२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकलेजो दानपछिको जीवन

कलेजो दानपछिको जीवन


हाम्रो समाजमा दानलाई ‘पुण्य कर्म’ मानिन्छ । अझ अंगदान त महादान नै हो । त्यही कारण महादान ‘महापुण्य कर्म’ हो । तर, अंगदानबारे अझै हाम्रो समाजमा पर्याप्त छलफल र सचेतना जागेको छैन ।

अझ कलेजो दान त झन ठूलो कुरा हो । कलेजो प्रत्यारोपण गर्दा गरिने शल्यक्रिया पनि जटिल र ठूलो हुन्छ । हामीले त्रिवि शिक्षण अस्पताल अहिलेसम्म ९ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौं । जसमा हामीले शतप्रतिशत सफलता प्राप्त गरेका छौं । यस नतिजाले हामीले गरिरहेको प्रत्यारोपणको काम राम्रै भइरहेको देखाउँछ ।

यो जटिल शल्यक्रियाका लागि हामीलाई चाहिने सम्पूर्ण उपकरणहरु उपलब्ध छन् । हामीसँग अनुभव र सीप दुवै छ । यी सबै कुराको स्पष्ट संयोजन भएको ठाउँमा दान गर्ने व्यक्तिलाई जटिलता हुने सम्भावना कम हुन्छ । हामीले जटिल भएतापनि यो शल्यक्रियालाई सुरक्षित बनाएका छौं । शल्यक्रिया गर्नु अगावै लगभग दुई तीन हप्ता अघिदेखि नै विविध चेकजाँचहरु गर्ने गर्छौ । यी विविध चेकजाँचबाट ती पछि गरिने श्लयक्रिया सफल र राम्रो हुने सम्भावना धेरै भए पश्चातमात्रै हामीले कलेजो दानको प्रक्रिया अगाडि बढाउँछौं । यसै कारणले दान दिने व्यक्ति पूर्णतया विश्वास गरेर दान गर्न सक्छन् ।

कलेजो दान दुई तरिकाले हुन्छ । एउटा मस्तिष्क मृत्यु भएपछि गरिने कलेजो दान, जसलाई ‘क्याडाभरिक लिभर ट्रान्सप्लान्ट’ पनि भनिन्छ । यस्तोमा प्रायः कुनै दुर्घटनाका कारण टाउकोमा चोट लागेर मृत्यु भएपनि शरीरका सबै अंगले काम गरिरहेका हुन्छन् । मस्तिष्क मृत्युपश्चात अरु बिरामीलाई अन्य अंगहरुजस्तै कलेजो पनि दान गर्न सकिन्छ । यो प्रक्रियाबाट त्रिवि शिक्षण अस्पतालमा एउटा पनि कलेजो प्रत्यारोपण भएको छैन ।

दोस्रो तरिका भनेको ‘लिभिङ डोनर ट्रान्सप्लान्ट’ हो । यसमा जीवित व्यक्तिले आफ्नो कलेजो दान दिन्छन् । त्रिवि शिक्षणमा हामीले गरेको ९ वटै कलेजो प्रत्यारोपण यो तरिकामा गरिएको हो ।

कसले गर्न सक्छन् कलेजो दान ?

नेपालमा अंग प्रत्यारोपण ऐन छ । ऐनअन्तर्गत नियमावलीलगायतका विभिन्न अंग प्रत्यारोपण सम्बन्धी कानुनहरु छन् । कलेजो दान गर्ने कुरा पनि हाम्रा यिनै कानुनमा आधारित हुन्छ । कानुनमा नातेदारले मात्र कलेजो दान गर्न मिल्ने व्यवस्था छ । नातेदारमा आफ्ना दिदीबहिनी, दाजुभाइ, काका/काकी, श्रीमान/श्रीमती तथा विभिन्न सम्बन्धका व्यक्तिले कलेजो दान गर्न मिल्ने प्रावधान छ । यसबारेमा विस्तृत जानकारी प्रत्यारोपण गर्ने अस्पतालबाट लिन सकिन्छ ।

कानुनी रुपमा त छदैंछ मेडिकल रुपमा कलेजो दिने व्यक्ति स्वस्थ हुनुपर्छ । जसमा सामान्यतयाः १८ वर्षदेखि ५५ वर्षका व्यक्तिले कलेजो दान दिन मिल्छ । ठूला शल्यक्रियाहरु गरेको र लामो समयदेखि औषधिको सेवन गरेको तथा अन्य स्वास्थ्य समस्या भएका मानिसहरुले कलेजो दान गर्न मिल्दैन् ।

कलेजो दिनका लागि मानसिक रुपमा ठिक हुनुका साथै लिने व्यक्तिको रगत समूह पनि मिल्नुपर्छ । यी कुराहरु मिलेपछि दान गर्ने व्यक्तिको सिटी स्क्यान, एमआरआई, रगत तथा अन्य आवश्यक जाँच गरिन्छ । सबै जाँचहरु समेत मिलेपछि कलेजो निकाल्न मिल्ने र झिकेपछि यता बिरामी र उता दान गर्ने व्यक्ति दुवैको शरीरमा काम गर्न सक्ने भए/नभएको पत्ता लाग्छ । यी सबै कुरा मिलेपछि मात्रै कलेजो प्रत्यारोपणकोे प्रक्रिया अघि बढ्छ ।

कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपण गर्ने दिनमा प्रायः पहिले कलेजो दान दिने व्यक्तिको शल्यक्रिया सुरु गरिन्छ । त्यसको केही समयपछि कलेजो लिने बिरामीको शल्यक्रिया गरिन्छ । तर, कुनै–कुनै समयमा दुवैजनाको शल्यक्रियासँगसँगै गर्ने पनि गरिन्छ ।

कलेजो दिने मानिसको सामान्यतयाः शल्यक्रियामा ४ देखि ६ घण्टा समय लाग्छ । त्यो लिइसकेपछि प्रत्यारोपण हुने बिरामीको शल्यक्रियालाई १० देखि १२ घण्टा समय लाग्न सक्छ । कलेजो दिने मानिसलाई प्रायः २४ घण्टा आईसीयुमा राख्ने गरिन्छ । अवस्था हेरेर १ या २ दिनपछि जनरल वार्डमा सारिन्छ । वार्डमा लग्दासम्म कलेजो दान दिने व्यक्तिलाई खाना तथा औषधिहरु मुखबाट दिन मिल्ने भइसक्छ । धेरैजसो कलेजो दान दिने व्यक्तिहरु कलेजो दिएको ८ वा १० दिनमा डिस्चार्ज गर्न मिल्ने हुन्छन् ।

कलेजो दान दिने व्यक्तिलाई डिस्चार्ज भएको केही हप्ता फलोअपका लागि अस्पतालमा बोलाइने गरिन्छ । त्यसपछि विस्तारै महिना दिन, छ महिना गर्दै फलोअपका लागि बोलाइन्छ । र, यो प्रक्रिया पछिसम्म चलिरहन्छ । तर, बीचमा केही समस्या आयो भने दान दिने व्यक्तिलाई तुरुन्त अस्पताल आउन भनिएको हुन्छ ।

कलेजो दिने व्यक्ति सामान्य अवस्थामा फर्किन कति लाग्छ ?

कलेजो दान गर्ने व्यक्ति ८ देखि १० दिनमा डिस्चार्ज हुने बित्तिकै सामान्य अवस्थामा आउँछ भन्ने होइन् । डिस्चार्ज हुँदा व्यक्ति सामान्य रुपमा खान सक्ने, शौचालय जान सक्ने, सामान्य हिडडुल गर्न सक्ने हुन्छ तर गह्रौ काम तथा कसरतजस्ता कार्यहरु गर्नका लागि भने ८ देखि १२ हप्ता सावधानी अपनाउनुपर्छ । किनकी बाहिरी रुपमा मानिस निको भएपनि भित्र चिरेको घाउ बलियो भएको हुँदैन ।

र, यसका लागि केही समय लाग्छ, त्यसैले यी कार्यहरु गर्न जोड दिनुहुँदैन् । ८ देखि १२ हप्ता भित्रमा शरीर सामान्य अवस्थामा आउनुका साथै दान गरेर बाँकी रहेको कलेजो पनि ९० प्रतिशत पहिलेकै आकारमा आइसकेको हुन्छ । त्यसपछि कलेजो दान गर्ने मानिस शल्यक्रियाअघिकै अवस्थामा फर्कन सक्छ ।

कलेजो दान गरेपछिका सम्भावित समस्या र जीवन

हालको अवस्थामा शल्यक्रिया गर्नुअघि र गरेपछि आवश्यक रहेका सम्पूर्ण सामाग्री यहाँ उपलब्ध छन् । जसका कारण शल्यक्रिया गर्नेदेखि बिरामीको सम्पूर्ण हेरचाह गर्न सहज भएको छ । समस्या आइहाल्यो भनेपनि त्यसको न्यूनीकरण गर्न सकिन्छ । तर, कहिलेकाहीँ एकदमै थोरै प्रतिशत मानिसमा जटिल समस्या हुनसक्छ ।

ती समस्याहरुमा कसैलाई रगत बग्ने हुनसक्छ, जसको न्यूनीकरणका लागि पुनः रगत दिनुपर्ने या शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ । त्योसँगै कहिलेकाहीँ कलेजो काटेको भागबाट पित्तहरु चुहिने हुनसक्छ, इन्फेक्सन हुन सक्छ, कहिलेकाहीँ फोक्सोमा पनि समस्या हुन सक्छ, कहिलेकाही अन्य अंगहरुमा पनि समस्या हुन सक्छ । यी समस्याहरु निकै दुर्लभ रुपमा हुन्छन् । हजारौंको संख्यामा एक, दुई जनालाई यस्तो समस्या देखिन सक्छन् ।

सामान्य समस्याहरु पनि हुन सक्छन्, जस्तैः काटेको ठाउँमा दुख्ने, असहज महसुस हुने, केही समय खाना पचाउन गाह्रो हुने आदि । यी समस्याहरुले अस्पतालको बसाईँ लम्ब्याउन सक्छन् र कतिपय अवस्थामा एन्जाइटी बढाउन सक्छ । तर, ठिक हुन धेरै समय लाग्दैन् ।

नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात भएको धेरै भएको छैन । तर, बाहिर भएका अध्ययनहरु हेर्दा कलेजो दान गर्ने मानिसहरुको स्वास्थ्यमा खासै असर भएको पाइदैंन् । प्रायः कलेजो दिनेहरुले आफ्नो नजिकको सम्बन्ध भएको मानिसलाई आफूले आफ्नो शरीररको अंग दिएर बचाउन पाएँ भन्ने किसिमको सकारात्मक मानसिकताले सन्तुष्टी भने प्राप्त हुने गरेको पाइएको छ । कसै–कसैमा कलेजो निकाल्न काटेको घाउको दागहरु देखिने हुन्छ, जुन विशेषगरी महिलाहरुका लागि कन्सर्नको विषय हुन सक्छ । निकै कममा हर्नियाको समस्या पनि देखिन सक्छ ।

कतिपयले प्रश्न उठाउँछन् के कलेजो दान गरेका महिलाहरु गर्भवती हुन सक्छ ? अवश्य हुन सक्छन् । कलेजो दिएका महिलाहरुलाई हामीले कलेजो दिएको एक वर्षसम्म गर्भधारण नगर्न सल्लाह दिन्छौं । बल्ल घाउ निको भइरहेको अवस्थामा गर्भधारण गर्दा समस्या हुनसक्छ । तर, त्यसपछि बच्चालाई जन्म दिन या गर्भधारण गर्न खासै समस्या भने हुँदैन् ।

कलेजो दान गरेको व्यक्तिले अनावश्यक औषधि र सकेसम्म रक्सीको सेवन नगर्न सल्लाह दिइन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ