विराटनगर—सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषण अन्त्यको माग गर्दै उनीहरुले अस्पताल प्रशासन घेराउ गरेका छन् ।
नर्ससहितका स्वास्थ्यकर्मीहरुले सुरुमा नोबेलको इमर्जेन्सी अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनप्रति अस्पताल प्रशासन चासो नदेखाएपछि उनीहरुले अस्पतालको प्रशासन घेराउ गरेर नाराबाजी गरिरहेका छन् । उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने, श्रम शोषण बन्द गर्नुपर्नेलगायतका प्लेकार्ड बोकेका छन् ।
यसअघि सरकारको तोकेको न्यूनतम पारिश्रमिक पानुपर्ने मागसहित कास्कीस्थित गण्डकी मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमा नर्सहरु प्रदर्शनमा उत्रिएका थिए ।
सुदूरपश्चिमको कैलालीस्थित निजी अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरुले पनि श्रम शोषण विरुद्ध प्रदर्शन तथा ज्ञापनपत्र बुझाइसकेका छन् । शनिबार मात्रै मोरङकै विराट मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका थिए ।
श्रम शोषण बन्द गर्नुपर्नेलगायतका माग राखेर नर्सहरु गण्डकीबाट सुरु गरेको आन्दोलन अहिले देशव्यापी बन्दै गएको छ । निजी अस्पतालहरुले नर्स र स्वास्थ्यकर्मीहरुलाई न्यून ज्यालामा काम लगाउँदैं आएका छन् ।


