२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन् तर बजेट फ्रिज

कोभिडमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन् तर बजेट फ्रिज

फ्रिज भएको वा प्राप्त नभएको पुष्ट्याइ गरेर विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं–अर्थ मन्त्रालयले असार मसान्त (३० गते) मात्र रकम निकासा गरी दिएका कारण कोभिड–१९ मा खटेका धेरै स्वास्थ्यकर्मी जोखिम भत्ता पाउनबाट बन्चितमा भएका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन मात्र ६५ करोड १४ लाख रुपैयाँ जोखिम भत्ता, उपचार बापत अस्पतालले पाउने सोध भर्ना, वेड तथा इक्वीपमेन्टको पैसा प्रदेश तथा स्थानीय तहमा पठाएको थियो । अधिकांश स्थानीय तहले सो दिन पैसा पठाएको जानकारी नै नपाएपछि अहिले स्वास्थ्य मन्त्रालयमा गुनासो गरिरहेका छन् ।

स्वास्थ्यका एक अधिकारीका अनुसार अन्तिम दिन निकासा गरिएको पैसा सो दिन राति १२ बजेसम्म खर्च नभएमा स्वत फ्रिज हुने सिस्टम छ । ‘अधिकांश स्थानीय तहका कर्मचारीले वित्तिय हस्तान्तरण भएको थाहा नै पाएनछन् । अहिले गुनासो आउन थालेको छ,’ उनले भने, ‘अन्तिम दिन वित्तिय हस्तान्तरण हुँदा कतिपय ठाउँमा खर्च हुनै नसक्ने अवस्था आयो । कोभिडमा खटिएका स्वास्थ्यकर्मीको पैसा पनि फ्रिज भयो ।’

कति स्वास्थ्यकर्मीले भत्ता पाएनन्, कति अस्पतालले सोध भर्ना बापतको रकम पाएनन् र कति कोभिड सम्बन्धी सामाग्रीको पैसा निकाल्न पाएनन् भनेर मन्त्रालयले तथ्यांक माग गरिरहेको ती अधिकारीले बताए ।

अन्तिम समयमा मात्र वित्तिय हस्तान्तरण भएका कारण सो रकम फ्रिज भएको भन्ने गुनासो आएपछि स्वास्थ्य सचिवस्तरीय निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तको दिन हस्तान्तरण भएको बजेट फ्रिज भएको या प्राप्त नै नभएको हो भन्ने विषयमा स्पष्ट पारी पुनः विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय, गण्डकी तथा लुम्बिनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सबै केन्द्रिय अस्पताल र सबै स्थानीय तहसँग पुनः विवरण माग गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #अर्थ मन्त्रालय, #कोभिड-१९, #जोखिम भत्ता, #स्वास्थ्यकर्मी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ