२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निकास नहुँदा कोशी अस्पताल डुब्यो

निकास नहुँदा कोशी अस्पताल डुब्यो


विराटनगर—लगातारको बर्षा र निकास नहुँदा विराटनगरस्थित कोशी अस्पताल डुवानमा परेको छ । मंगलबार रातीदेखि परेको वर्षाका कारण अस्पताल परिसरमा पानीको सतह बढेपछि डुवानमा परेको हो ।

सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भएको छ । लगातारको वर्षा र अस्पतालभित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्षभित्र पनि पानी पस्न सक्ने खतरा बढेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले बताए । ‘हिजोभन्दा आजा परेको मनसुनले पानीको सतह बढेको छ,’ उनले भने, ‘परेको पानी निकास हुन नसक्दा अस्पतालभित्र प्रवेशद्वारमै पानी जलमग्न छ ।’

लगातार पानी पर्‍यो भने आकस्मिक कक्षमा पानी पस्ने उनले बताए । मंगलबारदेखि परेको पानी बुधबार प्रशासनिक भवनको कार्यकक्षमा पानी छिरेको थियो । ढलको निकास नगरी सडक उचो बनाइदिँदा अस्पताल भित्र पानी पसेको हो ।

पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ । ‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अबस्था छ,’ डा. पोखरेलले भने, विराटनगर महानगरपालिकाले निकाशको लागि कुनै चासो दिएको छैन ।’ अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ । ढलको निकास छैन भने सडकको पानी समेत अस्पतालमा छिर्दा अस्पताल भित्र पानी जमेको छ । ‘अस्पताल परिसर भित्र पसेको पानी झिक्न मोटरको प्रयोग ग¥यो,’ उनले भने, ‘बाहिर गएको पानी पुन भित्र नै आउने गरेको छ ।’

प्रदेशको राजधानी जलमग्न

विराटनगर महानगर क्षेत्रमा भैहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न हुन पुगेको छ । विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।

घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको विराटनगर – ११ की माया खड्काले बताइन् । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको उनको भनाइँ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ