विराटनगर -कोशी प्रदेश सरकार मातहत रहेका अस्पतालहरूमा प्रदेश आफैंसँग पर्याप्त जनशक्ति हुँदाहुँदै पनि नेतृत्व (मेसु) को जिम्मेवारीमा भने सङ्घीय सरकारका चिकित्सकहरूको हालिमुहाली देखिएको छ ।
प्रदेश भित्रका ९ औं र ८ औं तहका पर्याप्त चिकित्सकहरू कार्यरत रहँदा पनि स्वास्थ्य मन्त्रालयले अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारीमा सङ्घका चिकित्सकलाई प्राथमिकता दिने गरेको पाइएको हो ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका १५ वटा जिल्ला अस्पतालमध्ये ९ वटामा सङ्घका चिकित्सकले मेसुको जिम्मेवारी सम्हालिरहेका छन् भने प्रदेशका चिकित्सकले जम्मा ६ वटा अस्पतालमा मात्र नेतृत्व पाएका छन् ।
कोशी प्रदेशमा हाल १० औं तहका २ जना, ९ औं तहका १० जना र ८ औं तहका १८ जना चिकित्सक कार्यरत छन् । जिल्ला अस्पतालहरूमा सामान्यतया ८ र ९ औं तहका चिकित्सकलाई मेसु बनाउने अभ्यास छ । तर, आफ्नै जनशक्तिलाई पाखा लगाउँदै सङ्घबाट आएका चिकित्सकलाई जिम्मेवारी दिँदा प्रदेशका चिकित्सकहरूको मनोबल गिरेको गुनासो आउन थालेको छ ।
हाल प्रदेशमा ९ औं तहमा कार्यरत चिकित्सकहरू डा. अमरेश कुसुहा, डा. सुभाष अधिकारी, डा. एलिजा गौतम, डा. आस्था सुब्बा, डा. विद्या भुषाल र डा. आकाश कोइरालाले अहिलेसम्म मेसुको जिम्मेवारी पाएका छैनन् । प्रदेशमै १० जना ९ औं तहका चिकित्सक हुँदाहुँदै सङ्घका ९ औं तहका चिकित्सकलाई जिम्मेवारी दिइनुले मन्त्रालयको नियतमाथि प्रश्न उठेको छ ।
कहाँ को छन् मेसु ?
प्रदेशका ५ वटा अस्पताल (मेची, इनरुवा, उदयपुर, इलाम र संखुवासभा) मा ११ औं तहको दरबन्दी भए पनि ९ औं र ८ औं तहका चिकित्सकले नै निमित्त चलाइरहेका छन् । जसमा सङ्घका चिकित्सकको बाहुल्यता छ ।
मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीः डा. रवि साह, इलाम जिल्ला अस्पतालः डा. प्रभु साह, १० औं तहका संघका चिकित्सक हुन् । त्यसैगरी कटारी अस्पताल, उदयपुरः गौरव साह ९ औं तहका हुन् । उदयपुर जिल्ला अस्पतालः डा. वीरेन्द्र मण्डल पनि संघका हुन् । उनी फोरेन्सिक चिकित्सक हुन् ।
ताप्लेजुङ जिल्ला अस्पताल डा. प्रनाम जयरू, पाँचथर जिल्ला अस्पताल डा. बुद्धि बहादुर थापा, तेह्रथुम जिल्ला अस्पताल डा. खड्क लिम्बु, खोटाङ जिल्ला अस्पताल डा. रूपेश संग्रौला, ओखलढुङ्गा जिल्ला अस्पताल डा. रवि यादव संघका चिकित्सक मेसुको जिम्मेवारीमा छन् ।
प्रदेश सरकारले आफ्ना चिकित्सकलाई विश्वास गरेर जम्मा ६ ठाउँमा मात्र जिम्मेवारी दिएको छ । जसमा संखुवासभा जिल्ला अस्पताल डा. सन्तोष देव ९ औं तह, सर्जन, धनकुटा जिल्ला अस्पताल डा. सन्तोष राई ९ औं तह, फिजिसियन, सोलुखुम्बु जिल्ला अस्पताल डा. बिनेश मण्डल, मेची प्रादेशिक अस्पताल डा. संजय गुप्ता १० औं तह, रेडियोलोजिष्ट चिकित्सक हुन् । त्यसैगरी भोजपुर जिल्ला अस्पताल डा. पार्वती श्रेष्ठ ९ औं तह, स्त्रीरोग विशेषज्ञ, सुनसरी जिल्ला अस्पताल डा. अमिताभ ठाकुर रहेका छन् ।
स्वास्थ्य मन्त्रीको जिल्लामा सरुवाको तयारी, प्रमुख सचिव नहुँदा फाइल रोकियो
स्वास्थ्य मन्त्रालयले हालै दुईवटा अस्पतालका मेसु हेरफेर गर्ने निर्णय गरेको छ । सुनसरी जिल्ला अस्पतालका मेसु डा. अमिताभ ठाकुरलाई स्वास्थ्य मन्त्री भुपेन्द्र राईको गृहजिल्ला खोटाङ अस्पतालको मेसु बनाउने निर्णय भएको छ ।
त्यस्तै, ओखलढुङ्गाका मेसु डा. रवि कुमार यादवलाई भोजपुर जिल्ला अस्पताल सरुवा गर्ने निर्णय भएको छ । तर, उक्त सरुवाको फाइल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अड्किएको छ । कार्यालयमा सचिव नभएका कारण फाइल ‘होल्ड’ भएको बुझिएको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरले भने मन्त्रालयले बिस्तारै प्रदेशभित्रका चिकित्सकलाई जिम्मेवारी दिन थालेको दाबी गरे । ‘कतिपय अवस्थामा चिकित्सकहरूले नै नेतृत्व लिन नमान्ने अवस्था पनि छ,’ सचिव घिमिरले भने, ‘अहिलेको सरकारले सकेसम्म प्रदेशभित्रकै चिकित्सकलाई जिम्मेवारी दिने नीति लिएको छ, जसको नतिजा केही जिल्ला अस्पतालहरूमा देखिन थालेको छ ।’
यता नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले प्रदेशका चिकित्सकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । ‘प्रदेशमा चिकित्सक नभएको खण्डमा मात्र सङ्घको विकल्प खोज्नुपर्ने हो,’ डा. साहले भने, ‘संघीयता आएको ८ वर्ष पुग्न लाग्दा पनि प्रदेश सरकारले लोकसेवा खुलाएर दरबन्दी अनुसारको पदपूर्ति गर्न सकेको छैन । सरकारले तत्काल लोकसेवा खुलाएर रिक्त पदपूर्ति गर्नतर्फ ध्यान दिनुपर्छ ।’