विराटनगर-मोरङको कानेपोखरी गाउँपालिका–४ की एक २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगरस्थित कोशी अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।
बिहीबार विष सेवन गरेकी ऋतु ऋषिदेवलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकोमा शुक्रबार बिहान आकस्मिक कक्षमा उनको मृत्यु भएको हो । अस्पतालको लापरवाहीका कारण ऋतुको ज्यान गएको भन्दै मृतकका आफन्त र परिवारजनले अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेपछि अस्पताल क्षेत्रमा तनाव सिर्जना भएको छ ।
बिहीबार विष सेवन गरेपछि गम्भीर अवस्थामा पुगेकी ऋतुलाई परिवारले तत्कालै स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई बिहीबार दिउँसो करिब १ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा उनको उपचार सुरु भएलगत्तै चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्तै जटिल रहेको र तत्कालै सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने सुझाव दिएका थिए ।
मृतकका भिनाजु सञ्जय ऋषिदेवका अनुसार अस्पतालले सुरुमा आईसीयू बेड खाली हुने आश्वासन दिएको थियो । “दिउँसो १ बजे हामीले यहाँ ल्याएका थियौं । डाक्टरले आईसीयूमा राख्नुपर्छ, साँझसम्म बेड खाली हुन्छ, हामी व्यवस्था गर्छौं भन्नुभएको थियो,” उनले भने, “तर, आईसीयूमा सार्ने भनेर रातभर आकस्मिक कक्षमै राखियो । बिहान बिरामीको मृत्यु भएपछि बल्ल ठाउँ थिएन, बचाउन सकिएन भनियो ।”
अस्पताल प्रशासनले समयमै आईसीयू बेड खाली नभएको जानकारी दिएको भए आफूहरूले बिरामीलाई अन्यत्र सुविधासम्पन्न अस्पतालमा लैजाने सम्भावना रहने उनको भनाइ छ । “यदि हामीलाई सुरुमै यहाँ आईसीयू छैन, अरु अस्पताल लैजानुहोस् भनेको भए हामी अर्को विकल्प खोज्थ्यौं, बिरामीको ज्यान त बच्न सक्थ्यो होला,” सञ्जयले आक्रोशित हुँदै भने, “यो सरासर अस्पतालको लापरवाही हो । अन्तिम अवस्थासम्म आशा देखाएर बिरामीलाई मर्न बाध्य बनाइयो ।”
मृतकका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । उनीहरूले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गर्दै आकस्मिक कक्ष बाहिर प्रदर्शन जारी राखेका थिए, जसले गर्दा अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।
यता, कोशी अस्पतालका आकस्मिक कक्षका इन्चार्ज गजेन्द्र यादवले भने बिरामीलाई अस्पताल ल्याउँदै गर्दा अवस्था अत्यन्तै गम्भीर रहेको बताएका छन् । “आकस्मिक कक्षमा आइपुग्दा बिरामीको अवस्था निकै नाजुक थियो । हामीले हाम्रो तर्फबाट उपचारमा कुनै कमी हुन दिएनौं र बचाउनका लागि अथक प्रयास गर्यौं, तर सफल हुन सकेनौं,” उनले भने । अस्पतालले उपचारमा कुनै लापरवाही नभएको दाबी गरेको छ ।
कोशी अस्पतालमा हाल १८ वटा आईसीयू बेड सञ्चालनमा छन् । तर, बिरामीको चापका कारण अधिकांश समय आईसीयू बेड अभाव हुने समस्या पुरानै हो । यस घटनाले अस्पतालको व्यवस्थापन र पूर्वाधारको अवस्थालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । घटनापछि अस्पताल परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो । अहिले पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल भइरहेको छ ।