२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा अक्सिजनको अभाव हुँदा कोभिड-१९ संक्रमितको उपचारमा समस्या

विराटनगरमा अक्सिजनको अभाव हुँदा कोभिड-१९ संक्रमितको उपचारमा समस्या


विराटनगर- विराटनगरमा अक्सिजन अभाव सुरु भएपछि अस्पतालहरूले कोभिड-१९  संक्रमितको उपचारमा कठिनाइ भइरहेको बताएका छन् । विराटनगरस्थित न्यूरो हस्पिटलको कोभिड अस्पतालमा अक्सिजन अभावले उपचारमा समस्या भैरहेको अस्पतालका अप्रेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

३६ शैय्याको अस्पतालमा भर्ना भएका कोभिड संक्रमितका लागि अक्सिजन अभाव देखिन थालेको उनले बताए । ‘बिहीबार साझसम्म पुग्ने अक्सिजन अस्पतालमा रहेको छ,’ उनले भने, ‘स्थानिय प्रशासन र प्रदेश सरकारलाई अक्सिजन अभाव भएको जानकारी गराउँदा पनि जोहो गरिदिने कुनै पहल कदमी भएको छैन ।’

न्यूरोमा दैनिक १ सय ५० सिलिन्डर अक्सिजन आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ । कोभिड अस्पताल सुरू भएपछि संक्रमितको चाप बढ्दै गएको तर अक्सिजन प्रयाप्त नहुँदा समस्या आएको उनले बताए । अक्सिजन सप्लार्यस गर्ने कम्पनी मारुतीमा विद्युत अवरोध भएको कारणले प्रयाप्त अक्सिजन उत्पादन नगरेको बताउने गरेको छ । ‘अक्सिजन मागअनुसार नआएपछि हामीले मान्छे पठाएर सोधेका थियौं, बिजुली नभएर उत्पादन गर्न सकेनौं भनेर जवाफ आयो,’भट्टराईले भने, ‘बिरामी तड्पिराखेको छ, हामीले के भनेर बिरामीलाई भन्ने निकै दुखद अवस्थामा छौं ।’

अक्सिजनकै अभावका कारण धेरै संक्रमितको ज्यान जाने खतरा देखिएको उनले बताए । ‘अक्सिजनको खोजीमा सबैतिर लागि परिसक्यौ अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘साझसम्ममा थप अक्सिजन नपाए साह्रै अप्ठ्यारो अवस्थामा पुग्ने छौं  ।’

न्यूरोको कोभिड अस्पतलाको भेन्टिलेटरमा ७ जना, आईसियूमा, १७ र ११ जना कोरोना संक्रमितको एचडियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘अहिले अस्पतालमा स्टकमा १५ सिलण्डर अक्सिजन रहेको छ,’ अपरेशन डाइरेक्टर भट्टराईले भने, ‘यो अक्सिजनले साझसम्म थेक्छ । थप अक्सिजन नभए विरामीको स्वास्थ्य अवस्था जोखिममा हुन जान्छ ।’

विराटनगरस्थित कोशी अस्पताल भित्रको कोभिड-१९ युनिटमा उपचाररत कोरोना संक्रमितलाई पनि बुधबार राती अक्सिजन अनियमित भएको छ । कोभिड अस्पताल भित्रको एचडियु वार्डमा उपचाररत एक संक्रमितका आफन्तले दिएको जानकारी अनुसार राती अक्सिजन नपाएर समस्या भएको बताएका छन् ।

कोरोनाको गम्भिर लक्षण देखिएका ति बिरामीलाई हाइ-फ्लोमा अक्सिजन दिनुपरेको संक्रमितका आफन्तले बताए । ‘बुधबार राती अक्सिजन सकिएको जानकारी आयो । डाक्टरलाई सोध्दा अरु अस्पताल लैजानु भन्छ’, ती संक्रमितका आफन्तले भने, ‘यति राती कहाँ लैजानु ?’
संघिय सरकार मातहत रहेको कोशीमा एक साता अगाडी कोभिड–१९ युनिट संचालनमा ल्याएको छ । प्रदेशकै सबैभन्दा ठुलो यस सरकारी अस्पतालमा अहिलेसम्म आफ्नै अक्सिजन प्लान्ट छैन । ठेकेदारको ढिलासुस्तीको कारणले यहाँ अहिलेसम्म अक्सिजन प्लान्ट जडान हुन नसकेको हो ।

कोभिड संक्रमितको उपचारमा खटिएका अस्पतालका एक जना चिकित्सकका अनुसार कोशीमा प्रयाप्त अक्सिजन नपाएको बताए । ‘बुधबार राती अक्सिजन आभाव देखिएपछि केही विरामीका आफन्तले निजी हस्पिटलमा रेफर गरेर विरामी लगेका थिए,’ उपचारमा खटिएका ती चिकित्सकले भने ।

अक्सिजन अभावबारे अस्पतालले मातहतका उच्च निकाय र प्रदेश सरकार लगायत सबैलाई जानकारी समेत गराइसकेको अस्पतालले जनाएको छ । तत्काल अक्सिजन अभाव हुने बिरामीलाई चाहिने अक्सिजन ल्याउन कुनै पनि निकायले चासो नदिएको अस्पतालकै एक अधिकारीले बताए ।

कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको बताए । उनका अनुसार कोशी अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ ।

कोशीले मारुती र बिनायकसँग सम्झौता गरि अक्सिजन ल्याउने गरेको छ । ‘बुधबार विद्युत अवरोध भएको कारणले अक्सिजन उत्पादनमा समस्या भएको हामीलाई जानकारी आएको छ,’ मेसु दासले भने, ‘अहिले भर्ना भएका विरामीलाई आवश्यक पर्ने अक्सिजन जोगाड भएको छ ।’ थप अक्सिजन ल्याउन पहल कदमी अगाडी बढाएको उनले बताए ।
कोशी अस्पताल भित्रको कोभिड युनिटमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको मेसु दासले जानकारी दिए । अहिले स्टकमा ३६ वटा अक्सिजन लिण्डर रहेको अस्पतालले जनाएको छ । जम्मा कोशीमा २ सय ७९ सिलण्डेर रहेको छ ।
मोरङ र सुनसरीका उद्योगबाट अक्सिजन उत्पादनमा कमी आउँदा विरामी मारमा परेका छन् । विराटनगरका अधिकांश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन, उनीहरु पनि अक्सिजन उद्योगकै भर परेका छन् ।
मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । यी उद्योगले नै विराटनगरलगायत पूर्वमा चाहिने अक्सिजन पु¥याएका थिए । कोरोना महामारीका बेला यी उद्योग सरकारले लिएर चलाउनुपर्नेमा त्यसो नगर्दा अहिले समस्या आइपरेको एक निजी अस्पतालका संचालक बताउँछन् । ‘बिरामी अक्सिजन नपाएर छट्पटाएको छ, अक्सिजन सरकार अक्सिजन दिन सकेको छैन, भएकै निजी उद्योग पनि सरकारले केही समयका लागि लिएर चलाउन सक्नुपथ्र्यो, ति संचालकले भने । अस्पतालले माग अनुसार अक्सिजन पु¥याउन नसक्नुको कारण भने दिउँसो बिजुली नहुँदा आवश्यकता अनुसार उत्पादन गर्न नसकेको कम्पनीहरुले जवाफ दिएका छन् ।

मारुती अक्सिजन इन्डष्ट्रिजका संचालक शंकर अग्रवालले पानीसँगै आएको हावापुरीले विद्युत अवरोध भएपछि बुधबार राती ७ बजेपछि अक्सिजन उत्पादन हुन नसकेको बताए । ‘२४ घण्टामा ४३० ठूला सिलण्डेर अक्सिजन उत्पादन हुँदै आएको थियो,’ उनले भने, ‘हावाहुरीले विद्युत अवरोध भएको थियो । बिहीबार दिउँसोसम्म पनि जडान हुन नसक्दा अक्सिजन उत्पादन भएन ।’

संक्रमितलाई अतिआश्वयक परेको बेला अक्सिजन उद्योगमा २४ घण्टा विद्युत आपूर्तीको व्यवस्था राज्यले गरिदिनुपर्ने उनले बताए । ‘विद्युत आउने जाने समस्या भइरहेको छ,’ उनले भने,‘त्यसैले गर्दा पनि अक्सिजन प्रयाप्त मात्रामा उत्पादन हुन सकेको छैन ।’

संक्रमण बढेसँगै अक्सिजनको माग बढेपछि धान्न समस्या भइरहेको उनले बताए । ‘पूर्ण क्षमतामा २४ घण्टा नै उद्योग चलाउनुपर्ने अवस्था छ । एकैछिन पनि विश्राम नपाउँदा मेसिनरी चिजमा समस्या आउनु स्वभाविक हो,’ उनले भने, ‘उद्योगमा समस्या आउन थाल्दा नियमित उत्पादनमा असर पर्न थालेको छ । जसका कारण अस्पतालमा आपूर्ति प्रभावित बनेको छ ।’ मेसिनमा केही समस्या आयो भने पुनः उद्योग सञ्चालन गर्न ठूलै मिहिनत गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ