धनगढी—सुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति सार्वनजिक गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले एक कार्यक्रममाझ प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनिति २०८२–२०८७ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रविधिको प्रयोगसँगै लागु पदार्थ सेवनले समाजमा मानसिक समस्या बढ्दै गएकाले सेती प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य इकाई स्थापना गरी सेवा सुचारु गरिएको बताए । ‘सबैको सहयोगले मानसिक स्वास्थ्यको कार्ययोजना ल्यायौं तर कार्यान्वयनमा चुनौती रहेको छ,’ उनले भने । सुदूरपश्चिचममा मुख्यगरी भारतसँग खुला सिमाना जोडिएकाले लागुऔषधको दुर्व्यसनी बढिरहेका छन् भने सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका ह्यारेसमेन्टका घटना पनि वृद्धि भइरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई विगत चार वर्ष नीति तथा कार्यक्रममा प्राथमिकता दिदैं बजेटमा पनि प्राथमिकतामा राखेको छ । सामाजिक विकास मन्त्रालयले दातृ निकायको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तयार गरी कार्यान्वयनको चरणमा पु¥याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमदेखि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्म अस्पतालमा मानसिक स्वास्थ्य इकाई स्थापना गर्नेदेखि मानसिक रोग न्यूनीकरणका लागि स्थानीय तहसम्म योजना कार्यान्वयन गर्ने विषयहरु उल्लेख गरिएका छन् ।
यसका साथै अन्य प्रादेशिक अस्पतालहरुमा समेत मानसिक स्वास्थ्य इकाई स्थापना गरी अध्ययन कार्यलाई निरन्तरता दिनुका साथै मनोपरामर्श सेवा र विद्यालय नर्स कार्यक्रममा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारले ल्याएको उक्त रणनीतिक कार्ययोजना मानसिक स्वास्थ्यको प्रवर्द्धन, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान चेतना अभिवृद्धि गर्ने, स्वास्थ्य उपचार र प्रणालीको सुदृढीकरण, पुर्नस्थापनात्मक, प्रशामक र आतकालीन स्वास्थ्य सहकार्य समन्वय र नवीनतम अभ्यास प्राथमिकता क्षेत्रहरु रहेका छन् ।

प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै स्वीस राजदूतावासकी प्रतिनिधि प्रतिज्ञा सिम्खडा बाँस्कोटाले बैदेशिक रोजगार, संक्रमणकालीन न्याय, लैङगिक हिंसाजस्ता विभिन्न क्षेत्रहरुमा जोड्दै नीतिगत सुधारका लागि तीन वटै तहको सरकारसँग सहकार्य सहयोग गर्दै आएको बताइन् । मानसिक स्वास्थ्यलाई छुट्टै परियोजनाका रुपमा नभई सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्य प्रणलीमा एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् ।
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मुत्यु हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ प्रति १ लाख जनसंख्यामा करिब २५ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् ।
नेपाललमा कुल नसर्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक स्वास्थ्य समस्याले ओगेटेको र आत्महत्या गर्ने प्रमुख कारणमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ ।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कैलालीमा तीन स्थानीय तहले मात्रै मानसिक स्वास्थ्य नीति बनाएर नियमित औषधी सेवन सचेतनामूलक कार्यक्रम संचालन गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशको मानसिक स्वास्थ्य तथा मनोसमाजिक रणनीति कार्ययोजना निर्माण प्राविधिक सहयोग गरेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी–नेपाल) का नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना भनेको प्रदेश स्थानीय तह सबैलाई सम्बोधन गर्ने यसले निर्दिष्ट गरेको कार्ययोजनालाई प्रभावकारी कार्यान्वयनको लागि बजेट बिनियोजन गर्ने, कार्यक्रमहरु बनाउने, प्राविधिक रुपमा जनशक्तिहरु तयार गर्ने र परिचालनको लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताए ।
सामाजिक विकास मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा कानुन महाशाखाका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश मलासीले सुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थको कार्ययोजनाअनुसार अबको नीति तथा कार्यक्रममा र बजेट कार्यक्रममा समावेस गरिने बताए ।