२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल

महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल


काठमाडौं—कोभिड—१९ पछि पुनः कलेजो प्रत्यारोपण सुरु गरेको त्रिवि शिक्षण अस्पतालले महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गरिरहेको छ । कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले आफूहरु अब महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम भइरहेको बताए ।

‘सबैकुरा मिल्यो भने हामी महिनाको कमसेकम एउटा कलेजो प्रत्यारोपण गर्नेछौं,’ हेल्थआवाजसँगको कुराकानीमा डा. भण्डारीले भने, ‘अहिले यही लक्ष्यका लागि काम गरिरहेका छौं ।’ यसअघि त्रिवि शिक्षण अस्पतालमा तीन—तीन महिनाको अन्तरमा चार वटा सफल कलेजो प्रत्यारोपण भएका थिए ।

तर, कोभिड—१९ सुरु भएसँगै झण्डै एक वर्ष उक्त प्रत्यारोपण रोकियो । कोभिड—१९ को अवस्था नेपालमा सामान्य बनेसँगै २९ फागुन २०७७ मा पाँचौ कलेजो प्रत्यारोपण भएको थियो ।

डा. भण्डारी भविष्यमा महिनामा ३—४ वटा कलेजो प्रत्यारोपण गर्ने टार्गेट आफूहरुले बनाइरहेको बताउँछन् । ‘भविष्यमा महिनामा ४ देखि ५ सम्म कलेजो प्रत्यारोपण गर्न सकिने सम्भावना छ,’ उनले भने, ‘यदि सोचेको जस्तै भयो भने यसले राष्ट्रलाई पनि ठूलो टेवा पुग्नेछ ।’

डा. भण्डारीकाअनुसार अहिले त्रिवि शिक्षणले प्रत्यारोपणमा लाग्ने सामान र औषधीको मात्रै पैसा लिन्छ । सामान र औषधी महँगो पर्ने भएकाले अहिले एउटा कलेजो प्रत्यारोपणमा २५ देखि ३० लाख रुपैयाँ खर्च हुने गर्छ । यो बिरामीमा देखिने जटिलताअनुसार थप केही लाख बढ्न सक्छ । विदेशमा भने कलेजो प्रत्यारोपण अझै महँगो पर्न जान्छ ।

सही तरिकाले औषधी खाने, रक्सी, चुरोट नखाने र फ्लोअप गरिराखेमा कलेजो प्रत्यारोपण गरिएका बिरामीमा समस्या नआउने डा. भण्डारी बताउँछन् । ‘कुनै समस्या आएमा तुरुन्तै चिकित्सकलाई भेट्दा र आफ्नो हेरचाह गरेमा प्रत्यारोपणपछि भविष्यमा ठूलो समस्या आउँदैन्,’ उनी भन्छन्, ‘बिरामी अघि बढ्न सक्छन् । प्रत्यारोपण गर्ने व्यक्ति युरोपियन कप खेलेका पनि छन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ