विराटनगर – विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेका छन् । शुक्रबार अस्पताल र चिकित्सकको ‘अक्षम्य लापरबाही’ का कारण बालकको भविष्य अन्धकार भएको दाबीसहित जिल्ला अदालत मोरङमा फिराद पत्र दर्ता गरिएको हो ।
पीडित परिवारले नोबेल मेडिकल कलेज, त्यसका सञ्चालक एवं निर्वतमान प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा, नाक, कान तथा घाँटी रोग विशेषज्ञद्वय डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलालाई प्रतिवादी बनाएका छन् । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १७ को दफा ६७२ (१) र (२) बमोजिम उचित क्षतिपूर्ति भराउन माग गरिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतले मुद्दा दर्ता गरेसँगै फागुन ४ गतेका लागि पहिलो तारिख तोकेको छ ।
पीडितका तर्फबाट मामा श्रीकृष्ण प्रसाईंले दर्ता गरेको फिराद पत्रमा बालकको जीवनभरको उपचार खर्च, मानसिक क्षति र भविष्यमा रोजगारीको अवसर गुमेको क्षतिको मूल्यांकन गर्दै १० करोड रुपैयाँ भराउन माग गरिएको छ । ‘यो केवल एउटा बालकको आँखाको कुरा मात्र होइन, अस्पतालको व्यापारिक मानसिकता र चिकित्सकको गैरजिम्मेवारीले एउटा परिवारकै खुसी खोसिएको छ,’ अदालतमा मुद्दा दर्ता गरेपछि प्रसाईंले भने, ‘हामीले न्याय र बालकको सुरक्षित भविष्यका लागि यो कानुनी लडाइँ सुरु गरेका हौं । यसमा सबैको साथ सहयोगको अपेक्षा छ ।’
जिल्ला प्रशासन कार्यालय मोरङले यसअघि नै छानबिन प्रतिवेदन र जाहेरीसहितको कागजात आवश्यक कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलमा पठाइसकेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार चिकित्सकसँग सम्बन्धित प्राविधिक विषय भएकाले मेडिकल काउन्सिलले नै यसको कारबाही प्रक्रिया अघि बढाउनेछ ।
के थियो घटना ?
इटहरी–१ हाँसपोसाका ७ वर्षीय जेनिस पाठकलाई नाकमा मासु पलाएपछि ९नेजल पोलिप० उपचारका लागि गत मंसिर ४ गते नोबेल पुर्याइएको थियो । ५ मंसिरमा डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलाको टोलीले उनको शल्यक्रिया गरेको थियो । तर, शल्यक्रिया लगत्तै बालकले दाहिने आँखा देख्न छाडेको बताएपछि परिवारले उनलाई विराटनगर आँखा अस्पताल (रानी) पुर्याएका थिए ।
त्यहाँ गरिएको परीक्षणले चिकित्सकहरूलाई नै स्तब्ध बनायो । रिपोर्टअनुसार नाकको शल्यक्रिया गर्ने क्रममा आँखा र मस्तिष्क जोड्ने मुख्य नसा (अप्टिक नर्भ) र रक्तनली नै काटिएको थियो । आँखा अस्पतालले ‘भविष्यमा ज्योति फर्कने सम्भावना नरहेको’ रिपोर्ट दिएपछि अस्पतालको चरम लापरबाही सतहमा आएको हो ।
घटनाको चौतर्फी विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालकी ईएनटी विभाग प्रमुख डा. अनिता जीसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनले शल्यक्रियाको नेतृत्व गरिरहेका वरिष्ठ चिकित्सक डा. प्रज्वल श्रेष्ठको गम्भीर लापरबाही औंल्याएको छ ।
प्रतिवेदनअनुसार, शल्यक्रिया चलिरहेकै बेला डा. श्रेष्ठ ‘अर्को बिरामी हेर्नुछ’ भन्दै अपरेसन थिएटरबाट बाहिरिएका थिए । सिनियर डाक्टर निस्किएपछि अनुभवहीन सहायक चिकित्सकको भरमा शल्यक्रिया अघि बढाउँदा बालकको संवेदनशील नसा काटिएको समितिले ठहर गरेको छ । समितिले यसलाई ‘अक्षम्य लापरबाही’ भन्दै संलग्नहरूको लाइसेन्स खारेजीसम्मको कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको थियो ।
Screenshot
Screenshot
Screenshot