२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद

‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद

जो ३० वर्षदेखि सरकारी तथा निजी गरी एक दर्जन स्वास्थ्य संस्थामार्फत बिरामी सेवामा तल्लीन छन् ।


डा. उमीदकुमार श्रेष्ठले झण्डै ३० वर्षभन्दा बढी समय नेपालीको स्वास्थ्य सेवामा बिताइसकेका छन् । सन् १९९२ मा बंगलादेशको राजशाही युनिभर्सिटीको राजशाही मेडिकल कलेजबाट एमबीबीएस सकेर स्वदेश फर्केयता अध्ययनका लागि विदेश गएबाहेक अधिकांश समय नेपालमै छन् । डा. उमीद यो अवधिमा सरकारी र प्राइभेट गरी एक दर्जन स्वास्थ्य संस्थाहरुमा रहेर बिरामी उपचारमा सक्रिय भएका छन् । वरिष्ठ ग्यास्ट्रो इन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट उनी अहिले नेपाल मेडिसिटी अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी एण्ड इन्डोस्कोपी विभागका प्रिन्सिपल कन्सल्ट्यान्ट एण्ड प्रमुख हुन् । त्यसबाहेक ललितपुरको जावलाखेलस्थित क्लिनिक वानबाट पनि उनले बिरामीलाई सेवा दिदैं आएका छन् ।

बिरामीको उपचारबाहेक डा. उमीदका अर्को धेरैलाई थाहा नभएको विशेषता पनि छ । उनी ‘म्याराथन धावक’ पनि हुन् । उनले नेपाल, भारत र अमेरिकाका विभिन्न म्याराथनहरुमा भाग लिएका छन् । ४२.१९५ किलोमिटरको पूर्ण म्याथन पाँच पटक पूरा गरेका उनले २१.०९७५ किलोमिटरको हाफ म्याराथन २० पटक दौडेका छन् । २१ ज्नवरी २०२३ मा नेपाल भेटनरी एशोसिएसनले आयोजना गरेको हाफ म्याराथन १ घण्टा ४९ मिनेट ५४ सकेण्ठमा पूरा गर्नु उनको वेष्ट पर्फमेन्स हो । ५६ वर्षको उमेरमा पनि डा. उमीद दौडमा उतिकै जमिरहेका छन् । सन् २०२३ मा तुफमान इण्डियाले आयोजना गरेको ५१ द्येखि ६० वर्ष उमेर समूहको १० किलोमिटर रनिङका विजेता हुन् भने आईएसजीकोन भारतले आयोजना गरेको ग्यास्ट्रो रन ७.२ किलोमिटरका उपविजेता हुन् ।

हजारौं बिरामीलाई सेवा दिएका डा. उमीदको जन्म ललितपुरको टपाहिटी वि.सं. २०२३ सालमा भएको हो । पुरुषोत्तमलाल श्रेष्ठ र अमरावती श्रेष्ठका तीन सन्तानमध्ये उनी माइला हुन् । उनका एक दाइ र एक बहिनी छन् । उनका बुवाआमा दुवै सरकारी जागिरे थिए । बुवा पुरुषोत्तमलाल महालेखा परीक्षकको कार्यालयका निर्देशक थिए भने आमा अमरावती सरकारी शिक्षिका थिइन् ।

बुवाआमा दुवै पढेलेखेका भएकाले डा. उमीद र उनका भाइबहिनीहरुको शिक्षादीक्षामा विशेष ख्याल राखिएको थियो । उनको प्रारम्भिक शिक्षा आदर्श विद्या मन्दिरमा ललितपुरबाटै अगाडि बढेको हो । टोलका बालसखाहरुसँग खेलेर नै उनको बाल्यकाल बितेको थियो । त्यो बेला विद्यालयमा पढ्दा अहिलेजस्तो तडकभडक थिएन । त्यही कारण उनको बसोवास र रहनसहन पनि त्यस्तै रह्यो ।

मानभवनस्थित विद्यालयसम्म उनी हिडेरै पुग्थे । विद्यालय जीवनमा उनलाई गणित सबैभन्दा मनपर्ने विषय थियो । पढाइमा असर पर्ला भन्ने सोच भएका उनी खेलमा आफू नै संलग्न भएर नखेलेपनि उनको मन पर्ने विषय भने थियो । त्यसबाहेक उनलाई संगीत पनि निकै मन पथ्र्यो । ‘मैले गितारको कक्षा पनि लिएको छु,’ यी हँसमुख चिकित्सकले हालैको एक साँझ हेल्थआवाजसँग भने, ‘नारायण गोपाल, राम थापा, कुमार बस्नेतका गीतहरु सुन्न रुचाउँथे ।’

आदर्श विद्या मन्दिरबाट वि.सं २०३७ मा उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि थप उच्च शिक्षाका लागि उनी अमृत साइन्स कलेज (अस्कल) गए । अस्कलबाट वि.सं २०४१ मा उनले आइएस्सी पूरा सके । ‘आईएस्सी राम्रो अंकमा उत्तीर्ण गरें,’ उनले भने । सानैदेखि चिकित्सक बन्ने सपना बोकेका उनी त्यसपछि एमबीबीएस छात्रवृत्तिको खोजीमा लागे ।

त्यसबेला शिक्षा मन्त्रालयबाट विभिन्न देशहरुमा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाइन्थ्यो । डा. उमीदले पनि शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिए । शिक्षा मन्त्रालयले लिएको परीक्षामा उत्तीर्ण भएपछि उनलाई बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त भयो । त्यसपछि उनी आफ्नो डाक्टरी सपना पूरा गर्न बंगलादेश गए । बंगलादेशस्थित राजशाही युनिभर्सिटी, राजशाही मेडिकल कलेजमा एमबीबीएस पढ्न थाले । सन् १९९२ मा उनले एमबीबीएस अध्ययन सके । त्यही वर्ष उनी स्वदेश फर्किएँ । नेपाल फर्केपछि डा. श्रेष्ठले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा काम गरें । त्यसपछि उनले मेडिकल अधिकृतका रुपमा धनगढीको सेती अञ्चल अस्पताल र कोशी अञ्चल अस्पतालमा काम गरे । यही क्रममा उनी आफ्नो ज्ञानको दायरालाई थप बढाउनतिर लागे ।

सन् २००० मा उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उनले इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्ने अवसर पाए । सन् २००३ मा डा. उमीदले इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरें । विशेषज्ञता हासिल गरेपछि उनी बिरामी सेवामा लागि पुनः सेती अञ्चल अस्पताल धनगढी नै गएँ । ‘त्यहाँ २ वर्ष जति बसेँ । तर, त्यहाँ पहिले यहाँ जस्तो सेवासुविधा थिएन्,’ उनी भन्छिन्, ‘म गएर सिस्टम बसाले । मुटु रोगजस्ता रोगहरुको उपचार त्यहाँ थिएन, त्यसको उपलब्धतामा सहजता ल्याउन भूमिका खेले ।’

धनगढीबाट डा. उमीद काठमाडौं फर्किए । शहीद गंगालाल हृदय रोग केन्द्रमा २ वर्ष काम गरे । त्यसपछि सन् २००५ मा पिएचडी अध्ययनका लागि चीनको वुहान युनिभर्सिटी स्कुल अफ मेडिसिनमा गएँ । त्यहाँबाट उनले सन् २००९ मा पेट तथा कलेजो रोगमा पीएचडी गरे । ‘मैले पेट तथा कलेजो सम्बन्धि विषयमा पिएचडी गरेँ,’ चीन अनुभव सुनाए, ‘चीनमा पुग्दा पनि मैले धेरै कुरा सिक्न पाएँ । मेरो रिसर्चको लागि पनि चिनियाँहरुले धेरै बजेट छुट्याएका थिए ।’ वुहान युनिभर्सिटी स्कुल अफ मेडिसिनको सन् २००९ को पीएचडी ब्याचमा डा. उमीद फष्ट विद्यार्थी हुन् ।

सन् २००९ मा पिएचडी सकिएपछि उनी नेपाल फर्किए । नेपालमा केही समय बिरामीको सेवा गरेपछि डा. उमीदले अमेरिकाको प्रतिष्ठित हावार्ड मेडिकल शिक्षण अस्पतालमा स्कलर हुने अवसर पाए । त्यसैबेला उनलाई अमेरिकन कलेज अफ ग्यास्ट्रोइन्टेरोलोजीमा फेलोसीप प्राप्त भयो । ‘त्यो नै पीएचडीपछिको अर्को टर्निङ प्वाइन्ट हो,’ उनले भने, ‘त्यसले मेरो सीपलाई नयाँ हाइट प्रदान गर्‍यो ।’ यो बीचमा उनले पोखरास्थित मणिपालमा मेडिकल कलेजमा ८ वर्ष एशोसियट प्रोफेसर र प्रोफेसरका रुपमा अध्यापन गराए । उनले अमेरिकाबाटै क्यान्सर प्रिभेन्सन र एडभान्स इन्डोस्कोपी सम्बन्धी फेलोसीप पनि गरेका छन् ।

सन् २०१७ मा काठमाडौँ फर्किएर उनी त्यसयता नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् । डा. उमीद नेपाल मेडिसिटी अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी एण्ड इन्डोस्कोपी विभागका प्रिन्सिपल कन्सल्ट्यान्ट एण्ड प्रमुख हुन् । ६ वटा मेडिकल जर्नलका सम्पादक रहिसकेका उनी केही जर्नलका रिभ्युअर तथा नेपाल मेडिसिटीको इन्स्टिच्युसन रिभ्यु कमिटीका अध्यक्ष पनि हुन् । डा. उमीद विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा समेत आवद्ध छन् ।

यी कहलिएका पेट रोग विशेषज्ञ ३० वर्ष लामो डाक्टरी जीवनलाई कसरी सम्झिन्छन् ? भन्छन्, ‘धेरै कुरा सिके । पढाइ र बिरामीसँग अन्तरक्रियाबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । विशेषतः विभिन्न समाज र परम्परा मान्ने बिरामीहरुसँग भिज्ने र जीवनको यथार्थ गहिराई जान्ने मौका पाएँ ।’ बिरामीसँगको अन्तरक्रियाका क्रममा डा. उमीद आफूले उनीहरुमा जगाएको जीवनप्रतिको आशाका कारण आएको परिवर्तन देख्दा अद्भूत आनन्दित हुन्छन् । ‘त्यो खुशी बेग्लै किसिमको हुने रहेछ,’ अनुभवी चिकित्सकले आफ्नो अनुभव साटे ।

सन् १९९५ मा उनले अञ्जना जोशीसँग विवाह गरे । अन्जना पनि लेक्चरर हुन् । डा. उमीद र अन्जनाका एक छोरा छन् । उनी पनि चिकित्सक नै हुन् ।

फुर्सदको समयमा खेल हेरेर बिताउने डा. उमीदलाई नेपाली खेलकूदको इन्साइक्लोपेडिया भन्दा पनि हुन्छ । उनलाई नेपाली खेलकूदका सबै विषयहरुमा जानकारी छ । ‘खेलकूदमा मलाई राम्रै रुची छ,’ उनी सुनाउँछन्, ‘मलाई नेपालको खेकुदका सबै खेलाडीको प्रायः कुरा जानकारी छ ।’ अहिले पनि उनी फुर्सदको समयमा खेलकूदबारेमा अपडेट लिइरहेका हुन्छन् ।

डा. उमीदको खानपिन पनि सामान्य छ । उनलाई खानपिनमा फलफुल र तरकारी बढी मनपर्छ । पहिरनमा पनि उनी चुजी छैनन् । भन्छन्, ‘तडकभडक गर्न खासै मन पर्दैन् ।’ संगीत पारखी उनले गितार पनि सिकेका छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #क्लिनिक वान, #डा. उमीदकुमार श्रेष्ठ, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #नेपाल मेडिसिटी अस्पताल, #वरिष्ठ ग्यास्ट्रो इन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट, #वुहान युनिभर्सिटी स्कुल अफ मेडिसिन, #शहीद गंगालाल हृदय रोग केन्द्र, #हावार्ड मेडिकल शिक्षण अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ