२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका ल्याबहरुमा पुग्दैन् ‘ए’ ग्रेडको मापदण्ड, खस्कियो लाइफ केयर

गण्डकीका ल्याबहरुमा पुग्दैन् ‘ए’ ग्रेडको मापदण्ड, खस्कियो लाइफ केयर

लाइफ केयरको घट्यो स्तर, हटेन ‘ए’ ग्रेड बोर्ड


पोखरा—गण्डकी प्रदेश ‘ए’ ग्रेडको जनस्वास्थ्य प्रयोगशालाविहीन बनेको छ । ‘ए’ ग्रेडका ल्याब काठमाडौं उपत्यका केन्द्रीत छन् ।

कोभिड—१९ का बेला ‘ए’ ग्रेडको प्रयोगशाला अनुमति पाएको पोखराको लाइफ केयर डायग्नोस्टिक प्रा.लि.को स्तर घटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमनमा मापदण्ड नपुगेपछि लाइफ केयर ‘बी’ ग्रेडमा झरेको हो ।

लाइफ केयरको मापदण्ड नपुग्दैं ‘ए’ ग्रेडको मान्यता राजनीतिक पहुँचका आधारमा लिएको आरोप लाग्ने गरेको थियो । लाइफ केयरको स्तर घटुवाले तथ्य त्यसको नजिक पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका, २०७७ अनुसार लाइफ केयर ‘बी’ ग्रेडको ल्याब भएको उल्लेख छ । कोभिड—१९ संक्रमण तीव्र फैलिएका बेला पोखरामा निजी क्षेत्रको लाइफ केयर मात्रै ‘ए’ ग्रेडको पिसिआर जाँच गर्न पाउने प्रयोगशाला बनेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमनमा स्तर घटेको भएपनि लाइफकेयरले ‘ए’ ग्रेडको प्रयोगशाला भएको बोर्ड हटाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्याथोलोजिस्ट कामनासहितको टोलीले अनुगमन गरी जनशक्ति र आवश्यक मेसिन उपकरण थप गर्न निर्देशन दिएको थियो । यद्यपि, लाइफ केयरले करोड हाराहारीमा थप लगानी गर्नसक्ने अवस्था नभएपछि स्तरवृद्धिको निवेदन दिएर चित्त बुझाएको छ ।

लाइफ केयरका निर्देशक शुक्रराज कँडेलले तत्कालका लागि लाइफकेयर ‘बी’ ग्रेडकै प्रयोगशाला भएको बताए । ‘पहिले कोभिड जाँच गरिरहेको ‘ए’ ग्रेडको ल्याबले स्तर घटेर ‘बी’ ग्रेड भएपनि सो प्रयोगशालाले कोभिड जाँच्न पाउँछ । हामीले ‘बी’ ग्रेड ल्याबबाट दियने सेवा दिएका छौं,’ उनले भने ।

सरकारी मापदण्डअनुसार ‘ए’ र ‘बी’ ग्रेडको प्रयोगशाला सञ्चालन अनुमति दिने तथा दर्ता गर्ने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्छ । गण्डकी प्रदेशमा कुनै पनि जनस्वास्थ्य प्रयोगशाला ‘ए’ ग्रेडका छैनन् । ‘ए’ ग्रेडको प्रयोगशालाका लागि क्षेत्रफल, प्रयोगशालामा जाँच हुने स्याम्पल, जनशक्तिलगायत मापदण्ड पुगेको छैन ।

पोखराकै अग्रणी प्रयोगशाला दाबी गर्ने युनाइटेड रेफरेन्स ल्याब (युआरएल) ले पनि ‘ए’ ग्रेडको अनुमति पाएको छैन । युआरएलले १० वटा शाखा तथा ३ सेवा केन्द्र सञ्चालन गरेको भएपनि आवश्यक मापदण्ड नपुगेपछि ‘ए’ ग्रेडमा दर्ता हुन नसकेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा युआरएलको ‘ए’ वा ‘बी’ ग्रेड सूचीमै नाम उल्लेख छैन ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक रामविनय शाह ‘ए’ र ‘बी’ ग्रेडका ल्याबको अनुमति दिने र अनुगमन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने बताउँछन् । उनकाअनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग ‘ए’ र ‘बी’ ग्रेडका ल्याबको कुनै खालको रेकर्ड नै छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदेश जनस्वास्थ्यसँग समन्वय नगरेको शाह बताउँछन् । ‘ए र बी को हामीलाई पत्राचार पनि गर्दिनुहुन्न कि तपाईंको क्षेत्रमा यस्तो अनुमति दिएका छौं भनेर । काठमाडौंबाट अनुमति दिएपनि कमसेकम हाम्रो थ्रुबाट सिफारिस र अनुगमन भएको भए सजिलो हुने थियो । माग्न त हामी मागिरहेका छौं । ए र बी ग्रेडको ल्याब कति छन् भन्ने आधिकारिक जानकारी नै छैन,’ शाहले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा उल्लेख भएबमोजिम स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका, २०७७ अनुसार ‘ए’ ग्रेडका १३ र ‘बी’ ग्रेडका ४७ प्रयोगशाला दर्ता भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ