धनगढी—सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यलय समय बाहेकमा अन्यत्र काम गर्न स्वीकृत लिनुपर्ने भएको हो ।
सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो कार्यान्वयन गर्न परीपत्र गरेको छ । प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा २६ को उपदफा २ बमोजिम सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो नियमित जिम्मेवारीमा असर नपर्ने गरी निजको क्षमता समय र सेवाको औचित्यता हेरी कार्यालय समयबाहेकको समयमा अन्यत्र काम गर्ने स्वीकृतिका लागि कार्यालय प्रमुखका हकमा सामाजिक विकास मन्त्रालयबाट र अन्यका हकमा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखबाट स्वीकृत लिने ब्यवस्थाका कार्यन्वयनका लागि परिपत्र गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम सरकारले प्रदेशभित्र संचालन हुने र संचालनमा रहेका विशेषज्ञ क्लिनिकहलाई संचालन अनुमति दिन तथा नवीकरण गर्न नयाँ मापदण्ड ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको प्रदेश जनस्वास्थ्य ऐन, २०७६ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सामाजिक विकास मन्त्रालयले सो मापदण्ड ल्याएको हो ।
सामाजिक विकास मन्त्रालयले उक्त मापदण्ड मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । अब प्रदेशमा विशेषज्ञ क्लिनिक संचालन गर्न आवश्यक मापदण्ड पूरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने र संचालनमा रहेका विशेषज्ञ क्लिनिकहरुले स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पूरा गर्नुपर्नेछ ।
त्यसैगरी, स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पूरा गर्न दिएको समयभित्र पूरा नगरेमा विशेषज्ञ क्लिनिकको अनुमति रद्ध गरिने समेत सो मापदण्डमा छ ।
विशेषज्ञ क्लिनिकका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति, औजार, उपकरणलगायत सहायक सामाग्रीसँगै आकस्मिक तथा अत्यावश्यक औषधिको समेत उपलब्धता हुनुपर्ने र सेवाग्राहीलाई ओपीडी, प्रयोगशाला, फार्मेसीलगायतको बिल तथा रसिद अनिवार्य रुपमा दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
विशेषज्ञ क्लिनिकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत बार्षिक रुपमा स्थानीय तहअन्तर्गतको सरकारी अस्पताल, प्रयोगशाला भएको स्वास्थ्य चौकीमा कम्तीमा एक दिन निःशुल्क ओपीडी सेवा संचालन गर्ने लिखित प्रतिवद्धता गर्नुपर्ने सो मापदण्डमा उल्लेख छ ।