२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टसय करोड लगानी गरेर देवदह मेडिकल कलेजमा भित्रिदै गोपाल पोखरेल समूह

सय करोड लगानी गरेर देवदह मेडिकल कलेजमा भित्रिदै गोपाल पोखरेल समूह


काठमाडौं—अहिले नेपालको चिकित्सा शिक्षामा मेडिकल कलेजहरु किनबेचको सिजन सुरु भएको छ । काठमाडौं मेडिकल कलेजमा १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेर सुनिल शर्मा भित्रिएको दुई महिना नपुग्दैं देवदह मेडिकल कलेजमा पनि नयाँ व्यवस्थापन भित्रिन लागेको हो ।

१ सय करोड रुपैयाँभन्दा बढी लगानी गरेर देवदह मेडिकल कलेजमा पाल्पामा लुम्बिनी मेडिकल कलेज सञ्चालन गरिरहेको गोपाल पोखरेलको समूह भित्रिन लागेको हो । दुई मेडिकल कलेजको व्यवस्थापनबीच सेयर किनबेचको प्रक्रियासमेत अन्तिम चरणमा रहेको बताइएको छ ।

देवदह मेडिकल कलेजका अध्यक्ष निलकण्ठ काफ्लेले लुम्बिनी मेडिकल कलेजका सञ्चालकहरुको देवदहको व्यवस्थापनमा इन्ट्री हुन लागेको कुरा पुष्टि गरे । ‘उहाँहरु आउने पक्कापक्की भएर प्रक्रिया अगाडि बढिसकेको छ,’ काफ्लेले हेल्थआवाजसँग भने ।

स्रोतकाअनुसार कलेजको लगानी २ सय करोड बढी छ । लुम्बिनी मेडिकल कलेजको टिमले देवदहको ५० प्रतिशत सेयर लिन लागेको हो । जसका लागि लुम्बिनी मेडिकल कलेज समूहले १ सय करोडभन्दा बढी खर्चिनेछ । तर, दुवै पक्षले कति सेयर र कति रुपैयाँमा किनबेच हुन गइरहेको हो भन्ने कुरा भने खुलाउन चाहेनन् ।

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले पनि आफूहरुले देवदहमा लगानी गर्न लागेको कुरा स्वीकार गरे । ‘हाम्रो (लुम्बिनी मेडिकल कलेज) टिमले देवदह मेडिकल कलेजको केही प्रतिशत सेयर किन्ने प्रक्रिया अगाडि बढेको छ,’ पोखरेलले भने, ‘पूरानो टिमको केही साथीहरु रहनुभएको छ । केही साथीहरुले छोड्ने मनस्थिती बनाउनुभएको छ ।’ तर, देवदह मेडिकल कलेज सञ्चालकमध्ये कसले सेयर बेच्दैछ भन्ने कुरा भने उनले खुलाउन चाहेनन् ।

विगत १६ वर्षदेखि सञ्चालनमा रहेको लुम्बिनी मेडिकल कलेज पब्लिक लिमिटेडमा रहेको छ । जसमा १ सय ४४ जना लगानीकर्ता रहेका छन् भने अहिलेसम्म उक्त कलेजमा २ अर्बभन्दा बढी लगानी भइसकेको पोखरेलले बताए । देवदह मेडिकल कलेजले भने एमबीबीएसको छैटौं ब्याचको तयारी गरिरहेको छ । देवदहमा काफ्ले, भारतीय नागरिक डा. रजनीश जिन्डल, गौतम वुद्ध इन्टरनेशल मेडिकल समूहसहित लगानी रहेको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ