२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदशैंका के खाने, कसरी खाने ?

दशैंका के खाने, कसरी खाने ?


डा. उमा कोइराला
वरिष्ठ पोषणविद्

हामी नेपालीहरु चाडबाडमा विशेष गरी रमाइलो साथसाथै खानपिनमा विशेष ध्यानदिने गर्दछौं । हामीहरु अधिकांशको निम्ति चाडपर्व माछा मासु खाने अवसर बनेर आउने गर्दछ । पहिलेको स्थितीभन्दा केहि फरक भएतापनि हालसम्म पनि सहरको तुलनामा गाउँका मानिसहरु मासु खानकै निम्ती चाडपर्व कुरेर बस्ने गरेको पाइन्छ ।

अधिकांश ब्यक्तिहरुले यस समयमा खानपिन र रमाइलोलाई मात्रै बढी फोकस गर्ने हुँदा विभिन्न चिल्लो एवम् मसालायुक्त खानाहरु खाने गर्दछन् । जसबाट उनीहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने हुन्छ । स्वस्थ बिना कुनै पनि चाडपर्व तथा समारोहमा आफूले चाहे बमोजिम रमाइलो गर्न नसकिने वा असम्भव प्राय नै हुने गर्दछ । तसर्थ हामीले दशैं तिहारजस्ता चाडपर्वमा खानपिन र रमाइलो सँगसँगै स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्दछ ।

दशैंमा हामीले उचित ख्याल तथा रेखदेख गर्दागर्दै पनि कहिलेकाहीँ बढी खानाको कारण हामीलाई अपच भएर शरीरमा विभिन्न समस्याहरु देखा पर्ने हुन्छ । अझ दशैंमा आफन्तहरुकोमा टिका लगाउन जाने र गएको ठाउँमा केही न केही खानुपर्ने बाध्यताका कारण पनि यस समयमा अधिकांशलाई अपच भएर ग्यास्ट्रिक, झाडा बान्ता, तथा पेट दुख्नेजस्ता समस्याहरु देखा पर्न सक्छ । तसर्थ शरीरमा यस्ता समस्या देखा नपरोस् भनी स्वस्थ्यकर दशैं मनाउनका लागि हामीले निम्न उपायहरु अपनाउन सक्छौं ।

  • आफ्नो इच्छा अनुसार भन्दा पनि शरीरको प्रकृतिअनुसार मासुको प्रयोग गर्ने
  • हाम्रो शरीरले सधै खाने गरेको खाना पचाउने बानी परी सकेको हुँदा एकैचोटी खाना खादा अपच हुने हुन्छ । यसबाट कालान्तरमा कोलेस्टोजस्ता समस्याहरु देखा पर्ने हुन्छ । तसर्थ शरीरलाई आवश्यक रउचित मात्रामामा त्रै खाना खाने
  • एकै पटकमा नखाई थोरै थोरै गरेर पटक पटकमा खाने
  • तराई तिरको खसी मोटो हुने भएकाले त्यस्तो मासुमा बढी बोसो पाइने गर्दछ । तसर्थ सकेसम्म पातलो खसी वा पहाडे खसीको मासुको प्रयोग गर्ने
  • दशैंमा मासु सँगसँगै मादक पदार्थको पनि व्यापक प्रयोग हुने हुन्छ । यी दुवै शरीरको लागि हानिकारक भएकोले सकभर प्रयोग गर्दै नगर्ने
  • सकिन्छ भने ‘एअर फ्रायर’ मा पकाएको मासु खाने (यसमा चिल्लो कम हाली पकाउन सकिन्छ)
  • सकभर कम चिल्लो तथा मसाला हालेको खाना प्रयोग गर्ने
  • मासुमा बोसो हुने हुँदा आवश्यक तेल बोसोबाट नै आपूर्ति हुने हुन्छ । त्यसैले खाना बनाउदा सकभर कम तेल प्रयोग गर्ने
  • स्वस्थकर परीकार जस्तै उसिनेको, रस हालेको मासुको परिकार बनाएर खाने गर्ने
  • र, ताजा तथा स्वास्थ्यवद्र्धक मासु मात्रै खाने बानी बसाल्ने ।

तर, कतिपय अवस्थमा माथि उल्लेख गरेजस्तै उचित स्याहार तथा सुसारको बाबजुद पनि चाडपर्वको समयमा आफन्तको कर तथा सम्मान राख्नकै लागि भएपनि खानुपर्ने हुन्छ । हाम्रो नेपाली समाजमा मासुद्धारा नै सत्कार गर्ने चलन रहेको हुदा त्यस्ता खानाहरु थोरै थोरै गरेर खादापनि धेरै हुन पुगी अपच हुने हुन्छ । त्यस्ता समस्या समाधानका लागि हामीले निम्न उपायहरु अपनाउन सक्छौ :

  • कम्तिमा पनि दैनिक आधा घण्टा हिड्ने
  • साइकल चलाउँदा पनि शरीरमा खाना पचाउन सहज हुने हुन्छ
  • शारीरिक श्रम तथा व्यायामहरुले शरीरको खानापचाउन मद्दत गर्ने भएकोले पसिनाआउने गरी दैनिक एकपटक शारीरिक व्यायाम गर्ने
  • मुला, काँक्रो, गाँजर जस्ता सलादहरु प्रयोग गर्ने
  • माछा मासु सँगसँगै मौसमी तरकारी तथा फलफूललाई पनि विशेष प्राथमिकता दिने
  • र, पानी अत्याधिक मात्रामा पिउने ।

सुकाएर राखेको मासु स्वास्थ्यको लागि हानिकारक
परम्परादेखि चलिआएको चालचलनको बाबजुद पनि चाडपर्वमा विशेषगरि खानपिनमा नै बढी जोड दिने गरेको पाइन्छ । र, त्यसमा पनि नेपाली समाजमा मासु बिना कुनै पनि चाडपर्व असम्भव नै देखिन्छ । अझ दशैंजस्ता ठूला चाडबाडमा प्रत्येकको घर घरमा खसी बोका काटिने हुँदा उनीहरुको निम्ति दशैं मासुको पर्व नै हुने गर्दछ । उक्त काटिएको मासु एकै पटकमा खाइ नसकिने हुँदा प्रायजसोः गाउँघरतिर बाँकी रहेको मासुु झुण्डाएर सुकाएर राखी पछि-पछिसम्म सोही मासु प्रयोग गर्ने गरेको पाइन्छ । गाउँघरमा अधिकांशको घरमा धुवाँ तथा घाममा खुल्ला राखेर मासु सुकाउने गरिन्छ ।

हालसम्म गाउँघरतिर अझैपनि अधिकांशले यसरी मासु प्रयोग गर्ने गर्दछन् । मासु अन्यको तुलनामा छिटो बिग्रिने हुन्छ । तर, कमैले मात्र यसले निम्त्याउने नकरात्मक असरको बारेमा ख्याल गरेका हुन्छन् । मासु र यसमा पाइने चिल्लोमा कुनै पनि किटाणु पैदा हुनर फैलिनको निम्ति एकदमै अनुकूल माध्यम हुने भएको कारण अन्य खाना तथा खाद्यवस्तुको तुलनामा मासुमा छिटो किटाणुहरुको वृद्धि तथा विकास हुने हुन्छ ।

जसकारण यस्तो मासुको प्रयोग स्वास्थ्यको दृण्टिकोणले पनि अस्वस्थ्यकर मानिन्छ ।  यस्तो मासुको प्रयोगका कारण फुड पोइजन हुने सम्भावना अत्याधिक मात्रामा रहन्छ । त्यसैले दशैं होस् वा अन्य समयमा सुकाएर राखेको मासुको प्रयोग गर्नै हुदैन । यसका लागि हामीले दशैंमा एकैपटकमा सिंगो खसी नकाटी थोरै थोरै मात्रामा आवश्यकता अनुसार ताजा मासु पसलबाट किनेर ल्याउने बानी बसाल्नु पर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ