२०८२ माघ २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलप्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट

प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट


सयौं चिकित्सा जनशक्ति उत्पादनमा टेवा । वीरेन्द्र सैनिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशाला स्थापना र तीन वर्ष नेतृत्व । हजारौं बिरामीहरुको रोग निदान तथा उपचार । २२ वर्ष लामो प्राविधिक सैनिक सेवा र १५ वर्ष लामो प्राध्यापन अनुभव । प्रा.डा. रैना चौधरीको जीवनका प्रमुख हाइलाइट्स हुन् ।

२२ वर्ष लामो सरकारी सेवापछि गत साउनमा लेफ्टीनेन्ट कर्णेलबाट रिटायर्ड भएकी ४९ वर्षीया प्राध्यापक डा. रैना टायर्ड भएकी छैनन् । त्यही कारण त रिटायर्ड भएको ६ महिना नबित्दैं उनी पुनः प्राध्यापन कर्ममा फर्किएकी छन्, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा पुसबाट माइक्रोबायोलोजी विभागको प्रमुखका रुपमा । त्यसबाहेक उनी सम्यक डाइग्नोष्टिकमा पनि माइक्रोबायोलोजिष्टका रुपमा क्लिनिकल काममा पनि सक्रिय छन् । बयोधा अस्पतालमा पनि पार्टटाइम काम गर्छिन् ।

‘अहिले पढ्ने, पढाउने काममै समय बितिरहेको छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको भलाकुसारीमा प्रा.डा. रैनाले भनिन्, ‘पढ्ने, पढाउनेबाहेक कोर्डिनेसनका कामहरु पनि गर्नुपर्छ । कार्यक्रम राम्रोसँग चलिरहेको छ/छैन हेर्नुपर्छ ।’ अहिले उनी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा प्राध्यापकमा रुपमा पिजी, एमबीबीए, बीएमएलटी, विपीएच र नर्सिङका विद्यार्थीहरुलाई पढाउँछिन् । त्यसबाहेक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको कलेज भएकाले परीक्षा सञ्चालनका लागि अन्य कलेजहरुमा पनि खटिनुपर्छ ।

झण्डै २५ वर्ष लामो डाक्टरी जीवनलाई फर्केर हेर्दा प्रा. डा. रैना कसरी नियाल्छिन् ? ‘सेवा नै दिने उद्देश्य लिएर डाक्टर भएकी हुँ । अहिले पनि सेवा दिइरहेको छु, त्यसमा सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘तर, कहिलेकाहीँ एकान्तमा एक्लै हुँदा के स्ट्रेशफूल पेशा अपनाएछु, पर्सनल लाइफ नै छैन भन्ने फिल हुन्छ ।’ सन्तुष्टि भएर पनि परिवारलाई समय दिन नसक्दा भने यदाकदा थकथकी लाग्ने अनुभव उनको छ ।

कहिलेकाही प्रा.डा. रैनामा आउने यस्ता निराशालाई उपचारपछि बिरामीको अनुहारमा झल्किने खुसीले मेटाइदिन्छ । ‘सकेसम्म बिरामीको समस्या चाँडो समाधान गरेर पठाउनुपर्छ भन्ने भइरहन्छ,’ उनी अनुभव बाँड्छिन्, ‘बिरामीका पीडा र दुःख देखेपछि सेवा गर्नुपर्छ भन्ने भावना जाग्छ ।’ डाइग्नोसिस समयमै भएर चाँडो निको भएर जाँदा उनी सबैभन्दा खुसी हुन्छिन् । माइक्रोबायोलोजिष्टका रुपमा पर्दा पछाडिको डाक्टर भएपनि बिरामीलाई प्राथमिकतामा राखेर हमेशा क्लिनिसियनलाई ताकेता गरिरहनु उनको विशेषता हो ।

आर्किटेक्ट बन्ने सपना बुनेपनि चिकित्सक बनेकी प्रा.डा रैनाको जन्म वि.सं. २०३३ सालमा उदयपुरको जोगीदहमा भएको हो । बुवा विनानन्द चौधरी र आमा पुनमदेवी चौधरीका दुई सन्तानमध्ये उनी कान्छी हुन् । उनका बुवा सडक विभागमा इन्जिनियर थिए । जागिरका क्रममा उनको बुवाको पोष्टिङ विभिन्न ठाउँमा भएपनि उनको बाल्यकालदेखि कलेज जीवनसम्मको समय झम्सिखेलमै बितेको हो ।

प्रा.डा. रैनाको बाल्यकाल आमा र दाइसँगै झम्सिखेलमा बितेको हो । त्यो बेलाको झम्सिखेल अहिलेको झमेलजस्तो थिएन्, जताततै खेतहरु थिए, लटरम्म धान झुल्थ्यो । ‘०३५—०३६ सालतिरको झम्सिखेल गाउँजस्तै थियो, धान रोपिएका खेतहरु हुन्थे,’ उनी बाल्यकाल स्मरण गर्छिन्, ‘झम्सिखेलका धुलाम्य बाटा तथा धानका खेतहरुले वातावरण खुला थियो ।’

उनको प्रारम्भिक शिक्षादीक्षा सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रमबाट अगाडि बढेको हो । स्कुल जीवनमा प्रा.डा. रैनाको पनि खेलकूदमा पनि विशेष लगाव थियो, उनी भलिबल खेल्थिन् । भलिबल खेल्ने क्रममा उनको औलासमेत भाचिएको थियो । उनी एक उत्सुक स्वभावकी थिइन् । त्यो समयमा केटी मान्छेले ‘यो गर्न हुँदैन्, त्यो गर्न हुँदैन’ भनिन्थ्यो । तर, उनलाई जे नगर भन्यो त्यही गर्न मन लाग्थ्यो । ‘उपद्रव बढी गर्थे,’ हाँस्दैं उनले भनिन्, ‘जे गर्न हुँदैन भन्थे, त्यही गर्न मन पराउँथे ।’

सरकारी जागिरका क्रममा बुवा यताउता भइरहने भएकाले आमाले उनलाई पढाइमा बढी बल गर्न आग्रह गर्थिन् । स्कुल जीवनमा प्रा.डा. रैना विज्ञान र गणित विषय मन पराउँथिन् । वि.सं. २०४९ सालमा उनले महेन्द्र आदर्श विद्याश्रमबाटै फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । प्लस टु भने उनले त्रिपुरेश्वरस्थित विश्व निकेतनबारे पूरा गरेकी हुन् । ‘त्यो बेला लिमिटेड अप्सनहरु थिए, कन्जस्टेड टाइपले पढेजस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘म पढ्ने भएकाले बुवाआमालाई डाक्टर नै पढाउ भन्ने खालको इच्छा थियो ।’

प्रा. डा. रैना भने बुवा इन्जिनियर भएकाले आफू पनि आर्किटेक्ट बन्न चाहन्थिन् । अन्ततः उनका बुवाआमाकै इच्छाले जित्यो । उनी डाक्टर बन्ने योजनाका साथ बंगलादेश गइन् । सन् १९९५ मा चित्तगोङको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (युएसटीसी) एमबीबीएस अध्ययन सुरु भयो । ‘एमबीबीएसको पढाइ निकै कडा थियो,’ उनी स्मरण गर्छिन्, ‘पाँच वर्षको एमबीबीएस जर्नी स्ट्रेशफूल नै रह्यो ।’ अहिले पनि उनलाई रातभर जाग्राम पढेको, विहान लेक्चर एटेन्ड गर्न गाह्रो भएको कुरा झलझली याद आइरहन्छन् ।

एमबीबीएसको कठोर पढाइ सकेपछि उनी नेपाल फर्किइन् । ‘झुक्केर डाक्टर बन्यो भन्नुपर्ला,’ उनले सुनाइन् । नेपाल फर्केपछि उनले एक वर्ष टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गरिन् । लगतै, नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा करार सेवाका लागि आवेदन खुलेको थियो । डा. रैनाले आवेदन दिइन् र त्यसमा छनोट पनि भइन् । वि.सं. २०६० सालमा उनले लेफ्टीनेन्टका रुपमा नेपाली सेना (वीरेन्द्र सैनिक अस्पताल)मा स्थायी जागिरे सुरु गरिन् ।

स्थायी भएको पाँच वर्षपछि वि.सं. २०६५ सालमा उनले विशेषज्ञता अध्ययनका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्स पास भएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा माइक्रोबायोलोजीमा एमडी गर्ने अवसर पाइन् । ‘पढाइमा पनि नेपाली सेनाले नै फ्यासिलिटेड गर्छ,’ प्रा.डा. रैना भन्छिन्, ‘मैले आईओएमबाट माइक्रोबायोलोजीमा एमडी गरे, नेपाली सेनाको छात्रवृत्तिमा ।’ माइक्रोबायोलोजी नै किन त ? भन्छिन्, ‘श्रीमान पनि चिकित्सक भएकाले मैले परिवार ब्यालेन्स गर्न प्यारा क्लिनिकल विषय रोजे ।’ त्यतिबेला नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान खोल्ने तयारीमा भइरहेकाले बेसिक साइन्स फ्याकल्टीका लागि पनि जनशक्ति आवश्यक थियो । त्यही कारण सन् २०११ मा प्रा.डा. रैनाले माइक्रोबायोलोजीमा एमडी सकिन् ।

एमडी सकेपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनी फर्किइन् । त्यसपछि उनले वीरेन्द्र सैनिक अस्पतालको प्रारम्भिक चरणको माइक्रोबायोलोजी प्रयोगशालालाई स्तरोन्नती गर्दै गइन् । ‘धेरै जिम्मेवारीहरु आए, नयाँ—नयाँ कुराहरु राख्नुपर्ने आवश्यकता प¥यो । त्यो कामहरु गर्दै गएँ,’ उनी भन्छिन्, ‘त्यसबाहेक सुरुवाती चरणदेखि नै नेपाली सेनाको मेडिकल कलेजमा फ्याकल्टीका रुपमा पनि सक्रिय रहे ।’

वीरेन्द्र सैनिक अस्पतालमा रहँदा अनुभव कस्तो रह्यो ? भन्छिन्, ‘मेडिकल अधिकृत रहँदा देशमा द्वन्द्वको समय थियो, डरैडरको समय थियो । ट्रमाका केसहरु म्यानेजमेन्ट कसरी गर्ने भन्ने मैले त्यही बेला सिके । रातारात कहाँ जानुपर्ने कहाँ डिजाष्टर भएको छ भन्ने हुन्थ्यो । घटना र दुर्घटनाका लागि तयारी अवस्थामा रहनुपथ्र्यो ।’ त्यसबाहेक सुरुवाती दिनदेखि नै उनले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्यापन गरिन्, जसले उनलाई एकेडेमिकल्ली पनि साउण्ड बनायो ।

क्लिनिकल माइक्रोबायोलोजी खर्चिलो भएकाले गर्नैपर्ने धेरै कुरा गर्न नसकिएको उनी बताउँछिन् । ‘अहिले पनि माइक्रोबायोलोजीसँग सम्बन्धित धेरै परीक्षण विदेश पठाउनुपर्छ,’ उनी भन्छिन्, ‘ती परीक्षण स्वदेशमै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर यो धेरै खर्चिलो छ ।’ हरेक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा आईसीयु भएका अस्पतालहरुमा क्लिनिकल माइक्रोबायोलोजिष्टको दरबन्दीसहित सेवा प्रवाह भएमा अझ राम्रो हुने उनको विश्वास छ । उनलाई नयाँ टेक्नोलोजीका साथ नेपालमै माइक्रोबायोलोजी सम्बन्धी सबै सेवा दिन सकियोस् भन्ने लागिरहन्छ । क्लिनिक माइक्रोबायोलोजिष्टको पहिचान पनि स्वदेशमा अझै सशक्त बनिनसकेकाले काम गर्नुपर्ने उनले देखेकी छन् ।

लेफ्टीनेन्टका रुपमा वीरेन्द्र सैनिक अस्पतालमा जागिरे सुरु गरेकी डा. रैना गत साउनमा रिटायर्ड हुँदा लेफ्टीनेन्ट कर्णेल थिइन् । झण्डै २२ वर्ष अनवरत रुपमा नेपाली सेनामा चिकित्सकका रुपमा सेवारत रहँदा उनी ८ वर्ष लेफ्टीनेन्ट कर्णेलसँगै प्राध्यापनमा रहिन् । १५ वर्ष लामो शिक्षण अनुभव संगालेकी डा. रैना आजपर्यन्त पनि त्यही कर्ममा जुटिरहेकी छन् ।

फुर्सदमा स्केच बनाउने, ठूलो श्वरमा संगीत सुन्ने उनको स्वभाव छ । सामाजिक सन्देश बोकेका सिनेमा हेर्न रुचाउने उनले धेरै पटक हेरेको सिनेमा ‘थ्री इडियट्स’ हो । अहिले उनको रुचि बेब सिरिज ‘तस्करी’ले तानिरहेको छ । त्यसबाहेक उनलाई ट्राभल गर्न एकदमै मन पर्छ । ‘पहिले देश त्यसपछि विदेश घुम्ने मेरो चाहना छ,’ उनले सुनाइन् । पकौडा उनलाई सबैभन्दा मनपर्ने परिकार हो । सामान्य र कन्फर्टेबल पहिरन मन उनलाई मन पर्छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #क्लिनिकल माइक्रोबायोलोजिष्ट, #नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, #प्रा.डा. रैना चौधरी, #वीरेन्द्र सैनिक अस्पताल, #सम्यक डाइग्नोष्टिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ