विराटनगर-म्याद सकिएको ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोप खेप्दै आएका न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झा राजस्व छली गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्ने डरले भारत फरार भएका झालाई विराटनगर आएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले राजस्व छली गरेको आरोप पक्राउ गरेको हो ।
झा पक्राउ परेको विषय भने राजस्व अनुसन्धान कार्यालयले गोप्य राखेको छ । आइतबार उच्च अदालत विराटनगरमा म्याद थप गरेर अनुसन्धान सुरु भएको छ । राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भएपनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । झा अहिले इलाका प्रहरी कार्यालय इटहरीस्थित प्रहरीको हिरासतमा छन् ।
घटनाको सुरुवात २०८१ साल पुस २८ गतेदेखि भएको हो । विराटनगर ६ स्थित बीएफेएम पूर्व भूमी मार्गमा रहेको झाको तीन तलाको घरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयले संयुक्त छापा मारेको थियो । झाले आफ्नो घरको भुइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर ठूलो परिमाणमा तस्करी भएर आएका खाद्य पूरक सामग्रीहरू भण्डारण गरेका थिए ।
छापाका क्रममा उक्त गोदामबाट १४ भन्दा बढी प्रकारका न्युट्रास्युटीकल र विभिन्न कम्पनीका मल्टी भिटामिनहरू बरामद गरिएको थियो । चकित पार्ने कुरा के थियो भने बरामद भएका सबै खाद्य पूरक सामग्रीहरूको म्याद सकिसकेको थियो । तर, यी म्याद सकिएका उत्पादनहरूमा नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गरिँदै आएको खुलेको थियो ।
पहिलो पटकको अनुसन्धानमा चुक
यति ठूलो घोटाला पत्ता लागे पनि अनुसन्धानको जिम्मा पाएको राजस्व कार्यालयले मुख्य अभियुक्त झालाई छोडेर उनका कार चालकलाई मात्र पक्राउ गरेको थियो । यसको फाइदा उठाउँदै झा बिरामी परेको बहाना गरेर भारत फरार भए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसे ।
घटना सामसुम भएको ठहर गरेपछि झा विराटनगर फर्किए । राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्य पूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई बिहीबार पक्राउ गरिएको हो ।
भरिया प्रयोग गरेर तस्करी
अनुसन्धानबाट यो तथ्य सामने आएको छ कि झाले एक दशकदेखि न्युट्रास्युटीकल आयात गर्ने सप्लायर्सको व्यवसाय चलाउँदै आएका थिए । उनले साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याएर यहाँ आफैले खरिद गरेको भन्दा दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको छ ।
वैध रूपमा आएको देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र धेरै न्युट्रास्युटीकल भरिया प्रयोग गरेर तस्करी गरेर ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार २८ पुसमा झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटीकल बरामद गर्नुको पछाडि एक भरिया पक्राउ गरेपछि पत्ता लागेको बताए ।
झाको अपराधिक गतिविधि यतिमा सिमित थिएन । उनले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । केमिकल प्रयोग गरेर पुराना मितिहरू मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने स्टिकर टाँसेर बजारमा पठाउने गरेको पाइएको छ । ‘झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ । यसले उनको यो अपराधिक गतिविधि व्यवस्थित र योजनाबद्ध रूपमा भएको देखाउँछ,’ एक अनुसन्धान अधिकृतले भने ।
यस घोटालाको सबैभन्दा चिन्ताजनक पक्ष के छ भने यसमा केही चिकित्सकहरूको पनि संलग्नता रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार झाले भारतमा ५० रुपैयाँमा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफैले मूल्य तोकेर पाँच सयसम्म बिक्री गर्दछन् । बिक्री गरेको पनि भ्याट बिल प्रयोग नगरेर प्यान बिल दिने गरेका थिए ।
एक फार्मेसी संचालकका अनुसार चिकित्सकलाई धेरै प्रकारका मल्टी भिटामिन लेख्न लगाउने र एउटै पर्चीमा पाँच हजारसम्मका न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ । चिकित्सकले लेखिदिएपछि बिरामीले खरिद गर्छन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महँगोमा बिक्री गरेको पैसाबाट न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि हिस्सा दिने गरेका छन् ।
यस घोटालाले विरामीलाई दोहोरो नोकसान पुर्याएको छ । एकातिर सरकारी राजस्वमा चोरी भएको छ भने अर्कोतिर बिरामीहरूको स्वास्थ्यमा खतरा निम्त्याएको छ । म्याद सकिएका खाद्यपुरक सामाग्रीले स्वास्थ्यमा असर पुर्याउने चिकित्सकले बताएका छन् । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटीकल सप्लाई गर्दै आएका थिए । एक पत्ता न्युट्रास्युटीकलमा दश गुणासम्म मुनाफा राखेर बिक्री गर्ने गरेको पाइएको छ । यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल बरामद भएको बेला बरामद गर्न आएको टोलीलाई बताएका थिए ।
राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तम कुमार घिमिरेका अनुसार राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र भन्न मिल्छ । झाले कति राजस्व छली गरे त्यो भने अझै खुलिसकेको छैन,’ उनले भने, ‘पछि अनुसन्धान सकिएपछि मात्रै भन्न मिल्छ ।’