्वास्थ्य बीमा गराई बाफत बिमाकर्ताले तोकेको स्वास्थ्य संस्थामा तोकिएको रकम भित्रमा निःशुल्क सेवा लिन पाउँछन् ।

नेपालमा स्वास्थ्य बिमाको औचित्य

कुल स्वास्थ्य खर्चको व्यक्तिले ब्यहोर्न खर्च (५५ प्रतिशत),गरिवीको रेखामुनि (२२.८%) रहेका जनसंख्यालाई स्वास्थ्य सेवा सुविधा सुनिश्चित गर्नुपर्ने लक्ष्य रहेको छ ।

त्यस्तै गरी स्वास्थ्य क्षेत्रमा न्युन लगानी (४ प्रतिशत भन्दा न्युन) र वैकल्पिक वित्तिय स्रोत, आर्थिक अभाव स्वास्थ्य सेवा उपयोगको बाधक, दीगो विकास लक्ष्यमा समेटिएका स्वास्थ्यका उद्धेश्य हासिल गर्न, युनिभर्सले हेल्थ कभरेज लक्ष्यसम्म पुग्न संसारले अपनाएको भरपर्दो अवधारणा हो ।

स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्घि गरी सन् २०३० मा १०० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ