धनगढी—शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका विषयमा स्थानीय सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ । शनिबार नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नो कार्यालयमा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी, रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशी, सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पतालमा कार्यरत चिकित्सकहरू तथा अन्य सरोकारवाला विज्ञहरूको सहभागिता रहेको थियो ।
विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी स्वरूप शुक्रबार प्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसँगै शिक्षण अस्पतालमार्फत पूर्ण रुपमा विशेषज्ञ सेवासँगै अनुसन्धानका कार्यक्रम समेत सुरु गर्ने तयारी गरिरहेको छ ।
आगामी आर्थिक वर्षमा एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले तोकेका आवश्यक मापदण्ड पूरा गर्ने कार्य अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। साथै, आवश्यक कानुनहरूको निर्माण प्रक्रिया जारी रहेको र ती कानुनहरू आगामी दिनमा बस्ने सिनेट बैठकबाट स्वीकृत भएपछि कार्यान्वयनले थप गति लिने जानकारी विश्वविद्यालयले दिएको छ।